नागढुंगा सुरुङ सञ्चालनको जिम्मा चिनियाँ कम्पनीलाई, वैसाख अन्तिमबाट परीक्षण सञ्चालनको तयारी

सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपतकालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र पहुँच सडकको रेखदेख गर्नुपर्नेछ ।

चैत्र १६, २०८२

विमल खतिवडा

Chinese company to be responsible for operating Nagdhunga Tunnel, preparations for test operation from end of Baisakh

What you should know

काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । सेवाप्रदायक छान्न खरिद आह्वान गरेबाटै जापान सरकारले चिनियाँ कम्पनीले पाउन नहुने अडान लिँदै आए पनि अन्ततः चिनियाँ कम्पनीले नै सञ्चालनको जिम्मा पाएको हो । जसमा नेपाली कम्पनी ज्वाइन्ट भेन्चरमा छ ।

सेवाप्रदायकको छनौटकालागि खरिद प्रक्रियामा सहभागी १० मध्ये ७ कम्पनी प्राविधिक मूल्यांकनका पास भएका थिए । त्यसपछि आर्थिक मूल्यांकनको प्रतिस्पर्धामा रहेका ७ कम्पनीबाट युसिन–एआरटी जेभी छानिएका हुन् । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । आर्थिक मूल्यांकनको प्रतिस्पर्धामा ६ चिनियाँ र एउटा भारतीय कम्पनी रहेको र सबैसँग नेपाली कम्पनी ज्वाइन्ट भेन्चर (जेभी)मा थिए । प्रतिस्पर्धामा रहेका कम्पनीहरुबाट एउटा सेवाप्रदायक कम्पनीको नाम टुंगो लागेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।

‘आर्थिक मूल्यांकनमा पास भएको कम्पनीको नाम सूचना जारी गरेर सार्वजनिक गरिएको छ, त्यसकालागि सोमबार आशयको सूचना निकालिएको हो,’ उनले भने, ‘यो भनेको आर्थिक मूल्यांकनमा पास भएको सेवाप्रदायक कम्पनीको नामसहित छनौट हुने चरणमा रहेको जानकारी हो ।’

अहिले सात दिनको समय दिएर सूचना निकालिएको हो । सूचना प्रकाशन गरेको ८ दिनपछि १५ दिनको समय तोकेर सार्वजनिक सूचना जारी गर्दै सम्झौता गर्न बोलाइने उनको भनाई छ । छनौट भएको कम्पनीले १ अर्ब १० करोड रुपैयाँ सञ्चालनकालागि आर्थिक प्रस्ताव पेश गरेको हो । खरिद नियम अनुसार कम आर्थिक प्रस्ताव पेश गर्ने कम्पनीले ठेक्का पाउँछ ।  

‘१५ दिनअघि नै छनौट भएको कम्पनी आए सम्झौता गर्न सकिन्छ, सम्झौता भएपछि सुरुङ सञ्चालनको तयारीका लागि फिल्डमा परिचालन हुने छ,’ उनले भने, ‘पहिलो काम त्यहाँ काम गर्ने कर्मचारीहरु तयार गर्नु पर्छ, त्यसपछि निर्माण गर्ने कम्पनीले आयोजना हस्तान्तरण गर्ने छ ।’

अन्तर्राष्ट्रिय बोलपत्र भएकाले नेपाली कम्पनीसँग विदेशी कम्पनीलाई अनिवार्य रूपमा जोइन्ट भेन्चर गराइएको आयोजनाले जनाएकाे छ । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुनेछ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।

सुरुङ सञ्चालनमा १ सय ५० जना जनशक्ति परिचालन हुनेछन् । त्यसका लागि तालिमको समय दुई महिना छुट्याइएको छ । सुरुङ सञ्चालनमा खटिने कर्मचारीको व्यवस्थापन छनोट हुने सेवा प्रदायकले गर्नेछ ।सहभागी जनशक्तिलाई परीक्षणका रूपमा सुरुङ सञ्चालन गरेर देखाइने छ । ‘कति समय परीक्षणका रुपमा सुरुङ चलाउने भनेर सञ्चालनको जिम्मा लिने कम्पनीको हातमै हुन्छ,’ आयोजना निर्देशक नेपालले भने, ‘सम्झौता भएको तीन महिनाभित्र पूर्णरुपमा सुरुङ सञ्चालन गर्नुपर्ने छ ।’ वैसाख अन्तिमसम्मबाट सुरुङको परीक्षण सञ्चालन गर्ने तयारी रहेको उनको भनाई छ ।

सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । सेवा प्रदायकले चौबिसै घण्टा ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिएको सेवा प्रदायक कम्पनीले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।

सुरुङ निर्माणमा अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्ने तयारीसहितको कागजात अर्थ मन्त्रालयमा पुगे पनि यसको प्रक्रिया टुंगिइसकेको छैन । ‘ऋण स्विकृत भएर आइसकेको छैन,’ आयोजनाका निर्देशक नेपालले भने, ‘उक्त रकमबाट निर्माण व्यवसायी र परामर्श सेवाको भुक्तानी दिनु छ,सुरु सम्झौता अनुसार रकम नपुगेर थप माग गर्नु परेको हो ।’ रकम थपका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आएको फाइल प्रक्रियामै रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।  

अहिलेसम्म सुरुङ निर्माणको काम ९८ प्रतिशत सकिसकेको छ । अहिले धादिङतर्फ पहिरो व्यवस्थापनको काम भइरहेको छ । सुरुङ सञ्चालन गर्ने बेलासम्म पहिरो व्यवस्थापनको काम पनि सकिसक्ने उनको दाबी छ । सुरुङ निर्माणको म्याद १२ वैसाख २०८३ सम्म रहेको र यो बेलासम्म प्राय: सबै काम सकिसक्ने आयोजनाको दाबी छ ।

सवारीसाधनहरूले सुरुङ प्रयोग गरेबापत लाग्ने शुल्क तोकिसकिएको छ । सरकारले तोकेको शुल्कअनुसार कार र भ्यानलाई काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ । त्यस्तै मिनी बस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको भनाइ छ ।

बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिादा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ पनि गत २५ चैतमा जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।

४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । तर पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएको हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । निर्माणको काम सकिएपनि सेवाप्रदायक कम्पनी समयमै छनौट नहुँदा सुरुङ सञ्चालनमा ढिलाई भएको हो । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully