फेरि नयाँ उचाइमा अमेरिकी डलर

पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

चैत्र ११, २०८२

कान्तिपुर संवाददाता

US dollar hits new high again

What you should know

काठमाडौँ — नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको विनिमय दर १५०.६७ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बुधबारका लागि भने राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर १५०.४९ रुपैयाँ तोकेको छ । यसअघि १० मार्च २०२६ मा यस्तो विनिमय दर १४८.०३ रुपैयाँ पुगेको थियो । त्यसयता केही दिन डलरको भाउ १४७ हाराहारीमा थियो । तर, केही दिनयता निरन्तर उकालो लागेर नयाँ रेकर्ड बनाएको हो । 

इरान युद्ध सुरु हुनुअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याज बढाउने संकेत गरेको थियो । त्यहाँको मुद्रास्फीति नियन्त्रणमा रहेकाले ब्याज बढाउने सोचमा फेड थियो । तर, इरान युद्ध सुरु भएपछि बेग्लै परिस्थिति बन्यो । र, अमेरिकामा मुद्रास्फीति बढ्न थाल्यो । मुद्रास्फीति थप माथि जाने जोखिम बढेसँगै गत बुधबार (१८ मार्च २०२६) बसेको फेडको बैठकले ब्याजदर नबढाउने निर्णय गर्‍यो ।

फेडको यो निर्णयसँगै आउँदो एक–डेढ महिनाका लागि अमेरिकामा ब्याजदर बढ्ने जोखिम टरेको छ । युद्धअघि फेडले ब्याज बढाउने अड्कलबाजीहरू भएका थिए । ब्याजदर नबढेपछि अमेरिकी डलर झनै बलियो बन्न थालेको हो । विश्व बजारमा डलर बलियो बनेपछि त्यसको तुलनामा भारु कमजोर भएको हो । भारु कमजोर भएपछि स्थिर विनिमय दरका कारण नेरु पनि स्वतः कमजोर (अवमूल्यन) बनेको हो । 

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तको तुलनामा गत माघसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.८ प्रतिशतले अवमूल्यन भएको थियो । यसअनुसार २०८२ माघमा अमेरिकी डलर एकको खरिद विनिमय दर १४४.८३ रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो । 

नेरु र भारुबीचको स्थिर विनिमय दर र नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेका कारण भारुको दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । मंगलबार साँझ ८ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ९३.८३ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि अवमूल्यन हुँदै आएको छ ।

लाभसँगै नोक्सानी पनि

नेरुको तुलनामा डलर बलियो बन्दा हानिसँगै केही क्षेत्रमा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।

त्यस्तै डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्छ । यसले मुलुकको वस्तु तथा सेवा खरिद र दायित्व भुक्तानी गर्ने क्षमता बढ्छ । त्यस्तै नेपालले पर्यटन र निर्यात व्यापारमा पनि लाभ लिन सक्ने जानकारहरू बताउँछन् । 

डलरको भाउ बढ्दा सबैभन्दा बढी वैदेशिक ऋणको भुक्तानी र नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दर बढ्दा नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणमा अतिरिक्त भार पर्न थालेको छ । गत फागुन मसान्तसम्म अमेरिकी डलरलगायत विदेशी मुद्राको विनिमय दर बढ्दा नेपालले तिर्न बाँकी सार्वजनिक ऋणमा ९७ अर्ब ९८ करोड रुपैयाँ अतिरिक्त भार थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

नेपालले लिएको ऋण वैदेशिक मुद्रा (मुख्य गरी अमेरिकी डलरमा) मा भुक्तानी गर्नुपर्छ । डलरलगायत विदेशी मुद्राको विनिमय दर बढेकाले तिर्नुपर्ने सार्वजनिक ऋणमा अतिरिक्त भार थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख गोपीप्रसाद कोइरालाले बताए । ‘हामीले सबै देशका विदेशी मुद्राको गणना अमेरिकी डलरमै परिणत गरेर गर्ने गरेका छौं । डलरबाहेक अरू विदेशी मुद्राको विनिमय दर बढ्दा पनि हामीले सोहीअनुसार बढी रकम भुक्तानी दिनुपर्छ,’ उनले भने, ‘घटेको अवस्थामा भने नेपाललाई लाभ हुन्छ ।’ 

कान्तिपुर

Link copied successfully