बजारमा विद्युतीय चुलो किन्ने र बुझ्न आउनेहरू बढे

पश्चिम एसियामा बढेको तनावसँगै पेट्रोलियम पदार्थको अभाव खट्किने देखेर बजारमा विद्युतीय चुलो मात्र होइन, तिनका भाँडाकुँडा र राइस कुकर खरिदकर्ता पनि अन्य समयको तुलनामा बढेका छन्

फाल्गुन ३०, २०८२

सीमा तामाङ

The number of people coming to the market to buy and understand electric stoves has increased.

काठमाडौँ — पश्चिम एसियामा जारी युद्धपछि भारतसँगै नेपालमा समेत उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहेका छन् । केही दिनदेखि ग्यास खरिद गर्नकै लागि उपभोक्ता सिलिन्डर लिई लाइनमा बसिरहेका छन् । तर नेपाल आयल निगमले भने कृत्रिम अभाव सिर्जना गरेको दाबी गर्दै आएको छ । आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै निगमले आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने भनिसकेको छ ।

उता भारत सरकारले ग्यास अभाव नरहेको र नियमित जसरी ग्यास बिक्रीवितरण भइरहेको बताएको छ । यसैबीच ग्यासको अभाव जटिल हुने भन्दै उपभोक्ताले विद्युतीय चुलोबारे सोधखोज गर्न थालेका छन् । खुद्रा तथा होलसेल पसलमा मात्र नभई सरकारी निकायअन्तर्गतका व्यापार कम्पनीमा समेत विद्युतीय चुलोको माग बढेको उनीहरू बताउँछन् ।

पछिल्लो समय विद्युतीय चुलोबारे सोधखोज गर्नेहरू बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रादेशिक कार्यालय, थापाथलीकी प्रमुख धर्मकुमारी राजवंशीले जनाइन् । अहिलेसम्म सरकारी निकाय वा कुनै व्यक्तिले अर्डर गरेअनुसार ल्याएर बिक्री गर्ने गरेको उनले सुनाइन् । केही दिनअघिसम्म बाल्ट्रा कम्पनीको विद्युतीय चुलो ४२ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन् । ‘युद्धका कारण ग्यासको अभाव भएको भन्दै अहिले विद्युतीय चुलोबारे सोध्न आउने बढेका छन् । पहिला सरकारी निकायका लागि चुलो ल्याउँथ्यौं, अहिले अरू उपभोक्ता पनि आइरहेका छन्,’ उनले भनिन् ।

शंखमूलका न्यौपाने बिजुली पसलका सञ्चालकले समेत विद्युतीय चुलो र त्यसका भाँडाकुँडा खोज्न आउने उपभोक्ता बढेको बताए । विद्युतीय चुलो, तिनका भाँडाकुँडा र राइस कुकर खरिदकर्ता अन्य समयको तुलनामा बढेको ती सञ्चालकको भनाइ छ । ‘ग्यास नपाउने भएर होला । अहिले सोध्न आउने र किन्न आउनेको भीड बढेको छ,’ ती सञ्चालकले भने ।

इरान–इजरायल युद्धका कारण इन्धन आपूर्तिमा अस्थिरता हुँदा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको सरोकारवाला बताउँछन् । अहिलेको अवस्थामा विद्युतीय चुलो वैकल्पिक उपाय हुन सक्ने विज्ञहरूको धारणा छ । मुलुक ग्यास र पेट्रोलियम पदार्थ पूर्ण रूपमा परनिर्भर छ । यस्तो अवस्थामा मुलुककै आन्तरिक स्रोतको उपयोग गर्न विद्युतीय चुलो उपयुक्त विकल्प हुन सक्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले जनाए ।

‘ग्यासको विकल्पमा दाउरा, विद्युतीय चुलो तथा सामग्रीको प्रयोग बढाउन सकिन्छ,’ उनले भने, ‘दाउराका पनि बेफाइदा होलान् । बिजुली पुगेको ठाउँमा विद्युतीय चुलोको प्रयोग बढाउन सक्छौं ।’ ग्यासमा परनिर्भरता घटाउन विद्युतीय चुलोको प्रयोग बढाउन पालिकाहरूले भूमिका खेल्नुपर्ने भट्टको भनाइ छ ।

