अर्बौं डलर लगानीपछि बन्द हुने भयो मेटाभर्स

आगामी १५ जुनदेखि यो प्लाटफर्म मेटाका भर्चुअल रियालिटी उपकरणमा उपलब्ध हुनेछैन । यस परियोजनामा मेटाले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Metaverse to shut down after billions of dollars of investment

What you should know

काठमाडौँ — इन्टरनेट वा सामाजिक सञ्जालको भविष्य ‘मेटाभर्स’ नै हो भन्दै मार्क जकरबर्गले पाँच वर्षअघि फेसबुकको नामै फेरेर ‘मेटा’ बनाए भने मेटाभर्सका लागि अर्बौं डलर लगानीसमेत गरे । उनको परिकल्पनाअनुसार डिजाइन गरिएको मेटाभर्स यस्तो भर्चुअल दुनियाँ थियो, जहाँ मानिसले आआफ्नो अवतारमार्फत थ्रीडी स्पेसमा एकअर्कालाई भेट्ने, कुराकानी, काम वा अन्तरक्रियादेखि नाच्ने/गाउने, व्यापार–व्यवसाय सबैथोक गर्न सक्थे । तर यति बेला जकरबर्गले आफ्नो महत्त्वाकांक्षी मेटाभर्स परियोजना बन्द गर्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

मेटाले आफ्नो भर्चुअल रियालिटी (भीआर) सोसल प्लाटफर्म ‘होराइजन वल्डर््स’ बन्द गर्ने घोषणा गरेको हो । आगामी १५ जुनदेखि यो प्लाटफर्म मेटाका भर्चुअल रियालिटी उपकरणमा उपलब्ध हुनेछैन । यस परियोजनामा मेटाले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । सन् २०२० देखि मेटाको भीआर/एआर विभाग ‘रियालिटी ल्याब्स’ ले करिब ८० अर्ब डलर नोक्सानी बेहोरेको तथ्यांक छ । कम्पनीले सन् २०२६ को जनवरीमा सार्वजनिक गरेको चौथो त्रैमासिक प्रतिवेदनअनुसार उक्त एकै त्रैमासमा मात्रै रियालिटी ल्याब्सले ६.०२ अर्ब डलर घाटा बेहोरेको थियो । यस विभागले प्रतित्रैमास ४ अर्ब डलरको नोक्सानी बेहोर्ने गरेको कतिपय सञ्चारमाध्यमले जनाएका छन् । 

होराइजन वल्डर््स एपलाई मार्चको अन्त्यमा मेटाको क्वेस्ट स्टोरबाट हटाइने र १५ जुनदेखि भर्चुअल रियालिटी प्लाटफर्महरूमा उपलब्ध नहुने सीएनबीसीले जनाएको छ । पत्रकार लोला मूर्तिका अनुसार मेटाले अब आफ्नो प्राथमिकता मेटाभर्सबाट हटाएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित गरेको छ । ‘मेटाका लागि मेटाभर्स निकै महँगो बाजी बन्न पुग्यो,’ मूर्तिले लेखेकी छन्, ‘अब यो एप भीआर डिभाइसमा नभई मोबाइलमा मात्र सीमित रहनेछ ।’ मेटाले पछिल्ला ५ वर्षमा मेटाभर्सका लागि ८० अर्ब डलरभन्दा धेरै लगानी गरेको र रियालिटी ल्याब्सले सन् २०२० यता ७३ देखि ८० अर्ब डलर नै नोक्सानी बेहोरेको अनुमान छ । 

सन् २०२१ मा फेसबुकको नाम बदलेर मेटा राख्दा जकरबर्गले यस परियोजनाबाट १० वर्षभित्र अर्बौं प्रयोगकर्ता पुग्ने र सयौं अर्ब डलरको डिजिटल व्यापार हुने अपेक्षा गरेका थिए । तर, उनले सोचेअनुसार होराइजन वल्डर््सले प्रयोगकर्ता तान्न सकेन । यस प्लाटफर्ममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या केही लाखभन्दा बढी कहिल्यै पुग्न सकेन । मेटाका पूर्वकर्मचारी वसुमन मोजाले यो असफलताको भित्री कारण खुलासा गरेका छन् । उनका अनुसार व्यवस्थापकीय भूमिकामा रहेका कम्पनीका कतिपय कर्मचारी नै युवाहरूले होराइजन वल्डर््स प्रविधि कसरी प्रयोग गर्छन् भन्नेमा अनभिज्ञ थिए । यसै कारण डेभलपरहरूले बनाएका कतिपय उपयोगी टुल पनि प्रयोगमा नआएको मोजाको बुझाइ छ । 

सूचना प्रविधिसम्बन्धी समाचार सम्प्रेषण गर्ने ‘द भर्ज’ का पत्रकार जे पिटर्सले अघिल्लो महिना लेखेको समचारअनुसार मेटाले ‘सुपरन्याचुरल’ नामक भर्चुअल रियालिटी फिटनेस एपका लागि पनि नयाँ सामग्री बनाउन बन्द गरेको छ । कम्पनीले ‘मेटाभर्स फर वर्क’ परियोजनालाई पनि निरन्तरता नदिने भएको छ । मेटाले आफ्नो रियालिटी ल्याब्सका करिब १० प्रतिशत कर्मचारी कटौती गरेको र तीन वटा भीआर स्टुडियो बन्द गरेको पिटर्सले खुलाएका थिए । निष्कासित हुनेमा होराइजन वल्डर््सका लागि सामग्री बनाउने स्टुडियो ‘ओउरो इन्टरएक्टिभ’ का कर्मचारी पनि परेका थिए । मेटाभर्सका लागि होराइजन वल्डर््स, होराइजन वर्करुम्स, होराइजन भेन्युज, क्वेस्ट भीआर इकोसिस्टम, मेटा अभतार्स एन्ड भीआर एसडीकेजजस्ता एप एवं प्लाटफर्म विकास गरिएका थिए । 

‘भीआर हेडसेट प्रयोग गर्नेले तेस्रो पक्षका एपमा ८६ प्रतिशत समय बिताउने गर्छन्,’ पत्रकार पिटर्सको विश्लेषण छ, ‘यही कारण मेटाले आफ्नै एपहरू बनाउनुको साटो अब अन्य डेभलपरहरूलाई सहयोग गर्ने नीति लिएको छ । मेटाले अझै पनि नयाँ भीआर हार्डवेयर बनाउने योजना त्यागेको छैन र भविष्यमा आउने नयाँ हेडसेटहरूको मूल्य अहिलेको तुलनामा थप महँगो हुन सक्छ ।’ 

अब मोबाइल बजारमा ध्यान केन्द्रित गर्ने रियालिटी ल्याब्सकी उपाध्यक्ष सामन्था रायनले बताएकी छन् । मेटाले अब स्मार्टग्लास र नयाँ एआई मोडेलमा लगानी बढाउने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार जकरबर्गले एआईलाई नयाँ सामाजिक सञ्जालका रूपमा हेर्न थालेका छन् । यस परिकल्पनामा प्रयोगकर्ताहरूले एआईमार्फत बनाइएका गेम खेल्ने र ती गेम आफ्ना साथीहरूसँग सेयर गर्ने सुविधा हुन सक्छ । कम्पनीले हालै एआईमा आधारित सामाजिक सञ्जाल ‘मोल्टबुक’ खरिद गरेको छ । त्यसको टोलीलाई ‘सुपरइन्टेलिजेन्स ल्याब’ मा गाभ्न लागेको छ । मेटाको ‘एभोकाडो’ नामक नयाँ एआई मोडेल आन्तरिक परीक्षणमा असफल भएकाले यसको सार्वजनिक गर्ने समय भने पर सारिएको इन्डिया टुडेले लेखेको छ । मेटाको ‘रे–ब्यान्स’ स्मार्टग्लास भने अपेक्षाअनुसार नै सफल भएको उल्लेख गर्दै इन्डिया टुडेले यसको बिक्री ७० लाख नाघिसकेको जनाएको छ । एजेन्सीको सहयोगमा

कान्तिपुर

Link copied successfully