आार्थिक वर्ष २०८१/०८२ मा ६० अर्ब ९६ करोड २८ लाख रुपैयाँको मासु, १४ अर्ब ८२ करोड १३ लाख रुपैयाँको अन्डा, १० अर्ब २२ करोड ६८ लाख रुपैयाँको चल्ला र १ अर्ब ९ लाखको कुखुराको मल बिक्री भएको सर्वेक्षणमा उल्लेख छ ।
What you should know
काठमाडौँ — मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा व्यावसायिक कुखुरापालन भएको पाइएको छ । देशभर २२ हजार ९ सय ३८ फार्म/किसानले कुखुरापालन गरेको पाइएको व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ ले देखाएको छ ।
सर्वेक्षणअनुसार मासु उत्पादनकै लागि व्यावसायिक खेती गरिरहेको पाइएको छ । ‘कुल २२ हजार ९ सय ३८ फार्म/किसानमध्ये २१ हजार १ सय ४ ले मासु, १ हजार ७ सय ६ ले अन्डा र १ सय १८ ले चल्ला उत्पादन गर्दै आएका छन्,’ सर्वेक्षणमा उल्लेख छ । कुल फार्ममध्ये ७९.५ प्रतिशत पुरुष र २०.५ प्रतिशत मात्रै महिलाले सञ्चालन गरेको पाइएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ६० अर्ब ९६ करोड २८ लाख रुपैयाँको मासु बिक्री भएको सर्वेक्षणले जनाएको छ । उक्त आर्थिक वर्षमा १४ अर्ब ८२ करोड १३ लाख रुपैयाँको अन्डा, १० अर्ब २२ करोड ६८ लाख रुपैयाँको चल्ला र १ अर्ब ९ लाखको कुखुराको मल बिक्री भएको समेत सर्वेक्षणमा उल्लेख छ ।
कुखुरापालन पनि उद्योगकै रूपमा स्थापित भएको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक तीर्थराज चौलागाईंले बताए । ‘राम्रै उद्योगका रूपमा स्थापित भएको छ, सीमा क्षेत्रमा केही समस्या रहेछ,’ उनले भने, ‘भारतबाट सहजै रूपमा सस्तो मूल्यमा भित्रिँदा सीमा क्षेत्रका किसान तथा फार्मले आफ्नो उत्पादन बेच्न नसकेको सुनियो ।’
कुखुरा ४५ दिन हुँदा बजार पाएन भने बढी दाना खानेदेखि कम बिक्री हुने गरेकोसमेत पाइएको चौलागाईंले बताए । ‘माग र उत्पादन एउटै समयमा गर्न सकियो भने सहज हुने रहेछ,’ उनले भने, ‘ठूला फार्ममा कामदारको अभाव नभए पनि ससाना किसान तथा फार्ममा कामदार अस्थिर रहेको पाइयो ।’ कुखुरापालन व्यवसायलाई सरकारले नहेरेको गुनासो पाइएको उनको भनाइ छ ।
कुखुरापलान व्यवसाय सञ्चालन गर्नेमध्ये ६६.१ प्रतिशतमा मुख्य व्यवसाय नै कुखुरापलान रहेको सर्वेक्षणले जनाएको छ । कुखुरापालन व्यवसाय सञ्चालकको भावी योजनासम्बन्धी प्राप्त विवरणअनुसार नेपालमा ५५.७ प्रतिशत व्यवसायीले यथावत् सञ्चालन गर्ने, ३५ प्रतिशतले व्यवसायको क्षमता वृद्धि गर्ने, ३.२ प्रतिशतले उत्पादनको क्षमता घटाउने र ६.२ प्रतिशतले व्यवसाय बन्द गर्ने बताएको छ ।
कुखुरापालन व्यवसायको क्षमता कम वा व्यवसाय बन्द गर्नुका मुख्य कारणमध्ये बजारको अभावले ४५ प्रतिशत, पुँजीको अभावले २०.५, चल्लाको गुणस्तरमा कमीले ३.३, दानाको गुणस्तरमा कमीले २, व्यवस्थापनमा समस्याका कारणले ८.१, कामदारको अभाव, प्राविधिक सेवाको उपलब्धता नहुनुले २.३ र अन्य कारणले १६.८ प्रतिशत छ ।
सर्वेक्षणका अनुसार १० वर्षको अवधिमा कुखुरा फार्मको संख्या ४.४ प्रतिशतले वृद्धि भएको छ । २०७२ मा २१ हजार ९ सय ५६ किसान रहँदा २०८२ मा २२ हजार ९ सय २८ पुगेको छ । सर्वेक्षणका अनुसार सुदूरपश्चिममा कुखुरा फार्मको संख्यामा ६१.८ प्रतिशतले वृद्धि भएको छ । तर १० वर्षको अवधिमा लुम्बिनीमा १४.३ प्रतिशत र कर्णालीमा ३.६ प्रतिशतले कुखुरा फार्मको संख्यामा कमी आएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य वृद्धि देखिएको छ । व्यवसाय गर्दागर्दै विदेश पलायन हुने, ठाउँ सर्नेलगायत कारणले कमी देखिएको चौलागाईंले बताए । बागमतीमा अझै पनि नेपालको कुल कुखुरा फार्महरूको सबैभन्दा ठूलो हिस्सा ३४.४ प्रतिशत छ । यद्यपि १० वर्षको अवधिमा सामान्य गिरावट आएको सर्वेक्षणमा उल्लेख छ ।
