राजपत्रमा आदेश आएसँगै इथानोलको गुणस्तर मापदण्ड र मूल्य निर्धारण प्रक्रिया सुरु

इथानोल उत्पादन गर्ने उद्योगलाई प्रवर्द्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न र पेट्रफलमा इथानोल मिश्रण गरी पेट्रोलको आयातलाई न्यूनीकरण गर्ने सरकारको लक्ष्य।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

The process of determining the quality standards and pricing of ethanol has begun with the order in the Gazette.

काठमाडौँ — सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२ राजपत्रमा प्रकाशन भएसँगै कार्यान्वयनमा आएको छ । पेट्रोल आयात घटाउन इथानोल मिश्रण गर्ने भनेर गत २१ पुसमा मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको थियो । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको दुई महिनापछि राजपत्रमा प्रकाशन भएको हो ।

स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न र पेट्रोलमा इथानोल मिश्रण गरी पेट्रोलको आयातलाई न्यूनीकरण गर्ने सरकारको लक्ष्य छ । आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताका आधारमा प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ । पेट्रोलमा इथानोलको मिश्रणको अनुपात हेरफेर मन्त्रिपरिषद्ले गर्न सक्नेसमेत आदेशमा उल्लेख छ । मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल, सडेगलेको अन्न, मर्चा (इस्ट) र अन्य आवश्यक रसायन नै इथानोलका कच्चा पदार्थ हुन् ।

खाद्यान्नका रूपमा प्रयोग हुने अन्नलाई इथानोल उत्पादनका कच्चा पदार्थका रूपमा प्रयोग गर्न नपाइनेसमेत आदेशमा उल्लेख छ । भविष्यमा खाद्य सुरक्षाको चुनौती हुने भन्दै निगमले यस्तो व्यवस्था गरेको हो । उद्योगले वातावरणमैत्री हुने गरी इथानोल उत्पादन गर्नुपर्ने र उत्पादित इथानोल निगमलाई मात्र बिक्री वितरण गर्नुपर्ने समेत आदेशमा भनिएको छ ।

इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गर्नेछ । नापतौल विभागले निर्धारण गरेको गुणस्तर कायम रहेको इथानोल मात्रै निगमले खरिद गर्नुपर्नेसमेत आदेशमा उल्लेख छ । निगमले पनि प्रत्येक ट्यांकरको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ ।

सरकारद्वारा सिफारिस समितिको सुझावमा प्रत्येक आर्थिक वर्ष सुरु हुनुअघि इथानोलको मूल्य निर्धारण हुनेछ । मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ । निर्धारित मूल्य प्रत्येक वर्ष १ साउनदेखि लागू हुनेछ ।

निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ । उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ । उद्योगले सम्झौता उल्लंघन गरे प्रचलित कानुनअनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था गरिएको छ । इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ । अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने प्रकृतिको इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्ने आदेशमा उल्लेख छ । मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ ।

सरकारले इथानोल मूल्य निर्धारण र उद्योगलाई सुविधा दिने सिफारिसका लागि समिति गठन गरेको छ । समितिको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव हुनेछन् भने अर्थ, कृषि, गुणस्तर तथा नापतौल विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल आयल निगमका प्रतिनिधि सदस्य रहनेछन् । समितिले मूल्य निर्धारण गर्दा प्राथमिक लागत, कारखाना शिरोभार लागत, प्रशासनिक तथा सञ्चालन खर्चलगायत आधारमा मूल्य निर्धारण गर्नेछ । 

आदेशअनुसार समितिले कच्चा पदार्थ लागत, कर छुट, सुविधा, राष्ट्रिय प्राथमिकता उद्योग मान्यता, उपकरण आयातमा कर छुट, कृषक र कृषि सहकारीलाई मल, बीज, विद्युत् महसुलमा सहुलियतलगायत विषयमा सिफारिस गर्नेछ । 

गुणस्तर मापदण्ड बनाउने काम नापतौल विभागले गर्ने निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए । ‘आदेश राजपत्रमा आयो । अब गुणस्तर मापदण्ड बनाउने काम नापतौलले गर्छ, निगम पनि त्यसमा सहयोगी हुन्छ,’ उनले भने, ‘मूल्यका लागि समिति र त्यसका अधिकारबारे आदेशमै छ । सम्बन्धित निकायलाई प्रतिनिधिको नाम पठाउन अब पत्र पठाउँछौं ।’

समितिले प्रतिलिटर इथानोलको मूल्य तोकेर सरकारलाई सिफारिस गर्ने र सोही निर्णयअनुसार मूल्य तय हुने भट्टले बताए । मूल्य तय भएपछि निगमले एक वर्षका लागि तोकिएको मूल्यमा कति परिमाण इथानोल दिन सक्ने भनेर सूचना निकाल्नेसमेत उनले जनाए । ‘बिक्रीकर्ता नभई उत्पादकले मात्रै त्यसमा आवेदन दिन पाइनेछ,’ उनले भने ।

भट्टका अनुसार हालसम्म इथानोल उत्पादन गर्ने उद्योग स्थापना भइसकेको छैन । चिनी उद्योगबाट इथानोल उत्पादन गर्न डिस्टिलरी प्लान्ट मात्रै स्थापना गर्नुपर्ने उनले बताए । सिमल तरुलबाट इथानोल उत्पादन गर्नसमेत केही उद्योगी उद्योग स्थापना गर्न तयार रहेको भट्टको भनाइ छ । इथानोल मिश्रित पेट्रोल प्रयोग गर्दा प्रदूषणमा ४५ प्रतिशत कमी आउने निगमले जनाएको छ । सबैभन्दा बढी पेट्रोल अमलेखगन्ज डिपोबाट खरिदबिक्री हुने भएकाले सुरुमा इथानोल मिश्रण त्यहाँबाट सुरु गरिने भट्टको भनाइ छ ।

कच्चा पदार्थका लागि १२ वटा पालिकासँग मिलेर सिमल तरुलको खेती सुरु गरिएको कियान केमिकल इन्डस्ट्रिज प्रालिका अध्यक्ष वेदप्रसाद खरेलले बताए । ‘हामीले उद्योग स्थापनाका लागि खरिद गरिसकेका छौं, अब सरकारले मूल्य तय गरेर लगानी गर्दा खेर जाँदैन भन्ने वातावरण बनाइसकेपछि मेसिन आयात गर्छौं,’ उनले भने, ‘उद्योग स्थापनाका लागि ६ महिनादेखि १ वर्ष समय लाग्छ ।’

इथानोलको अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै अनुमति लिइसकेको समेत उनको भनाइ छ । वार्षिक दुई पटक उत्पादन दिने सिमल तरुलको बीउ ल्याएकोसमेत उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully