भेटमा नेपाल उद्योग वाणिज्य महासघंको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएको थियो ।
What you should know
काठमाडौँ —
नेपाल उद्योग वाणिज्य महासघंको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटघाट गरेको छ । भेटमा टोलीले नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएको थियो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेसँग समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ । छलफलका क्रममा महासंघको टोलीले नीतिगत सुधारका लागि महासंघकै आग्रह बमोजिम दोस्रो चरणको आर्थिक सुधारका लागि गठित उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले पेस गरेका सुझावहरुलाई पनि सरकारले ग्रहण गरि कार्यान्वयन गर्ने निर्णय गर्नु सही काम भएको बताएको छ । अध्ययक्ष ढकालले अर्थतन्त्रलाई अर्थतन्त्र गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले वर्तमान सरकाबाट निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा सुधार र निजी क्षेत्रको मनोबल उच्च बनाउने खालका नीतिगत निर्णयको अपेक्षा गरेको बताए । उनले अब आउने सरकारको नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री हुनु पर्नेमा जोड दिंदै देशको आर्थिक विकास र समृद्धिका लागि आन्तरिक तथा बाह्य पुँजी परिचालन आवश्यक भएको धारणा राखेका थिए ।
ढकालले आन्तरिक पुँजी परिचालन गरेर देशभित्रै पनि केही गर्न सकिन्छ भनेर महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम गरिरहेको जानकारी दिए ।
साथै उनले मुलुक अझै संक्रमणमै रहेको र छिमेकी मुलुक बंगलादेशले समेत स्तरोन्नतिको समय सार्न पहल गरेको अवस्थामा नेपालको स्तरोन्नतिको समय सार्न सरकारले पहल गर्नु पर्ने सुझाव दिएका थिए ।
भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रका सुझावहरूलाई आफुले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार, नीतिगत स्पष्टता र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले उच्चस्तरिय आयोगको सिफारिसकै आधारमा आफूले पदभार ग्रहण गर्नासाथ विभिन्न १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको र १०० दिने कार्यक्रमममा पनि सुशासन र नागरिक सेवालाई सहज र सरल बनाउने गरि कार्यक्रम ल्याएको जानकारी दिए ।
नेपाल अति कम विकसित मुलुकबाट विकासशील मा स्तरोन्नतिको समयसीमा सार्न पहल गर्नु पर्ने आफू सकारात्मक रहेको तर त्यो समयसम्म स्तरोन्नतिको लागि आन्तरिक तयारी भने गर्नुपर्ने अर्थमन्त्री वाग्लेले बताए ।
निवर्तमान अध्यक्ष शेखर गोल्छाले बहुमत प्राप्त सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वको अपेक्षा गरिएको धारण राख्दै राजस्व न्यायाधिकरण जस्ता संस्थाहरुको पुनर्संरचना आवश्यक रहेको बताए । उनले मध्यपूर्वको संकटले नेपाललाई पार्न सक्ने प्रभावबारे सरकारले आवश्यक सचेतना अपनाउनु पर्ने धारणा राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति तर्जुमा गर्दा देशको अर्थतन्त्रलाई प्राथमिकतामा राखेर गर्नुपर्नेमा जोड दिए ।
