व्यवसायीहरूलाई कानुनी कठोरता भन्दा सहजीकरणमा जोड दिनुपर्ने बताउँदै गभर्नर पौडेलले साना गल्तीमा कडा कारबाही गर्नुको सट्टा व्यवसायलाई पुनः उठ्ने अवसर दिनुपर्ने बताए।
What you should know
पर्सा — गभर्नर विश्वराज पौडेलले निजी क्षेत्रको मागप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ५० औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैंकहरूलाई अब केबल धितोमा आधारित नभई उत्पादनशील र राजस्व सुनिश्चित हुने क्षेत्रमा लगानी केन्द्रीत गर्न निर्देशन दिइएको बताए ।
व्यवसायीहरूलाई कानुनी कठोरता भन्दा सहजीकरणमा जोड दिनुपर्ने बताउँदै पौडेलले साना गल्तीमा कडा कारबाही गर्नुको सट्टा व्यवसायलाई पुनः उठ्ने अवसर दिनुपर्ने बताए । पौडेलले कालोसूचीको संख्या घटाउने तथा चेक बाउन्स जस्ता विषयमा व्यावहारिक लचकता अपनाउने विषयमा पनि राष्ट्र बैंकले काम गरिरहेको जानकारी दिए ।
मधेस प्रदेशको बैंकिङ अवस्थाबारे बोल्दै उनले प्रदेशमा ३ सय ९७ अर्ब रुपैयाँ निक्षेप र ४ सय ८३ अर्ब कर्जा प्रवाह रहेको तथ्यांक प्रस्तुत गर्दै पर्सा जिल्ला लगानीका लागि आकर्षक क्षेत्रका रूपमा देखिएको बताए ।
सहभागी उद्योगी–व्यवसायीहरूले बजारमा फसेको उधारो रकम उठाउन ‘उधारो कानुन’ ल्याउनुपर्ने माग गरेका छन् । नेपालको वर्तमान आर्थिक अवस्था र नीतिगत सुधारका विषयमा छलफल गर्दै व्यवसायीहरूले बजारमा ठूलो परिमाणमा उधारो रकम फसेका कारण निजी क्षेत्र समस्यामा परेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुबोध गुप्ता र मधेस प्रदेशका पूर्वअध्यक्ष गणेश लाठले खराब कर्जा बढ्नुको एउटा प्रमुख कारण बजारमा उधारो रकम नउठ्नु रहेको तर्क गरे ।
नेपाल भारत सहयोग मन्चका अध्यक्ष तथा संघका पूर्व अध्यक्ष अशोक वैद्यले मूल्य अभिवृद्धि कर, भन्सार महसुल, आयकर तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा लिखित सुझाव पनि गभर्नर पौडेललाई दिएका छन् ।
संघका अध्यक्ष हरिप्रसाद गौतमले मुलुकले भोगिरहेको आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायीहरूले गम्भीर समस्या सामना गरिरहेको बताए । उनले अल्पकालीन समाधानले मात्रै अर्थतन्त्र सुधार नहुने भन्दै सरकारले समग्र आर्थिक नीतिको पुनः समीक्षा गर्नुपर्नेमा जोड दिए ।
तराईका औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै उनले स्वदेशी उद्योग संरक्षण र वैदेशिक लगानी प्रोत्साहन गर्ने स्पष्ट नीति तथा कानुन आवश्यक रहेको बताए । कठोर श्रम ऐन, झन्झटिलो प्रशासनिक प्रक्रिया र अव्यवहारिक कानुनी व्यवस्थाका कारण वैध व्यवसायी मारमा परेको उनको भनाइ थियो ।
साधारणसभामा सबैभन्दा बढी निर्यात गर्ने उद्योग तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगतर्फ डाबर नेपा प्रालि, जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङ मिल्सलाई सम्मान गरिएको थियो ।
तेस्रो मुलुकतर्फ निर्यात गर्ने उद्योगतर्फ त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्टिल र नारायणी लेदर म्यानुफ्याक्चरिङ प्रालिलाई सम्मान गरिएको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याएकी उर्मिला लामा तथा सामाजिक संस्थातर्फ रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवलगायतलाई पनि सम्मान गरिएको थियो ।
