विश्व बजारमा सुनको मूल्य घटेपछि त्यसको असरले आन्तरिक बजारमा पनि मूल्यमा गिरावट आएको व्यवसायीहरू बताउँछन् ।
काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य पछिल्लो एक सातामै प्रतितोला ३६ हजार रुपैयाँले घटेको छ । ३ चैतमा सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेकामा १० चैतमा प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
विश्व बजारमा सुनको मूल्य घटेपछि त्यसको असरले आन्तरिक बजारमा पनि मूल्यमा गिरावट आएको व्यवसायीहरू बताउँछन् । गत फेब्रुअरी २८ अर्थात् फागुन १६ मा इरान युद्ध सुरु भएयता सोमबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १५ प्रतिशतले घटेको छ । उक्त दिन शनिबार रहेकाले नेपालमा सुनको मूल्य तोकिएको थिएन ।
नेपाली बजारमा १७ फागुनमा ३ लाख २० हजार ५ सय, १८ फागुनमा ३ लाख २६ हजार १ सय र १९ फागुनमा ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि २७ फागुनमा ३ लाख १९ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ । र, पछिल्लो एक सातामै ३६ हजार रुपैयाँले घटेर १० चैत (मंगलबार) मा प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । जबकि ३ चैतमा प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो ।
जानकारहरूका अनुसार रुस, यूएईलगायतका मुलुकहरूले ठूलो परिमाणमा सुन बेचेकाले पनि अन्तर्राष्ट्रिय मूल्यमा निरन्तर गिरावट देखिएको हो । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार सरकारी सम्पत्तिको प्रयोग गर्न थालेपछि रुसले यस वर्षको पहिलो दुई महिनामा आफ्नो सञ्चितिबाट करिब १५ टन सुन बिक्री गरेको छ ।
त्यस्तै टर्किएको केन्द्रीय बैंकले पनि सुन बेचेर विदेशी मुद्रा खरिद गर्ने विषयमा समेत छलफल सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । इरान युद्धका कारण तेलको मूल्य वृद्धि भएपछि बढी सुन खरिद गर्ने पश्चिम एसियाली मुलुकहरूको सुनमा लगानी गर्ने क्षमता ह्रास आएका कारण पनि पहेँलो धातुको मूल्य ओरालो लागेको बताइएको छ ।
बिक्रीका हिसाबले चैत महिना ‘अफसिजन’ भएकाले सुनको मूल्य ओरालो लागे पनि बजारमा चहलपहल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता किरणभाइ वज्राचार्यले वज्राचार्यले बताए । सुन बिक्री नभएकाले फागुन पहिलो सातायता आयात नगरिएको नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
