स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिका लागि १५ दिन बन्द गरिँदै

चीन सरकारको अनुदानमा दुईवटा सडकको स्तरोन्नति र विस्तार, चक्रपथ दोस्रो खण्ड विस्तारले लिएन गति।

चैत्र ४, २०८२

विमल खतिवडा

Syafrubensi-Rasuwagadhi road to be closed for 15 days for upgrading

काठमाडौँ —  

चीन जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिका लागि १५ दिन बन्द गरिने भएको छ । भौगोलिक अवस्थाले गर्दा सडक बन्द गरेर काम गर्न लागिएको हो । १८ चैतदेखि १५ दिन सडक बन्द रहने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालय बिदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए ।

‘चिनियाँ पक्षले महिनाको १५ दिन सडक बन्द गर्नुपर्ने माग गरेका छन्,’ उनले भने, ‘एक/दुई महिनालाई १५–१५ दिन सडक बन्द गरेर काम गर्छौं ।’ गत असारको बर्खामा बाढीले तलबाट सडक कटान गरेको थियो । ‘केही–केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो,’ उनले भने, ‘अहिले सडक बन्द गरेर वाल लगाइनेछ ।’ 

चिनियाँ टोलीले क्याम्प खडा गरेर क्रसर प्लान्ट जडान थालेका छन् । ‘गिट्टीबालुवा निकाल्न क्रसर प्लान्ट राख्ने काम भएको छ,’ उनले भने, ‘सडक बन्द गरेर अब निर्माण अघि बढ्छ ।’ सडक बन्द भएपछि रसुवा भन्सार नाका पनि प्रभावित बन्नेछ । यो नाकाबाट अहिले तयारी वस्तु र निर्माणमा प्रयोग हुने सामानहरू आयात भइरहेको छ । 

नेपाल–चीन दुई देशका अधिकारीबीच सम्झौता भएको ७ वर्षपछि बल्ल स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति थालिएको हो । चीन सरकारको अनुदानमा स्तरोन्नति गर्ने गरी दुई देशका अधिकारीबीच सन् २०१९ मा कार्यान्वयन सम्झौता भएको थियो । तर अहिलेसम्म स्तरोन्नतिको काम सुरु हुन सकेको थिएन । गत १७ पुसदेखि चिनियाँ पक्षले निर्माणका लागि क्याम्प खडा गरेर काम अघि बढाएका हुन् । 

स्याफ्रुबेंसी–रसुवागढीसम्मको दूरी १५ दशमलव ५ किलोमिटर छ । सडक स्तरोन्नतिका लागि उतै ठेक्का गरेर चिनियाँ कम्पनी सिचाङ थियान्लु नेपाल आएको हो, जसको ठेक्का रकम साढे ६ अर्ब रुपैयाँ छ । निर्माण अवधि ३९ महिना तोकिएको छ । बीचमा निर्माण सामग्री र चीनबाट ल्याउने सामानमा कर छुट गर्नुपर्ने कुराले काम अघि बढ्न सकेको थिएन । यो स्वीकृत गराउन अर्थ मन्त्रालयबाट ६ महिना लागेको र स्वीकृत भएपछि चिनियाँ टोली काम गर्न आएका हुन् । 

सडक विभागका अनुसार निर्माणमा प्रयोग हुने ढुंगा, गिट्टी, बालुवामा कर छुट गराइएको हो । व्यापारिक नाकाका रूपमा चीनसँग जोड्ने यो सडक दुई लेनमा स्तरोन्नति गर्नुपर्ने हो । अहिले बाढीपहिरोले गर्दा सडक साँघुरो भएकाले रसुवागढी नाकाबाट तयारी वस्तु बोकेका मालवाहक सवारीसाधन जोखिम मोलेर स्याफ्रुबेंसीसम्म आइपुग्ने गरेका छन् । 

गत असारमा आएको बाढी र पहिरोले सडकका विभिन्न खण्डमा क्षति पुगेको छ । नेपाल–चीन जोड्ने ल्हेन्दे खोलाको पक्की पुल बाढीले बगाएपछि गत २४ असारबाट रसुवागढी नाका ठप्प बनेको थियो । करिब ६ महिनापछि १७ पुसबाट नाका सञ्चालनमा आएको थियो । ल्हेन्दे खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेसँगै नाका सञ्चालनमा आएको हो । बर्खापछि लामो समय ठप्प बनेको नाका फेरि सडक बन्द भएपछि लक्ष्य अनुसार राजस्व संकलन नहुने रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईले बताए । 

यस्तै, सरकारले निर्माण सामग्री र भन्सारबाट आउने सामानमा लाग्ने कर छुटको निर्णय गरे पनि चक्रपथ दोस्रो खण्ड विस्तारको कामले गति लिन सकेको छैन । १२ फागुनको मन्त्रिपरिषद् बैठकबाट चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा निर्माण सामग्रीमा लाग्ने कर छुट दिने निर्णय भएको हो । दुई देशका अधिकारीले कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर गरेपछि थप काम अघि बढ्ने सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । 

‘कर छुटको निर्णय भइसकेको छ । यो विषय समेटेर कागजात तयार पार्न परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावासलाई आग्रह गर्नुपर्ने भएकाले फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको छ,’ उनले भने, ‘अब मन्त्रालयले अर्थ हुँदै परराष्ट्र पठाउनेछ ।’ चिनियाँ टोलीले एक हरफ अंग्रेजी र त्यसपछि चिनियाँ भाषामा लेख्ने भएकाले विभागले त्यो गर्न नसक्ने भएर उता पठाउन लागिएको उनको भनाइ छ । 

‘अब धेरै समय लाग्दैन, कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर भएपछि डिजाइन टुंग्याएर ठेक्का प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘दुई साताभित्र हस्ताक्षर भइसक्छ, त्यसपछि डिजाइन आउँछ । त्यसलाई स्वीकृत गरेपछि ठेक्का प्रक्रिया अघि बढ्छ ।’ वैशाखभित्र ठेक्का प्रक्रिया टुंगिएर काम सुरु हुने अपेक्षा राखिएको उनले बताए । 

चक्रपथ दोस्रो खण्डको सर्भे गर्न गत ६ वैशाखमा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो । साढे दुई महिना लगाएर टोलीले डिजाइनका लागि सर्भेको काम गरेको थियो । ८.२ किलोमिटर दूरीमा सर्भे भए पनि त्यसअनुसार दूरी बसुन्धरा कल्भर्टसम्म नपुग्ने विभागले जनाएको छ । बसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तारको काम हुनेछ । डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीन वटा आकाशे पुल अपांगमैत्री बन्नेछन् ।

सीतापाइला, बालाजु र माछापोखरीको बीच तथा सामाखुसी र बसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि बसुन्धरा चोकसम्म सडक 

बत्ती सडक बिस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको छ । गत ६ भदौमा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि बसुन्धरासम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully