टाइमले आइतबार सन् २०२६ का लागि विश्वका उत्कृष्ट स्थानहरूको सूची सार्वजनिक गरेको हो ।
काठमाडौँ — विश्वप्रसिद्ध टाइम म्यागजिनले मनाङको माउन्टेन लजलाई विश्वकै उत्कृष्ट ठाउँको सूचीमा राखेको छ । टाइमले आइतबार सन् २०२६ का लागि विश्वका उत्कृष्ट स्थानहरूको सूची सार्वजनिक गरेको हो ।
टाइमले विश्वभरका भ्रमण गर्न र बस्न योग्य १०० उत्कृष्ट तथा असाधारण गन्तव्यको सूची सार्वजनिक गरेको हो ।
माउन्टेन लज-मनाङलाई बस्नका लागि विश्वका उत्कृष्ट स्थानहरू मध्ये एकका रूपमा मान्यता दिइएको छ। शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यस लजले उत्तरी अन्नपूर्ण क्षेत्रमा पर्यटक गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको पनि टाइमले उल्लेख गरेको छ ।
यहाँ पुग्ने पाहुनाहरूले आराम, शैली र बेस क्याम्पबाट हिमाली भू-दृश्य, दिनभरिका पदयात्रा र सांस्कृतिक अनुभवहरूको अद्भुत अनुभव लिन सक्ने पनि टाइमको भनाइ छ ।
मनाङ लज ३५ सय मिटरको उचाइमा रहेको छ । 'याकको बथान र मरस्याङ्द नदी उपत्यकामाथि अवस्थित, माउन्टेन लजेस अफ नेपालको १४ कोठा भएको ढुंगाले बनेको मनाङ लज यस क्षेत्रमा पहिलो उच्चस्तरीय आवास हो,' टाइमले लेखेको छ ।
