यसअनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४६.७८ अंकले घटेर २ हजार ७ सय ९६.५७ अंकमा झरेको छ । जबकि मंगलबार ३२.०८ अंकले घटेर नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको थियो ।
काठमाडौँ — निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजारमा उछाल देखिए पनि त्यो एक दिन पनि टिकेन । गत सोमबार बजार १६२ अंकले बढ्दा समग्र नेप्से २ हजार ८ सय ७५.४३ अंकमा पुगेर बन्द भएको थियो । तर, त्यसयता निरन्तर उच्च अंकले सेयर बजार ओरालो लागिरहेको छ ।
यसअनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४६.७८ अंकले घटेर २ हजार ७ सय ९६.५७ अंकमा झरेको छ । जबकि मंगलबार ३२.०८ अंकले घटेर नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको थियो ।
बुधबार पनि बजारले मंगलबारकै प्रवृत्ति पछ्याउँदा नेप्से भारी अंकले घटेको हो । मंगलबारको तुलनामा बुधबारको नेप्से १.६४ प्रतिशतले कम हो । गत सोमबार उच्च अंकले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (प्रोफिट बुकिङ) गर्न थालेपछि मंगलबार र बुधबार नेप्से उच्च अंकले घटेको विश्लेषकहरूको दाबी छ ।
सो दिन कारोबारमा आएका ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, २२५ वटाको घट्यो । बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यद्यपि घटेको बजारमा पनि ३४ वटा कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । ती कम्पनीको सेयर मूल्य बढेपछि सेयरधनीको सम्पत्तिको मूल्य बढेका रूपमा विश्लेषण गरिएको हो । जसअनुसार सालपा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९६ र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३३ प्रतिशतले बढ्यो ।
बुधबार २२५ वटा कम्पनीका सेयरधनीले नोक्सान बेहोरे । यी कम्पनीको सेयर मूल्य घटेपछि लगानीकर्ताको सम्पत्तिको मूल्य पनि खुम्चिएको छ । यसअनुसार कालिका पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ र पञ्चकन्यामाई हाइड्रोपावरको ५.७७ प्रतिशतले घटे । सो दिन ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
बुधबार १ लाख १५ हजार ५ सय ५५ वटा कारोबारबाट ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब १८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाको कारोबार रकम पनि घटेको हो । मंगलबार २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
एकै दिन यति धेरै सेयर कारोबार भएको यो ११ साउन २०८२ यताकै उच्च हो । सो दिन सेयर बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता एकै दिन यति धेरै रकमको कारोबार भएको थिएन । मंगलबारको तुलनामा बुधबार कारोबार रकमसँगै कारोबार संख्या, कारोबार सेयर कित्ता सबै घटे । मंगलबार २ लाख ५ हजार ६ सय ११ वटा कारोबारबाट ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता सेयर किनबेच भएको थियो ।
बुधबार कारोबारमा आएका मध्ये १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि नेप्सो दोहोरो अंकले घटेको हो । सामूहिक लगानी कोषको परिसूचक भने ०.३४ प्रतिशतले सकारात्मक छ । बुधबार बैंकिङ उपसमूहको परिसूचक १.८२, विकास बैंकको १.६१, वित्त कम्पनीको २.०८, होटल तथा पर्यटनको १.५६, जलविद्युत्को ०.७१, लगानीको १.८७, जीवन बिमाको १.९८, उत्पादन तथा प्रशोधनको १.४३, लघुवित्तको १.६४, निर्जीवन बिमाको ०.९७, अन्यको १.८३ र व्यापारको ३.४० प्रतिशतले घटेको नेप्सेको तथ्यांक छ ।
