यो अनुमतिसँगै करिब १४ करोड (१४० मिलियन) ब्यारेल कच्चा तेल विश्व बजारमा आउने अपेक्षा गरिएको छ ।
काठमाडौँ — अमेरिकाले बढ्दो तेलको मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप समुद्रमा रहेको इरानको तेल खरिद-बिक्री गर्न ३० दिनको अस्थायी अनुमति दिएको छ ।
अमेरिकाले जहाजहरूमा लोड गरिएका इरानी कच्चा तेल र पेट्रोलियम पदार्थहरूको बिक्री गर्न आगामी १९ अप्रिलसम्मका लागि अनुमति दिएको हो । यो अनुमतिसँगै करिब १४ करोड (१४० मिलियन) ब्यारेल कच्चा तेल विश्व बजारमा आउने अपेक्षा गरिएको छ । बढ्दो ऊर्जा मूल्य घटाउन र आपूर्तिमा आएको दबाब कम गर्न सहयोग पुर्याउने दाबी गरिएको छ ।
समुद्रमा रोकिएको इरानी तेल बिक्री गर्न सीमित र छोटो अवधिको अनुमति जारी गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
'प्रतिबन्धित इरानी तेल सस्तो मूल्यमा चीनले भण्डारण गरिएको छ। यो अस्थायी निर्णयबाट विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थपिनेछ, जसले ऊर्जा आपूर्ति बढाउन र इरानका कारण उत्पन्न अस्थायी दबाब कम गर्न सहयोग गर्नेछ,' उनले भनेका छन् । इरानकै तेल प्रयोग गरेर मूल्य नियन्त्रण गर्ने रणनीति अपनाइने समेत भनेका छन् ।
यो अस्थायी अनुमति शुक्रबारसम्म ढुवानी भइसकेका तेलका लागि मात्रै रहेको भन्दै अमेरिकी अर्थमन्त्री बेसेन्टले नयाँ खरिद वा उत्पादनलाई अनुमति नदिएको समेत प्रस्ट्याएका छन् ।
विश्व बजारमा थप ४४ करोड (४४० मिलियन) ब्यारेल तेल ल्याउने प्रयास गरिरहेकाले 'स्ट्रेट अफ हर्मुज' जलमार्गमा इरानले सिर्जना गरेको अवरोधहरूको प्रभाव घटाउने लक्ष्य राखेको समेत बताएका छन् । अमेरिकाले यसअघि रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको थियो ।
