रोजगारी सिर्जना, उद्यमशीलता विकास र भौतिक पूर्वाधार विस्तारमार्फत समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने संघको प्रतिबद्धता छ ।
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकता महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका पहललाई प्राथमिकता दिएको छ । सम्मेलनले गैरआवासीय नेपालीको लगानी भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण तथा कानुनी सुधार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
रोजगारी सिर्जना, उद्यमशीलता विकास र भौतिक पूर्वाधार विस्तारमार्फत समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने संघको प्रतिबद्धता छ ।
चल तथा अचल सम्पत्तिको कारोबार, धितोपत्रमार्फत लगानी, बैंक खाता खोल्ने तथा लगानी फिर्ता लैजाने प्रक्रिया सहज बनाउन छुट्टै निकाय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । यसका लागि एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र मालपोतसम्बन्धी नियमावली संशोधन गर्नसमेत संघले अनुरोध गरेको छ ।
नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डबाट जारी हुने धितोपत्रको सीमा ४५ प्रतिशत अविलम्ब कायम गर्न पनि संघले माग गरेको छ । पश्चिम एसियाको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघले त्यहाँ रहेका नेपाली संकटमा परे राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य सुदृढ बनाउने जनाएको छ ।
विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारका पहल अघि बढाइने बताइएको छ । प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गरिने सम्मेलनले जनाएको छ ।
प्रवासमा रहेका नेपाली समुदायमार्फत नेपाली भाषा, कला, संस्कृति, परम्परा र पर्यटनको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई थप सशक्त बनाउने पनि सम्मेलनको प्रतिबद्धता छ ।
