नेप्सेमा झण्डै २४ अंकको वृद्धि, कारोबार रकम घट्यो

कारोबारमा आएकामध्ये १३६ कम्पनीको सेयर मूल्य बढ्यो, ११७ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्‌याे ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २३.८३ अंकले बढेको छ । अघिल्ला ४ कारोबार दिन लगातार बढेको नेप्सेमा मंगलबार पनि सोही प्रवृति दोहोरिएको हो ।

अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ९ सय ६० दशमलव ४० विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएकामध्ये १३६ कम्पनीको सेयर मूल्य बढ्यो, ११७ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्‌याे ।

सो दिन कुल  १ लाख २६ हजार ९ सय ४७ पटकको कारोबारमा ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत सोमबार १५ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटेल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से दोहोरो अंकले बढेको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully