जेन-जी सहिद परिवारलाई रोजगारीका लागि सम्पर्क गर्न विद्युत प्राधिकरणको आग्रह

प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन आग्रह गरेकाे छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Electricity Authority urges Gen-G martyrs' families to contact for employment

What you should know

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले जेन-जी प्रदर्शन तथा आन्दोलनका क्रममा सहिद भएका परिवारलाई रोजगारीका लागि प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेकाे छ । गत २३ र २४ भदौमा  भएको जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायकता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा नम्बर ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था मिलाउने उल्लेख छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पत्रसँगै उल्लेखित व्यक्तिहरूले रोजगारीका लागि पेस गरेको निवेदन प्राप्त भएको भन्दै प्राधिकरणले सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको हो ।

सहिदका परिवारले प्राप्त गर्ने सुविधामा तीबाहेक अरू कसैको हकदाबी लाग्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रमाणसहित प्राधिकरणमा आउन भनेको छ । 

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७ गते, २०८२) मा प्रकाशित जेन-जी सुशासन योद्धा, २०८२ मा उल्लेखित सहिदहरूको सम्बन्धमा सम्वत् २०८२ साल भाद्र २३ र २४ गतेको जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं. ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था मिलाउने भन्ने व्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मिति २०८२/०९/२० को पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजागरीको लागि पेस गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा सहिदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरूबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कर्मचारी प्रशासन शाखा, काठमाडौँमा निस्सा प्रमाण सहित सम्पर्क राख्नुहुन सरोकारवालको जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएको छ ।'

Electricity Authority urges Gen-G martyrs' families to contact for employment

कतिपय निवेदकले सहिदसँगको नाता खुल्ने प्रमाण पेस नगरेको वा अपूर्ण कागजात दिएको पाइएको समेत सूचनामा उल्लेख छ । प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन आग्रह गरेको छ ।

सूचनामा विभिन्न जिल्लाबाट निवेदन दिएका व्यक्तिहरूको नामावली समेत सार्वजनिक गरिएको छ । जसमा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, कैलाली, बाजुरा, उदयपुर, काठमाडौंलगायतका जिल्लाका आवेदक छन् ।

कान्तिपुर

Link copied successfully