आर्थिक संकटको भयले सेयर बेच्दै मेटा, अमेजनलगायत कम्पनीका ठूला लगानीकर्ता

विश्वव्यापी अस्थिरता र मन्दीको आशंकाबीच अमेजन, एनभिडिया, मेटा, ओर्‍याकलजस्ता कम्पनीका ठूला लगानीकर्ताले अर्बौं डलरको सेयर बेचे।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

Big investors in companies including Meta, Amazon, and others are selling shares due to fears of economic crisis

काठमाडौँ — इरान युद्धको एक महिना पुग्न लाग्दा विश्व अर्थतन्त्रमा आउन सक्ने सम्भावित मन्दीबारे प्रविधि क्षेत्र सशंकित बनेको देखिन्छ । फर्च्युन म्यागेजिनका पछिल्ला विश्लेषणमा सार्वजनिक भएका आन्तरिक कारोबारसम्बन्धी विवरण र क्रिप्टो बजारका गतिविधिले विश्वका प्रभावशाली प्रविधि उद्यमी र लगानीकर्ताहरूले चुपचाप आफ्नो लगानी घटाइरहेको उल्लेख छ ।

बजारमा जोखिम बढ्दै जाँदा सिलिकन भ्यालीका अगुवादेखि अफसोर क्रिप्टो वालेटका ठूला सेयरधनीहरू नगदमा फर्किरहेका छन् । सार्वजनिक रूपमा भने उनीहरूले अहिले बजार कमजोर देखिए पनि दीर्घकालमा माग बढ्छ, यो अस्थायी समस्या हो भन्ने खालका आशावादी अभिव्यक्ति दिइरहेको पाइन्छ । बजार सूचकांकको चमकभित्र वित्तीय अस्थिरता मडारिन थालेकोबारे बजार विश्लेषकहरूले भने सचेत गराएका छन् ।

हालैका विवरणअनुसार अमेरिकी प्रविधि कम्पनीहरूमा उल्लेख्य मात्रामा सेयर बिक्री भएको छ । पालान्टिर टेक्नोलोजिज्मा श्याम शंकर र लगानीकर्ता स्टेफन कोहेनले पछिल्ला महिनाहरूमा झन्डै १४ करोड डलर बराबरको करिब १० लाख कित्ता सेयर बिक्री गरेका छन् । डेल टेक्नोलोजिज्मा पनि सिल्भर लेकसँग सम्बन्धित संस्थाहरूले मार्चमा मात्रै करोडौं डलर बराबरको सेयर बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

परम्परागत सेयर बजारसँगै क्रिप्टो क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ । बिटक्वाइनका सुरुवाती दुई स्वामित्वकर्ताहरूले हालसम्म करिब १ हजार ६ सय ५० बिटक्वाइन (झन्डै ११ करोड ७० लाख डलर बराबर) बिक्री गरेको वित्तीय प्रतिवेदनहरूमा देखिन्छ । इजरायल–इरान द्वन्द्वको पूर्वसन्ध्यामा एकै लगानीकर्ताले ठूलो संख्यामा सेयर बिक्री गर्दा ६ करोड १० लाख डलर बराबरको घाटा निम्तिएको र त्यसलाई बजारमा ‘अत्यधिक डर’ छाएको संकेत मान्न सकिने क्वाइनडेस्कको विश्लेषण छ ।

Big investors in companies including Meta, Amazon, and others are selling shares due to fears of economic crisis

आन्तरिक कारोबारमा ‘सेल–टु–बाई’ अनुपात तीव्र रूपमा घटेको छ । प्रत्येक विक्रेताको तुलनामा जम्मा ०.३ खरिदकर्ता पुगेका छन् । यसलाई इन्भेस्टर प्लेसका विश्लेषकहरूले ‘स्मार्ट मनी’ बजारबाट बाहिरिँदै गरेको स्थितिका रूपमा व्याख्या गरेका छन् । प्रख्यात वित्तीय सेवा प्रदायक कम्पनी, जेफरिजका विश्लेषक एन्ड्रु मोसका अनुसार लामो समय ठूला बिटक्वाइन संग्रह गरेकाहरू अहिले नेट सेलरमा परिणत भएका छन् । हालका केही साताको बजार अस्थिरताले विश्वव्यापी रूपमा प्रविधि क्षेत्रको बजार मूल्यबाट २० देखि ३० खर्ब डलरभन्दा बढी गिरावट भएको रोयटर्समा प्रकाशित समाचारहरूमा उल्लेख छ । 

सन् २०२५ मा इजरायल र अमेरिकाले इरानका विभिन्न स्थानमा संयुक्त बमबारी गरेयता नै प्रविधि र क्रिप्टो क्षेत्रमा आन्तरिक बिक्रीको प्रवृत्ति बढेको थियो । सिलिकन भ्यालीका ठूला नामहरूले १६ अर्ब डलरभन्दा बढी सेयर बजारबाट निकालिसकेका छन् । अमेजनका संस्थापक जेफ बेजसले २ करोड ५० लाख सेयर बिक्री गर्दै करिब ५.७ अर्ब अमेरिकी डलर उठाएका थिए । ओर्‍याकलकी इजरायली मूलकी अमेरिकी पूर्वप्रमुख कार्यकारी साफ्रा कार्ट्जले झन्डै साढे २ अर्ब र डेलका संस्थापक प्रमुख माइकल डेलले लगभग २.२ अर्ब अमेरिकी डलर बराबरको सेयर बेचेको फाइनान्सियल कन्टेन्टको रिपोर्ट छ । 

संसारकै मूल्यवान् कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुवाङले पनि सन् २०२५ को अन्त्यतिर १ अर्ब डलरभन्दा बढीको सेयर बिक्री गरेका थिए । मेटाका संस्थापक मार्क जुकरबर्गले झन्डै एक अर्ब अमेरिकी डलर बराबरको सेयर फाउन्डेसनमार्फत बिक्री गरेका थिए । उनीहरूले यी अधिकांश कारोबार पूर्वयोजनाअनुसार भएको तर्क गर्ने गरेका छन् । तर, बढ्दो विश्वव्यापी अस्थिरताका समयमा भएको यो आक्रामक बिक्रीले ठूला लगानीकर्ताहरू नाफा सुरक्षित गर्दै जोखिम घटाउनतर्फ लागेको अनुमान गरिएको छ ।

फर्च्युनका बजार विज्ञहरूका अनुसार सार्वजनिक रूपमा देखाइने आशावाद र आन्तरिक व्यवहारबीचको अन्तर अब स्पष्ट हुँदै गएको छ । ‘ठूला बिटक्वाइन स्वामित्वकर्ताहरूले कमजोर अवस्थामा बिक्री गरिरहेका छन्,’ फर्च्युनसँग एन्ड्रु मोसले भनेका छन् । यूबीएसका विश्लेषकहरूले त ‘तनावको अवस्थामा क्रिप्टो वास्तविक सम्पत्ति होइन’ भन्ने टिप्पणी गरेका छन् । विश्वव्यापी रूपमै ऊर्जा र इन्धन संकट बढिरहँदा अत्यधिक मूल्यवृद्धिको आशंकाबीच सिलिकन भ्याली र क्रिप्टो लगानीकर्ताले घटाएको लगानीलाई प्रविधि बजारमा बढेको तनाव मान्न सकिन्छ । एजेन्सीको सहयोगमा)

कान्तिपुर

Link copied successfully