पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आइतबारदेखि

सम्मेलनमा लघुवित्तका उपलब्धि, समस्या र चुनौतिबारे छलफल हुनेछ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Fifth National Microfinance Members Conference from Sunday

What you should know

काठमाडौँ — लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्न आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन  हुने भएको छ ।

नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा ५ सयभन्दा बढीको सहभागिता रहने आयोजकले विहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

दुई  दिनसम्म चल्ने सम्मेलनमा लघुवित्तका विविध आयामहरुमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । जसअन्तर्गत ‘लघुवित्त सदस्यहरुको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’ लगायत विषयमा छलफल हुनेछ ।

विश्वका १७७ ओटा देशहरुमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरुको सम्मेलन नेपाल एकमात्र देश रहेको पत्रकार सम्मेलनमा  स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । ‘लघुवित्तका नीति निर्माता तथा नियामकहरुको सहभागितामा विश्व सम्मेलन, क्षेत्रिय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ’ उनले भने, ‘सदस्यहरुलाई सहभागिता गराई उनीहरुको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।’ सदस्यहरु नै लघुवित्तको अभिन्न अंग भएको र उनीहरुलाई केन्द्रविन्दुमा राखी सम्मेलन हुँदै आएको उनको भनाइ छ ।

स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । गरिवी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुले भूमिका खेल्दै आएका छन् ।

लघुवित्तले चुलोचौकोमा सिमित महिलाहरुलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको वच्चाहरुलाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरणहरु रहेको श्रेष्ठले बताए । तर, सरकारले लघुवित्त संस्थाहरुलाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांस बाड्ने होडबाजी चलेको, यसका लागि आवश्यक्ता भन्दा बढी ऋण दिदा विकृती बढाएको समेत उनले बताए ।

अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काचुली फेर्ने उनले दावी गरे ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन् । लघुवित्तहरुले वित्तीय सेवाका अलावा ‘क्रेडिट प्लस’ को सदस्यहरुको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न काम गरिरहेका छन् । यस्तै ‘थ्रि जिरो’ अवधारणा अन्तर्गत शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्य सहित युवाहरुको क्लव गठन गरी काम गरिरहेको छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्ममा ५२ ओटा लघुवित्त वित्तीय संस्थाहरुले देशभर ५ हजार शाखामार्फत संस्थाले ६२ लाख ८३ हजार सर्वसाधारणलाई लघुवित्त कार्यक्रममा आबद्ध गरेका छन् । जसमध्ये महिलाको संख्या ९५ प्रतिशत छ ।

२७ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ९५ अब भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully