खुम्चिँदै बजेट, सुक्दै पानीको स्रोत

बजेटको अभाव, मुहानको उपलब्धता, स्थानीय द्वन्द्व, तीन तहको सरकारबीच नीतिगत एवं व्यावहारिक अस्पष्टता, जलवायु परिवर्तनको असर, भौगोलिक जटिलता जस्ता विषयका कारण मापदण्डअनुसारको खानेपानी उपलब्ध हुन सकेन

चैत्र १४, २०८२

ऋषिराम पौड्याल

Shrinking budget, drying up water sources

काठमाडौँ — स्वच्छ खानेपानी पिउन पाउनु नैसर्गिक अधिकार भए पनि सबै नागरिकले यो सुविधा प्राप्त गर्न सकेका छैनन् । खानेपानी उपलब्ध गराउन मन्त्रालयअन्तर्गतको खानेपानी विभागले संघीय सरकारअन्तर्गत मुलुकभर ७७ वटा जिल्लामा १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमार्फत आयोजना सञ्चालन गरिरहेको छ ।

मुलुक संघीयतामा गएपछि संघ, प्रदेश र स्थानीय तहले खानेपानी योजना सञ्चालन गरिरहेका छन् । तर बजेटको अभाव, मुहानको उपलब्धता, स्थानीय द्वन्द्व, तीन तहको सरकारबीचको कार्यक्षेत्रको नीतिगत एवं व्यावहारिक अस्पष्टता, जलवायु परिवर्तनको असर, भौगोलिक जटिलता जस्ता विषयले तोकिएको मापदण्डअनुसारको खानेपानी उपलब्ध हुन सकेको छैन ।

मुख्यतः बजेटको अपर्याप्तता, निर्माण व्यवसायीको बेवास्ता र कार्यसम्पादनमा हुने ढिलासुस्तीले निर्माणाधीन खानेपानी आयोजना पनि सहज रूपमा सञ्चालन हुन सकेका छैनन् । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी नियमित हुन सकेको छैन ।

खानेपानी मन्त्रालयले भोग्दै आएको यी र यस्ता चुनौतीको सामना गर्न निशा मेहताले शुक्रबार खानेपानीमन्त्रीको शपथ लिएकी छन् । पेसागत रूपमा नर्स उनलाई अघिल्लो निर्वाचनमा रास्वपाले सांसद बनाउन समानुपातिक सूचीमा समेत राखेको थियो । तर त्यतिबेला सांसद बन्न पाइनन् । यस पटक भने नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनिन् । र, खानेपानीमन्त्रीको जिम्मेवारी पनि पाइन् ।

२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिमा रुचि राखेकी पात्र हुन् । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरेकी थिइन् । मधेशी महिला र बालबालिकाका विषयमा अध्ययनसमेत गरेकी निशा तिनै वर्गका मुद्दामा प्रभावकारी आवाज उठाउँदा उठाउँदै मन्त्री बनेकी छन् ।

मुलुकभरमा १५ वटा कार्यालयबाट तीन–चार वर्षदेखि सरकारको स्रोतबाट २ सय १५ वटा बहुवर्षीय आयोजना निर्माणको चरणमा छ । जसको लागत अनुमान ६० अर्ब छ । ती आयोजना पूरा गर्न अब कम्तीमा १२ अर्ब आवश्यक छ । जबकि खानेपानी मन्त्रालयको चालु एक वर्षको पुँजीगत खर्च १७ अर्ब छ । उक्त बजेट पनि गत असोजमा सरकारले रोकेको थियो । रोकेको बजेट बिस्तारै फुकुवा गरेर अहिले ९ अर्ब जति उपलब्ध भएको छ । बजेटको अभावमा कतिपय योजना सञ्चालन नै हुन सकेका छैनन् । नयाँ पुराना गरेर झन्डै ८ सय आयोजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

दिगो विकासको १७ लक्ष्यमध्ये छैटौं नम्बरमा खानेपानी र सरसफाइको विषय उल्लेख छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले तोकेको सीमामा रहेर खानेपानी सुविधा दिनुपर्छ । त्यसका लागि ७० अर्बभन्दा बढी खर्च आवश्यक हुने गरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । विश्व बैंक र एसियाली विकास बैंकले सहयोग गर्ने अपेक्षा छ ।

रास्वपाको वाचापत्रमा ५ वर्षभित्र सबैलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उल्लेख भएकाले मन्त्रालयका अधिकारी आयोजना पूरा गर्न सहज हुने अनुमान गर्छन् । मन्त्रालयका अनुसार हिमाली भेगमा संघ सरकारले १ हजार जनसंख्या, पहाडमा कम्तीमा ५ हजार र तराईमा १५ हजार जनसंख्या भएको स्थानमा आयोजना सञ्चालन गर्ने मापदण्ड छ । यद्यपि संघ सरकारले एक ‘क्वायल’ पाइप खरिद गर्ने बजेट पनि रातो किताबमा राख्ने चलन हराएको छैन ।

प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका आयोजनाको अवस्था कस्तो छ ? कुन कुन स्थानमा कति उपभोक्ताले सुविधा पाउँछन् ? बजेट कति खर्च भएको छ ? आयोजना संघ सरकारसँग डुब्लिकेट परेका छन् कि जस्ता समस्या विषयमा समन्वय हुन सकेको छैन । संघ सरकारले झन्डै चार हजार आयोजना हस्तान्तरण गरे पनि त्यसको पछिल्लो अवस्था जानकारी छैन ।

मुलुकभरका नागरिकलाई आधारभूत खानेपानीको उपलब्धता ९७ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ । उच्च तथा मध्यमस्तरको खानेपानी भने २९ प्रतिशत नागरिकलाई मात्र खानेपानी सेवा उपलब्ध छ । यस हिसाबले करिब ९० लाख जनसंख्याले मध्यमस्तरको खानेपानी पिइरहेको अनुमान छ । प्रत्येक वर्ष बजेट घट्दै गएको र योजना सञ्चालनमा दोहोरोपन हुने गरेको खानेपानी मन्त्रालय योजना तथा वैदेशिक सहायता महाशाखा प्रमुख रमाकान्त दुवाडी बताउँछन् ।

संघको क्षेत्राधिकार बाहिर गएर साना योजना सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले जनाए । पानीको मूल सुक्दै गएकाले स्रोतको व्यवस्थापन पनि चुनौती बनेको र भूमिगत पानीको व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौंलगायतका सहरी क्षेत्रमा ढल व्यवस्थापनको काम उल्लेख्य रूपमा गर्न नसक्दा दुर्गन्ध बढेकामा उनले चिन्ता व्यक्त गरे ।

समन्वयको अभावमा कार्यान्वयन फितलो

खानेपानी विभागका अनुसार कुन तहको सरकारले कुन स्तरको खानेपानी आयोजना सञ्चालन गरिरहेको छ, त्यसको भरपर्दो तथ्यांक छैन । प्रदेशले संघमा त्यसको तथ्यांक पठाएका छैनन् । स्थानीय तहले सञ्चालन गरेका आयोजनाको अवस्थाको पनि जानकारी छैन । तीनै तहको सरकारको समन्वय आवश्यक रहेको विभागका महानिर्देशक कमलराज श्रेष्ठले बताए ।

स्थानीय, प्रदेश र संघको आयोजना हेर्ने गरी सबै स्थानमा खानेपानी कार्यालय आवश्यक रहेको उनको भनाइ छ । खानेपानी योजनाहरूको सञ्चालन एकीकृत नभएका कारण कतै स्रोतको सदुपयोग हुन नसकेको त होइन भन्ने चिन्ता बढेको छ । तीनै तहका सरकारले समन्वय गरेर मात्र योजना सञ्चालन गर्नुपर्ने महानिर्देशक श्रेष्ठले जनाए ।

बल्झिरहने मेलम्ची आयोजना

नयाँ खानेपानीमन्त्रीका लागि मेलम्ची आयोजनाको निरन्तरता र काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापन जहिल्यै चुनौती बन्ने गरेको छ । निर्माण सुरु भएको साढे दुई दशकमा बनेको मेलम्ची आयोजनाको मुहान नै बाढीले पुरेपछि काठमाडौंवासीले नियमित पानी पिउन पाएका छैनन् ।

पुरिएको मुहान सिन्धुपाल्चोकको अम्बाथानबाट करिब एक किमिमाथि सर्कथलीमा सार्ने योजना बनिरहेको छ । मुहानबाट अहिले दुवाली फर्काए जसरी पानी सुरुङमा पठाएर काठमाडौंमा वितरण गरिएको छ । नयाँ स्थानमा मुहान बन्न कम्तीमा दुई वर्ष लाग्ने अनुमान छ । अहिले कन्सल्ट्यान्टले अब बनाउने मुहानको डिजाइन गरिरहेको छ । मेलम्चीकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड पानी ल्याउने योजना बनाए पनि सुरु नै हुन सकेको छैन ।

२०७८ असारको बाढीले मेलम्ची मुहान बगाएपछि याङ्ग्री र लार्केको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको छ । मेलम्चीको मुहान सार्ने भएकाले याङ्ग्री र लार्केको ड्याम पनि सार्नुपर्ने भएको हो । अहिले मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौं ल्याउने गरिएको छ । वर्षात्मा बाढीपहिरोको भयले पानी बन्द गरिँदै आएको मेलम्ची आयोजनाका कार्यकारी निर्देशक बालकुमार श्रेष्ले जानकारी दिए ।

यी हुन् समस्या र चुनौती

– उच्च र मध्यस्तरको खानेपानी २९ प्रतिशतलाई मात्र उपलब्ध

– खानेपानी मन्त्रालयको बजेट बर्सेनि कटौती

– परम्परागत मूल सुक्दै गएपछि मूलको अभाव

– चालु वर्षको बजेट कटौतीले आयोजना सञ्चालनमा अवरोध

– निर्माणाधीन बहुवर्षीय आयोजना पूरा गर्न ९ अर्ब आवश्यक

– खानेपानी आयोजना सञ्चालनमा तीन तहको सरकारबीच समन्वय अभाव

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully