नेपाल-भारत विद्युत् आदान–प्रदान समितिद्वारा सन् २०२६ को लागि बिजुलीको मूल्य तय

बैठकले सन् २०२५ को तुलनामा सन् २०२६ का लागि बिजुलीको मूल्य १.५ प्रतिशत मात्र वृद्धि गरेको हो ।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

Nepal-India Electricity Exchange Committee sets electricity prices for 2026

What you should know

काठमाडौँ — नेपाल–भारत विद्युत् आदान–प्रदान समिति (पीईसी) को १७औं बैठकले सन् २०२६ का लागि बिजुलीको मूल्य तय गरेको छ । बैठकले सन् २०२५ को तुलनामा सन् २०२६ का लागि बिजुलीको मूल्य १.५ प्रतिशत मात्र वृद्धि गरेको हो ।

बैठकले १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युत्‌को दर प्रतियुनिट ८.२२ भारु (१३ रुपैयाँ १५ पैसा), ३३ केभीमा प्रतियुनिट ८.९१ भारु (११ रुपैयाँ ५८ पैसा) तथा ११ केभी स्तरमा प्रतियुनिट ९.५५ भारु (१५‍ रुपैयाँ २८ पैसा) कायम गरेको हो । विद्युत् खरिद दरको संरचनासम्बन्धी विषयमा आगामी वर्ष पुनः विस्तृत समीक्षा गरी छलफल गर्नेछ ।

बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले नेतृत्व गरेका थिए भने भारतको तर्फबाट केन्द्रीय विद्युत् प्राधिकरणका बोर्ड सदस्य  विजयकुमार सिंहले गरेका थिए । 

सन् २०२५ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको मूल्य प्रतियुनिट ८.१ भारु (१२ रुपैयाँ ९६ पैसा) तोकिएको थियो । ३३ केभी प्रसारण लाइनमार्फत हुने बिजुली मूल्य प्रतियुनिट दर ८.७८ भारु (१४ रुपैयाँ ०४ पैसा) र ११ केभी प्रसारण लाइनमार्फत आयात निर्यात हुने विद्युत्‌को प्रतियुनिट दर ९.४१ भारु (१५.०५ रुपैयाँ) तोकेको थियो । त्यतिबेला महँगो दरमा सहमति गरेको भन्दै तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरण सोधेका थिए ।

बैठक फागुन २८ र २९ मा पोखरामा सम्पन्न बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर संजीव राय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको उपस्थिति थियो ।

आगामी चैत-वैशाख महिनामा पर्ने सुख्खा मौसममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत् आयात गरिरहेको छ र सुख्खा मौसममा ऊर्जा माग बढ्दै जाँदा उक्त परिमाण अझ बढ्नेछ ।

नेपाल र भारतबीच विद्युत् आदान–प्रदानका लागि पीईसीमार्फत विद्युत् खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको यो संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको एक महत्त्वपूर्ण आधारका रूपमा स्थापित भएको पनि प्राधिकरणको भनाइ छ । बैठकले आगामी एक वर्षका लागि विद्युत् खरिद दर निर्धारण गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रेदेव शाक्यले जनाए ।  

प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत् खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो । 

वार्ताका क्रममा भारतको पक्षबाट विद्युत् उत्पादन तथा आपूर्तिसँग सम्बन्धित लागतमा वृद्धि भएको उल्लेख गर्दै विद्युत् खरिद दरमा ५.५ प्रतिशत वृद्धि गरिनुपर्ने प्रस्ताव राखिएको थियो । नेपालको पक्षबाट भने भारतीय विद्युत् बजारको अध्ययन तथा उपलब्ध बजार सूचकांकका आधारमा हालको बजार दर अपेक्षाकृत कम रहेको उल्लेख गर्दै दर वृद्धिको आवश्यकता नरहेको तर्क प्रस्तुत गरिएको थियो ।

कान्तिपुर

Link copied successfully