देशभरका उद्योग, प्रतिष्ठान, पसलहरूको आधारभूत विवरणहरु संकलन गरी तथ्यांक प्रकाशन गर्ने उद्देश्यले गणना राष्ट्रिय आर्थिक गणना हुने गर्छ ।
चितवन — सरकारले आगामी २ वैशाखदेखि दोस्रो राष्ट्रिय आर्थिक गाणना सुरू गर्ने भएको छ । यसअघि २०७५ सालमा पहिलोपटक आर्थिक गणना भएको थियो ।
आर्थिक गाणनाको उद्देश्य र तयारीका बारेमा जानकारी दिन आइतबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरिएकाे थियो । सो अवसरमा जिल्ला आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेले गणनाका लागि गणकहरू घरघर पुग्ने बताएकी छन ।
देशभरका उद्योग, प्रतिष्ठान, पसलहरूको आधारभूत विवरणहरु संकलन गरी तथ्यांक प्रकाशन गर्ने उद्देश्यले गणना हुने घिमिरेले बताइन् । गणनाको नतिजाले देशको आर्थिक र अन्य सामाजिक नीति निर्माण, योजना तर्जुमा र लक्ष्य निर्धारण तथा प्रगति मापनमा सहयोग पुग्ने उनको भनाइ छ ।
बिक्री वा निःशुल्क वितरणका लागि वस्तु वा सेवा उत्पादन गर्नेहरूको विवरण संकलन हुनेछ ।
२०७५ सालको आर्थिक गाणनामा देशभर ९ लाख २३ हजार ३५६ उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको विवरण संकलन भएको थियो । जसमध्ये ५० दशमलब १ प्रतिशत दर्ता थिए भने बाँकी दर्ता नभएका थिए । यी प्रतिष्ठानहरूमा ३२ लाख २८ हजार ४५७ जना आबद्ध थिए ।
जसमध्ये पुरुष ६२ प्रतिशत र बाँकी महिला थिए । अघिल्लो गणनामा चितवनमा २९ हजार २३७ प्रतिष्ठान थिए ।
जसमा ५८ प्रतिशत दर्तावाला र अरु दर्ता नभएको घिमिरेले जानकारी दिइन् । सडकमा समेत ठेला, डोको राखेर कारोबार व्यापार गर्नेहरू एक हजार २२८ थिए । बसेको घरमा नै कारोबार चलाउनेहरू १५ हजार १५९ थिए ।
दर्ता नगरी चलेका कृषि वन तथा माछा पालन क्षेत्र, रोजगार दाताका रुपमा घरायसी कृयाकलापलाई गणनामा नराख्ने जिल्ला आर्थिक गणना अधिकारी घिमिरेले जानकारी दिइन् ।
२ बैशाखदेखि हुने गणना ७ असारसम्म चल्ने छ । दर्ता नभएका प्रतिष्ठान अर्थात अनौपचारिक क्षेत्रलाई दर्ता गराउने र औपचारिक आर्थिक अभियानमा जोड्न उद्देश्य पनि भएको उनले बताइन् ।
‘आधिकारिक तथ्यांक प्राप्त गर्न गणना गर्न लागेका हौं । यसले देशको उद्योग व्यवसायको अवस्था र योगदान उजागार हुन्छ । देश विदेशको अवस्था तुलना गर्न सकिन्छ । अनौपचारिकबाट औपचारिक अर्थतन्त्रमा लैजान मद्दत पुग्छ,’ घिमिरेले भनिन् । चितवनमा मात्रै गणनाका लागि सातवटै पालिकामा ११७ जना गणक र १७ जना सुपरिवेक्षक खट्ने उनले बताइन् ।
