गत आर्थिक वर्षको साउन–फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोडको वस्तु आयात भएकामा यस वर्षको सोही अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको वस्तु आयात
What you should know
काठमाडौँ — चालु आर्थिक वर्षको साउन–फागुनसम्म आयात १२.५४ र निर्यात २०.८३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा भारतमा मात्रै १ खर्ब ५६ अर्ब ६६ करोड ४४ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले बताएको छ ।
गत आर्थिक वर्षको साउन–फागुनसम्म ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात र १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९१ प्रतिशत छ भने आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको र निर्यातको हिस्सा सामान्य बढेको देखिन्छ । गत आर्थिक वर्षको ८ महिनामा कुल व्यापारमा आयातको हिस्सा ८७.८७ र निर्यातको हिस्सा १२.१३ प्रतिशत थियो । विभागका अनुसार कुल निर्यातमा भटमास तेलको हिस्सा ४० प्रतिशत छ ।
आठ महिनामा ७५ अर्ब ७७ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात भएको विभागको तथ्यांक छ । सोही अवधिमा ८१ अर्ब १८ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात गरिएको थियो । कुल १२ खर्ब ८९ अर्ब रुपैयाँको वस्तु आयात हुँदा २ खर्ब ९ अर्ब ९९ करोडको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ । कुल आयातमा पेट्रोलियमको हिस्सा १७ प्रतिशत रहेको विभागको तथ्यांक छ ।
कच्चा भटमासको तेल आयात गरी प्रशोधन गरी निर्यात गर्दा ठूलो मात्रामा मूल्य अभिवृद्धि (भ्यालु एड) हुन नसकेको जानकार बताउँछन् । अहिले धेरै खाद्यतेल निर्यात न्यूनतम प्रशोधनमै सीमित रहेको, धेरैजसो अवस्थामा आयात गरिएको तरल तेललाई पुनः प्याकेजिङ गरेर मात्र निर्यात गरिएको समेत उनीहरूको भनाइ छ ।
विभागले एक लाख रुपैयाँभन्दा कम व्यापार गर्ने मुलुकलाई एउटैमा राख्दै आएको छ । यसरी हेर्दा १ सय ५७ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक विभागले सार्वजनिक गर्दै आएको छ । विश्वभरका ३५ मुलुकसँग नाफा र १ सय २० मुलुकसँग घाटाको व्यापार गर्दै आएको विभागको तथ्यांक छ । डेनमार्कसँग नेपालले नाफाको व्यापार गर्दै आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ११ करोड ९५ लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालले ६० करोड रुपैयाँको निर्यात गरेको छ । रोमानियाबाट ३ करोड वस्तु आयात गर्दा नेपालले ८ करोड रुपैयाँको निर्यात गरेको छ । नर्वे, आइसल्यान्ड, इराक, केन्या, साइप्रस, मोरिसस, फिजी, उरुग्वेलगायत मुलुकसँग नाफाको व्यापार गरिरहेको छ ।
नेपालले छिमेकी मुलुकसँग घाटाको व्यापार गर्दै आएको छ । सबैभन्दा बढी भारत र चीनसँग घाटाको व्यापार छ । चालु आर्थिक वर्षको ८ महिनामा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड १२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ५६ अर्ब ६६ करोड ४४ लाख रुपैयाँको वस्तु निर्यात गरेको विभागको तथ्यांक छ ।
भारतमा कच्चा भटमासको तेल, अलैंची, सूर्यमुखी तेल, ब्लिच नगरिएका जुट, पाम तेल, धागोलगायत सामग्री निर्यात गरिएको छ । भारतबाट डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन, कोइला, धानलगायत आयात भएको छ ।
चीनबाट २ खर्ब ६५ करोड ६६ लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालले ९८ करोड ३३ लाख रुपैयाँको मात्रै वस्तु निर्यात गरेको छ । चीनबाट स्मार्टफोन, डाइमोनियम हाइड्रोजन, रासायनिक मल, स्टिल तथा फलामका सामान, स्याउ, विद्युतीय सवारी आयात भएको छ । नेपालले भने गलैंचा, भान्साका सामग्री, फेल्ट र फर्निचरका सामग्री निर्यात गरेको छ ।
