लुम्बिनी प्रवर्द्धनमा नेपाल चुक्यो : श्रीलंकाली राजदूत

राजदूत डेल्पिटियाले प्रत्येक वर्ष करिब ५० हजार श्रीलंकाली तीर्थयात्री लुम्बिनी भ्रमण गर्ने गरेको तर उनीहरू भारत हुँदै आउने र जाने गरेको औंल्याउँदै काठमाडौं वा पोखरा हुँदै लुम्बिनी आउने प्याकेज बनाउन दुवै देश एकजुट हुनुपर्ने बताइन् ।

चैत्र १०, २०८२

दीपक परियार

Nepal failed in promoting Lumbini: Sri Lankan ambassador

पोखरा — नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्थी डेल्पिटियाले नेपालले आफ्नो पर्यटन, विशेषगरी लुम्बिनीको प्रवर्द्धनमा पर्याप्त काम नगरेको बताएकी छन् । उनले मंगलबार पोखरा पर्यटन परिषद् र पोखरा भ्रमण वर्षद्वारा आयोजित ‘ब्रिजिङ होराइजन्स’ अन्तरक्रिया कार्यक्रममा भनिन्, ‘मलाई लाग्छ तपाईंहरूले नेपालको प्रवर्द्धनका लागि पर्याप्त काम गरिरहनुभएको छैन, विल्कुलै पर्याप्त छैन ।’

राजदूत डेल्पिटियाले प्रत्येक वर्ष करिब ५० हजार श्रीलंकाली तीर्थयात्री लुम्बिनी भ्रमण गर्ने गरेको तर उनीहरू भारत हुँदै आउने र जाने गरेको औंल्याउँदै काठमाडौं वा पोखरा हुँदै लुम्बिनी आउने प्याकेज बनाउन दुवै देश एकजुट हुनुपर्ने बताइन् । उनले भनिन्, ‘जसरी हामीसँग समुद्र र समुद्री तटहरू छन्, तपाईंहरूसँग हिमालहरू छन् । यो हिमालदेखि समुद्रसम्म र पुनः फिर्ता हुने यात्राको रुपमा ब्रान्डिङ गर्न सक्छौं ।’

श्रीलंकाले सन् २०२४ मा २० लाखभन्दा बढी र २०२५ मा सितराङ चक्रवातको बाबजुद २३ लाख पर्यटक भित्र्याएको उदाहरण दिँदै उनले नेपालले पनि पर्यटनमा थप ध्यान दिनुपर्ने बताइन् । उनले थपिन्, ‘दक्षिण एसियाली छिमेकीका रूपमा हामी प्रतिस्पर्धा नगरौं, बरु एकअर्काका पूरक बनौं ।’

राजदूत डेल्पिटियाले श्रीलंकाले २०२२ को गम्भीर आर्थिक संकटपछि ७० प्रतिशतभन्दा माथि पुगेको मुद्रास्फीति एकल अंकमा झार्न सफल भएको र २०२४ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २०१७ यताकै उच्च विन्दु ५ प्रतिशत पुगेको जानकारी दिइन् । उनले पर्यटन प्रवर्द्धनमा गन्तव्य ब्रान्डिङ, विविधीकरण र सार्वजनिक–निजी साझेदारीलाई मुख्य आधार मान्नुपर्ने बताउँदै नेपालले पनि हिमाल र साहसिक खेलकुद पर्यटनमा मात्र नअड्किई आयुर्वेद, वेलनेस र आध्यात्मिक पर्यटनमा विस्तार गर्नुपर्ने सुझाव दिइन् । उनले नेपाली पर्यटन एजेन्टलाई श्रीलंका र श्रीलंकाका एजेन्टलाई नेपाल भ्रमण गराउन दुवै सरकारले परिचयात्मक भ्रमण प्रायोजन गर्नुपर्ने प्रस्ताव राखिन् ।

कार्यक्रममा भिजिट पोखरा वर्षका संयोजक गोपीबहादुर भट्टराईले पोखरा र श्रीलंकाको कुनै प्रमुख पर्यटकीय सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव राखे । उनले दुई देशबीच द्विपक्षीय परिचयात्मक भ्रमण थालनी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धनमा सहकार्य गर्ने र जनस्तरमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । ‘नेपाल र श्रीलंका बीच द्विपक्षीय फेमिलियाराइजेसन (फाम) ट्रिप सुरु गर्ने विषयमा पनि हामी निकै उत्साहित छौं,’ उनले भने, ‘पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाबीच पारस्परिक भ्रमण गराई एकअर्काको पर्यटन उत्पादन, सेवा र बजारबारे राम्रो बुझाइ विकास गर्न सकिन्छ । यसले संयुक्त प्याकेज, प्रवर्द्धन र पर्यटक आवागमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले छलफललाई अर्थपूर्णरुपमा कार्यान्वयन गर्न परिषद् प्रतिबद्ध रहेको बताए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully