खोरियामा उब्जाएको तरुलको आम्दानीले किसान मख्ख

हलो जातको तरुलको बीउ धादिङ र तनहुँबाट ल्याएर दामराङ, दाराङ, धिराङ, गर्लिङलगायतका कृषकलाई वितरण गरिएको थियो ।

चैत्र ३, २०८२

प्रताप विष्ट

Farmers are happy with the income from yams grown in Khoriya

What you should know

हेटौंडा — पहाडका खोरियामा उत्पादन भएका तरुल बिक्री गरेर रकम हात पर्न थालेपछि मकवानपुरको विकट क्षेत्रका बासिन्दा दंग छन् । यसअघि तरुल बिक्री गरेर कमाई हुन्छ भन्ने उनीहरुलाई मेसो थिइन् । व्यवसायिक उत्पादनबारे गाउँलेले चासो दिएका थिएनन् । अहिले तरुल बेचेर घर खर्च जोहो हुन थालेपछि मख्ख छन् । 

जिल्लास्थित विकट राक्सिराङ गाउँपालिका–७ दामराङका ६६ वर्षीय खैरसिंह चेपाङले एक साताअघि एकै पटक २० हजार ८ सय रुपैयाँको तरुल बिक्री गरे । गाउँबाटै १ सय ४ केजी हलो जातको तरुल बेचेका हुन् । प्रतिकिलो २ सय रुपैयाँमा बिक्री गरेको बताए । उनले उत्पादन गरेको तरुल बीउका लागि खरिद गरिएको हो ।पहिलोपटक तरुल बिक्री गरेर उनले २० हजार रुपैयाँ कमाएका हुन् ।

विकट क्षेत्रका बासिन्दाको खाद्य वस्तु प्रवर्द्धन गर्न र रैथाने बालीको संरक्षण गर्ने उद्देश्यले नेपाल लिटिल पावर सोसाइटीले तीन वर्षदेखि चेपाङ पहिचान तथा खाद्य प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हलो जातको तरुलको बीउ धादिङ र तनहुँबाट ल्याएर दामराङ, दाराङ, धिराङ, गर्लिङलगायतका कृषकलाई वितरण गरिएको थियो । 

दाराङका सोमलाल चेपाङले पनि ७० किलो भन्दाबढी तरुल बिक्री गरेका थिए । ७ जनाको परिवारले उपभोग गरेर बचेको तरुल बिक्री गरेको उनले बताए । उक्त क्षेत्रका चेपाङ समुदायले उत्पादन गरेको तरुल सोसाइटीले नै खरिद गर्दै आएको छ । यसरी खरिद गरेको तरुल बीउका रुपमा गाउँमा वितरण गर्ने गरिएको सोसाइटीका कार्यक्रमका संयोजक विशुमान चेपाङले बताए ।

संस्थाले बीउका लागि तरुल खरिद गरेर सोही गाउँका अन्य ७५ जना भन्दाबढी कृषकलाई वितरण गरेको उनले बताए । दामराङका खैरसिंहले सबैभन्दा बढी तरुल संस्थालाई बिक्री गरेको उनले जानकारी दिए । खैरसिंहले १० कठ्ठा जमिनको कान्ला र खोरियामा तरुल र सखरखण्ड लगाएका थिए । अझै तरुल र सखरखण्ड बिक्री गर्न बाँकी छ । 

केही वर्षयता स्थानीय स्तरमा लोप हुने अवस्थामा पुगेका तरुल, सखरखण्ड, पिडालुलगायतका जरेबालीको प्रवर्द्धनका लागि संस्थाले कार्य गरिरहेको संयोजक विशुमानले जानकारी दिए । रैथाने जरेबालीका उत्पादित खाद्य वस्तुहरु सोसाइटीले गाउँमै खरिद गरिदिने भएकाले यहाँका बासिन्दा खेतीमा आकर्षित भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ‘जरेबालीले कृषकको हातमा नगद पनि पर्ने र भोक पनि टार्न थाल्यो,’ उनले भने, ‘चेपाङ समुदायको जनजीविकासँग जोडिएको तरुल, गिठ्ठा सखरखण्ड, भ्याकुरजस्ता जमिनमूनि उत्पादन हुने खाद्यवस्तुको जगेर्नाका लागि समुदायलाई परिचालन गरिएको छ ।’

संस्थाको अध्ययनअनुसार उक्त क्षेत्रमा पाँच भन्दा बढी प्रजातिका तरुल फेला परेका छन् । तीमध्ये ‘हलो’ जातको तरुल छिटो उत्पादन हुने र स्वादिलो हुने भएकाले लोकप्रिय छ । तरुलको उत्पादन बृद्धि गरी चेपाङ समुदायको खाद्य सुरक्षामा टेवा पुर्‍याउने र परम्परागत खाद्यान्नको प्रबर्द्धन गर्ने कार्यलाई स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिएको सोसाइटीले जनाएको छ ।

करिब ४ सय घरधुरी रहेको उक्त वडामा शतप्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ । आफ्नो जमिनको उत्पादनले उक्त बस्तीका बासिन्दालाई तीन महिना पनि खान पुग्दैन । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully