सार्वजनिक बिदाको दिन २ हजारसम्म हुन्छन् अवलोकनकर्ता, अहिलेसम्म ६ लाख ५ हजार ३ सय ९१ जना आए
What you should know
काठमाडौँ — धरहरा सञ्चालनमा आएको १५ महिनामा ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म मात्र ५ करोड ९५ लाख रुपैयाँ राजस्व उठेको हो । अहिलेसम्म ६ लाख ५ हजार ३ सय ९१ जनाले धरहराको अवलोकन गरिसकेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइका प्रमुख महेश राई (एमटेन) ले जनाए ।
साताभर नै धरहरा खुला हुने गरेको छ । धरहरा अवलोकन गर्न चालु आर्थिक वर्षको फागुनसम्म ३ लाख ३० हजार ३ सय ९१ जना आएको राईको भनाइ छ । गत आर्थिक वर्षमा भने २ लाख ७५ हजार पर्यटकले धरहरा अवलोकन गरेका थिए । २०७२ सालको भूकम्पले नौतले धरहरा भत्किएको थियो । यसको पुनर्निर्माणपछि ९ मंसिर २०८१ बाट सर्वसाधारणका लागि खुला गरिएको थियो ।
‘मौसम र सिजन हेरेर अवलोकनकर्ता धरहरा आउने गरेका छन्,’ राईले भने, ‘सिजनमा १ हजार २ सयदेखि १ हजार ४ सयसम्म आउने र सार्वजनिक बिदाको दिन त एकै दिन २ हजारसम्म आउने गरेका छन् ।’ धरहराको पुनर्निर्माणको काम भने सकिसकेको छैन । भुइँतलाको काम नसकिँदै धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो । धरहराको मुख्य पुनर्निर्माणको काम लगभग सकिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक झप्परसिंह विश्वकर्माले बताए । उनका अनुसार धरहरा परिसरमा आँगन बनाउने र ‘म्युजियम’ को काम भइरहेको छ ।
‘पार्किङको केही भागमा लाइट जडान र जेड फ्यान जडान गरिसकिएको छ, परीक्षण गर्न बाँकी छ,’ विश्वकर्माले भने, ‘यी सबै काम चालु आर्थिक वर्षभित्र नै सकिन्छ ।’ धरहरा अवलोकन गर्न छुट्टाछुट्टै शुल्क तोकिएको छ । आन्तरिक पर्यटकका लागि दुई सय रुपैयाँ र उक्त शुल्कमा विद्यार्थी एवं वृद्धवृद्धाका लागि ५० प्रतिशत छुट रहेको राईको भनाइ छ ।
उनका अनुसार सार्क मुलुकबाहेकका देशबाट आउने पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साथै सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय रुपैयाँ शुल्क तोकिएको छ । ठूला चाडपर्वबाहेक अन्य समयमा धरहरा सधैं खुला रहन्छ । धरहरा बिहान ८ देखि राति ८ बजेसम्म खुला रहन्छ । काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच सम्झौता गरेर अहिले धरहराको ३ वटा बेसमेन्टमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
१५ असोज २०७५ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद पटकपटक थप्दा पनि नसकिएको हो । सुरु ठेक्का सम्झौताअनुसार निर्माण सकिनुपर्ने अवधि १४ असोज २०७७ मै थियो । पाँचौं पटक असोज २०८० सम्म म्याद थप गरिए पनि काम सकिएन ।
छैटौं पटक २० असोज २०८१ सम्मका लागि म्याद थपिएको थियो, तर पूरै काम सकिएको छैन । ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको हो । अहिले वैशाख ०८३ सम्म म्याद थप गरिएको छ । अहिलेसम्म ८५ प्रतिशत मात्र काम सकिएको छ ।
