आपूर्ति शृंखला र विश्वव्यापी माग घट्ने चिन्ताबीच ठूला प्रविधि कम्पनीले सयौं अर्ब डलर बराबरको बजार मूल्य गुमाएका छन् ।
What you should know
काठमाडौँ — अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि पश्चिम एसियामा चुलिएको सैन्य तनावका कारण विश्वव्यापी पुँजी बजारमा ७ ट्रिलियन अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ । तेल तथा ग्यासको मूल्य झन्डै ७० र ८५ प्रतिशतले वृद्धि भएको रोयटर्सले जनाएको छ ।
सेयर बजारमा आएको गिरावटको मुख्य मार अमेरिकी सेयर बजारले बेहोरेको छ । एप्पलको शेयर मूल्य करिब ११ प्रतिशत तल झरेको छ भने माइक्रोसफ्ट लगभग ९ प्रतिशतले घटेको छ। संसारकै मूल्यवान कम्पनी एनभिडियाको बजार मूल्य एक महिनामा करिब १४ प्रतिशत ओर्लिएको देखिन्छ । अमेजनको करिब १० प्रतिशत र मेटाको शेयर मूल्यमा करिब ११ प्रतिशतले कमी आएको छ ।
वित्तीय क्षेत्रमा जेपी मोर्गन करिब ७ प्रतिशत, गोल्ड्म्यान स्याक्स लगभग ९ प्रतिशत तल आएका छन् । औद्योगिक क्षेत्रका प्रमुख कम्पनी बोइङ करिब १३ प्रतिशत, टेस्ला झण्दै १५ प्रतिशत ओरालो लागेका छन् ।
सम्भावित क्षेत्रीय द्वन्द्व र ऊर्जा आपूर्ति अवरोधको डरले यो गिरावट शुरु भएको थियो । यसले प्रमुख सूचकहरूलाई निरन्तर तल धकेल्दै आएको छ । बढ्दो महँगी र आपूर्ति प्रणालीमा लामो समयदेखि कायम अन्योलले प्रविधि र वित्तीय क्षेत्रका सेयरहरू सबैभन्दा धेरै घटेका छन् ।
‘बजारले अहिले वर्षौँयताकै नदेखिएको भूराजनीतिक जोखिम व्यहोरिरहेको छ,’ वरिष्ठ अर्थविद् जेमी डाइमनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘बजारको मनोविज्ञान आधारभूत आर्थिक सूचकभन्दा अनिश्चितताले डोहोर्याएको छ ।’
द्वन्द्व नसुल्झिँदा बजारमा सेयर बिक्रीको लहर चलेको छ । रोयटर्सका अनुसार फण्ड व्यवस्थापकहरू सुरक्षित लगानीतर्फ सर्दै जाँदा इक्विटी बजारको बहिर्गमनलाई अझ तीव्र बनाएको छ ।
यो गिरावट वाल स्ट्रिटमा मात्रै सीमित नभएर विश्वका अन्य प्रमुख बजारसम्म पनि फैलिएको छ । चीनका प्रमुख सूचकहरू करिब ६ देखि ८ प्रतिशतले घट्दा बेलायतको एफटीएसई लगभग ५ प्रतिशत घटेको छ । यस्तै, फ्रान्सको सीएसी र जर्मनीको डीएएक्स पनि यो महिनामा औसत ७ देखि ९ प्रतिशतले ओरालो लागेका छन् । छिमेकी भारतका सेन्सेक्स र निफ्टी सूचकहरू लगभग ४/६ प्रतिशत खस्किए्को समयमा जापानको जापानको निक्केई करिब ८ प्रतिशतले तल झरेको छ ।
