वीरगन्ज भन्सारले राजश्व असूलीको लक्ष्य भेटेन

भन्सार कार्यालयको तथ्यांक अनुसार फागुन महिनामा लक्ष्यको तुलनामा करिब ९० दशमलव ०८ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

चैत्र १, २०८२

शंकर आचार्य

Birgunj Customs fails to meet revenue collection target

पर्सा — मुलुककै सबैभन्दा ठूलो भन्सार नाका मानिने वीरगन्जस्थित वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन महिनामा पनि तोकिएको राजस्व असुली लक्ष्य पूरा गर्न सकेन ।

भन्सार कार्यालयको तथ्यांक अनुसार फागुन महिनामा लक्ष्यको तुलनामा करिब ९० दशमलव ०८ प्रतिशत मात्र राजस्व संकलन भएको छ।

भन्सारले फागुन महिनामा २१ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर महिनाभरिमा लक्ष्यअनुसार राजस्व उठ्न नसक्दा झण्डै १० प्रतिशत कम अर्थात १९ अर्ब ३४ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । दैनिक संकलनको विवरण हेर्दा केही दिन उल्लेख्य राजस्व उठे पनि अधिकांश दिन लक्ष्यअनुसार संकलन हुन नसकेको देखिन्छ।

फागुनका केही दिन तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको देखिए पनि धेरै दिन संकलन न्यून स्तरमै सीमित रहेको छ।

आयात–निर्यात जाँच प्रक्रियाको लेन वितरण हेर्दा रेड लेनबाट ७४ दशमलव ४८ प्रतिशत, एलो लेनबाट २१ दशमलव ८८ प्रतिशत र ग्रीन लेनबाट ३ दशमलव ६५ प्रतिशत सामान जाँचपास भएको देखिएको छ। रेड लेनमार्फत धेरै सामान जाँचपास हुँदा विस्तृत जाँच प्रक्रिया अपनाइने भएकाले क्लियरन्स प्रक्रिया केही ढिलो हुन जान्छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह बिष्ट अर्थतन्त्रमा देखिएको सुस्तता, आयातमा आएको कमी तथा केही प्रमुख वस्तुको आयात घटेकाले राजस्व असुली लक्ष्यअनुसार हुन नसकेको बताउँछन् ।

पछिल्ला महिनामा सवारी साधन, औद्योगिक कच्चा पदार्थ तथा उपभोग्य वस्तुको आयात घटेकाले त्यसको प्रभाव भन्सार राजस्वमा परेको छ । वीरगन्ज भन्सार मुलुककै सबैभन्दा ठूलो राजस्व संकलन गर्ने नाका हो। यहाँको असुली लक्ष्यभन्दा कम हुँदा समग्र सरकारी राजस्व संकलनमा समेत प्रभाव पर्ने गरेको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully