काठमाडौं तथा देशका अन्य केही ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा पनि बर्डफ्लु भित्रिने आशंकामा उच्च सतर्कता अपनाउन लागिएको हो ।
What you should know
काठमाडौँ — बर्डफ्लु भित्रिन नदिन काभ्रे र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने भएको छ ।
काठमाडौं तथा देशका अन्य केही ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा पनि बर्डफ्लु भित्रिने आशंकामा उच्च सतर्कता अपनाउन लागिएको हो ।
पशुसेवा कार्यालय काभ्रेले आइतबार आयोजना गरेको सरोकारवालाहरूको छलफलपछि सीमा नाकामा कडाइ गरिने तथा कुखुरासहितका पंक्षीहरूको फर्ममा निरीक्षण गरिने निर्णय भएको छ । मुख्य गरी तराईबाट काभ्रेमा कुखुरा तथा चल्ला भित्रिने मंगलटार नाकामा कडा चेकजाँच गर्ने निर्णय भएको हो । यस्तै साँगा, नाला लगायत काठमाडौं उपत्यकाबाट काभ्रे र सिन्धुपाल्चोक जाने नाकामा पनि चेकजाँच बढाइने निर्णय भएको छ ।
यसै गरी बर्डफ्लु रोग र यसले पार्ने प्रभावका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले परीक्षणबिनाका कुखुरा तथा अन्य पंक्षीहरू जिल्लामा आउने गरेको बताए ।
कतिपय अवस्थामा भेटेरिनरी परीक्षणको कागज बनाएर भित्र्याइने गरे पनि वास्तविक रूपमा परीक्षण भने नहुने गरेको पाइएको उनले बताए । रातको समयमा कुखुराहरू तराईसहित पूर्वी जिल्लाबाट भित्रिने गरेको बताउँदै उनले स्थानीय सरकारसँगको समन्वयमा चेकजाँच र निगरानी बढाउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलटार नाकामा चेकजाँचमा कडाइ गर्नुपर्ने बताए । नाकामा प्राविधिक राख्न सके निगरानी र चेकजाँच प्रभावकारी हुने उनले बताए । व्यवसायीहरूले सावधानी अपनाए धेरै हदसम्म बर्डफ्लु भित्रिनबाट रोक्न सकिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले पूर्वबाट जिल्लामा भित्रिने कुखुराहरूको तत्कालै नमुना परीक्षण गर्न प्रस्ताव गरे । आवश्यक चेकजाँच र निगरानीका लागि प्रहरी तयार रहेको उनले बताए ।
कार्यक्रममा पोल्ट्री व्यवसायीहरूले नाकाहरूमा क्वारेन्टाइन सक्रिय बनाउनुपर्ने बताए । व्यवसायी ईश्वर शर्माले व्यवसायलाई संरक्षण गर्दै उपभोक्तालाई विश्वस्त बनाउन पशुसेवा कार्यालय सक्रिय हुनुपर्ने बताए । बर्डफ्लु रोकथाम र नियन्त्रणमा आफूहरूको साथ र सहयोग हुने उनले बताए । अर्का व्यवसायी दयाराम महतले ससाना नाकामा पनि कडाइका साथ निगरानी गर्न प्रशासनलाई आग्रह गरे ।
छलफलमा पशुसेवा कार्यालय काभ्रेका प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग र यसले पार्ने प्रभावका विषयमा जानकारी दिँदै रोग भित्रिन नदिन कार्यालयले गरिरहेको तयारीबारे जानकारी गराएका थिए । बर्डफ्लु भित्रिन नदिन प्रशासन, स्थानीय तह र व्यवसायीसहितका सरोकारवालालाई सहयोगका लागि उनले आग्रह गरे ।