२०७२ को भूकम्प र त्यसपछि भारतको अघोषित नाकाबन्दीको समयमा ग्यास अभाव भएपछि इन्डक्सन चुलोको खपत केही बढ्न थालेको थियो । नाकाबन्दीको समयमा चीन सरकारले नेपाललाई १० हजार थान इन्डक्सन चुलो उपलब्ध गराएकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिगोटा ४ हजार रुपैयाँमा बेचेको थियो । तुलनात्मक रूपमा विद्युतीय चुलोको प्रयोग बढे पनि गुणस्तरीय बिजुली नहुँदा उपभोक्ताले ग्यास र चुलो दुवै राख्न थालेका छन् । अर्कोतिर ग्यासमा लगानी गरिसकेकाले उपभोक्ता विद्युतीय चुलो र त्यसका भाँडाकुँडामा लगानी गर्न हिचकिचाइरहेका पनि छन् ।

भन्सार विभागकै सात महिनाको तथ्यांकले पनि विद्युतीय चुलोको आयात बढिरहेको देखाउँछ । गत आर्थिक वर्षको सात महिनामा १ लाख ११ हजार ६ सय थान विद्युतीय चुलो आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ३२ हजार थान इन्डक्सन चुलो आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सात महिनामा २२ करोड ५५ लाख ५६ हजार रुपैयाँको १ लाख ११ हजार ६ सय थान इन्डक्सन आयात गरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा २१ करोड ५४ लाख ७ हजार रुपैयाँको १ लाख ३२ हजार थान इन्डक्सन आएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा ७ करोड ७ लाख ६३ हजार रुपैयाँको ३८ हजार ६ सय ९१ थान इन्फ्रारेड आयात हुँदा गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड १८ लाख १० हजार रुपैयाँको ३९ हजार ९ सय थान इन्फ्रारेड चुलो भित्रिएको छ । चालु आर्थिक वर्षको सात महिनामा ४० लाख ४१ हजार रुपैयाँको ९ सय १० थान अन्य किसिमका विद्युतीय चुलोसमेत आयात भएको विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ५० लाख ४० हजार रुपैयाँको १ हजार ६० थान अन्य विद्युतीय चुलो आयात गरिएको थियो ।

सरकारले विद्युतीय चुलोको प्रयोग बढाउन भन्सार छुट दिँदै आएको छ । आर्थिक वर्ष २०७८/७९ यता भन्सार दर १ प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत छ । आयातित विद्युतीय चुलोमा भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेर यस्तो नीति अघि सारिएको सरकारले बताउँदै आएको छ । तर करको दर घटाए पनि उपभोक्ताले त्यो सुविधा पाउन सकेका छैनन् ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमार्फत इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार दर ४ प्रतिशत विन्दुले घटाएको थियो । यसअघि इन्डक्सनको आयातमा ५ प्रतिशत भन्सार लाग्ने गरेको थियो । यसरी भन्सार घटाउनुको उद्देश्य विद्युत् खपत बढाउनु रहेको सरकारले बताउँदै आएको थियो । खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने भन्दै सरकारले भन्सार घटाएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा इन्डक्सनजस्ता विद्युतीय सामग्रीका लागि १५ प्रतिशत भन्सार दर रहेकामा आर्थिक वर्ष २०७७/७८ मा त्यसलाई १० प्रतिशत विन्दुले घटाएर ५ प्रतिशतमा झारिएको थियो । तीन आर्थिक वर्षमा मात्र इन्डक्सन र इन्फ्रारेड स्टोभमा १४ प्रतिशत विन्दुले भन्सार घटेर अहिले १ प्रतिशत मात्रै कायम गरिएको छ ।

सरकारले भन्सार छुट दिए पनि बिजुलीको विश्वसनीयता नहुँदा प्रयोग बढ्न सकेको छैन । बिजुली एक पटक पनि निभ्दैन भन्न नसकिए पनि पछिल्लो समय बिजुलीको गुणस्तर र विश्वसनीयता बढिरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । ‘बिजुलीको विश्वसनीयता बढिरहेकाले विद्युतीय सामग्रीको प्रयोग पनि बढेको देखिन्छ, अहिले जाडो महिनामा जस्तो बिजुलीको माग बढेको देखिन्न तर नदेखिने गरी केही बढेकै छ,’ शाक्यले भने, ‘अहिले पिक समयमा ४ सय मेगावाट जति माग छ । जाडो महिनामा ६ सय मेगावाट हुन्थ्यो ।’

मुलुकमै उत्पादित स्वच्छ ऊर्जाकै प्रयोग बढाउन विद्युतीय चुलोको प्रयोग गर्नसमेत उनले आग्रह गरे । ‘तराईमा बिजुलीको माग तुलनात्मक रूपमा बढेको देखिन्छ,’ उनले भने, ‘यसमा विद्युतीय उपकरणहरूकै प्रभाव हुन सक्छ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully