दुवै खण्डका योजना कार्यालयले सडक कालोपत्रको कामलाई पहिलो प्राथमिकतामा राखेका छन् । काँकडभिट्टा–लबिपुर खण्डको कुल दूरी ९५.७६ किलोमिटर छ ।
What you should know
काठमाडौँ — काँकडभिट्टा–लौकही सडक विस्तार थालेको २५ महिना पुग्दा प्रगति ४० प्रतिशत पनि कट्न सकेको छैन । समग्रमा निर्माण प्रगति ३२ प्रतिशत मात्र छ । यसलाई सडकतर्फ तीन र पुलतर्फ दुई प्याकेज बनाएर ठेक्का गरिएको छ । तर सडक र पुल दुवैमा सोचेअनुरूपको प्रगति छैन ।
निर्माण सुरु भएको लामो समय बित्दा बल्ल बिजुलीका पोल सार्ने, खानेपानीका पाइप हटाउने काम हुँदै छ । दुवै खण्डका योजना कार्यालयले सडक कालोपत्रको कामलाई पहिलो प्राथमिकतामा राखेका छन् । काँकडभिट्टा–लबिपुर खण्डको कुल दूरी ९५.७६ किलोमिटर छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्ड पहिलो प्याकेजमा पर्छ । जसको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । इभ्रास्कन अजरबैजनको कम्पनी हो । यस खण्डको सम्झौता रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ । सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भएको हो । तर, निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको हो । कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ । सडकतर्फ अहिलेसम्म निर्माण प्रगति ३७ प्रतिशत रहेको काँकडभिट्टा–लौकही सडक योजना, पूर्वी खण्ड, दमकका प्रमुख सुनीलबाबु पन्तले बताए ।
‘अहिले पहिलो तहको कालोपत्रको काम भइरहेको छ, जसमा सडकको बायाँतर्फ मात्र ३ हजार २ सय ५५ मिटर, दायाँतर्फ १ हजार ३ सय ६० मिटर छ, दुवैतर्फ गरेर ४ हजार ५ सय ९५ मिटर सडक कालोपत्र भएको छ,’ पन्तले भने, ‘ठेक्का भएको सबै ठाउँमा काम भइरहेको छ ।’ सडकतर्फ बेस, सब बेस राख्ने, कल्भर्ट, पुल र कालोपत्र गर्ने काम जारी रहेको उनको भनाइ छ । निन्दा, बिरिङ र कन्काई पुलको ठेक्का चार नम्बर प्याकेजमा पर्छ । यो काँकडभिट्टा–सीतापुरी सडक खण्डभित्र पर्छ । यसको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । यी पुलको ठेक्का रकम ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ छ । यसको समग्र प्रगति २५ प्रतिशत मात्र छ । यसअन्तर्गत ठूला र ३ सय मिटर लामा पुल निर्माण गरिँदै छ ।
‘पुलमा प्रयोग हुने ट्रस्टको सामान चीनबाट आउँदै छ, त्यो आएपछि पुल निर्माणको प्रगति बढ्छ,’ पन्तले भने, ‘अहिले पुलमा कंक्रिटको काम भइरहेको छ ।’ पछिल्लो एक सातामा होली र निर्वाचनले गर्दा काम प्रभावित बनेको उनले सुनाए । ‘चालु आर्थिक वर्षभित्र ३० किमि सडकमा पहिलो तहको कालोपत्र सक्ने लक्ष्य छ,’ उनले भने, ‘मुख्य–मुख्य काम तोकिएको समयभित्र सक्ने गरी नै भइरहेको छ ।’ कालोपत्र गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर सवारीसाधन सञ्चालनमा समस्या हुन नदिइने पन्तको भनाइ छ ।
दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडक विस्तार पर्छ । यसको ठेक्का सीआरएफजी–तुँदी कम्पनीले संयुक्त लिएका हुन् । सीआरएफजी चिनियाँ कम्पनी हो, जुन खण्डको दूरी ४० किमि छ । यस खण्डको निर्माण प्रगति ३८ प्रतिशत रहेको काँकडभिट्टा–लौकही सडक योजना, पश्चिम खण्ड, इटहरीका योजना प्रमुख जगत प्रजापतिले जनाए । यस खण्डको ठेक्का रकम भने ९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ छ ।
‘होली र निर्वाचनले गर्दा केही समय काम प्रभावित बन्यो,’ प्रजापतिले भने, ‘सोमबारबाट रोकिएका सबै काम सुरु भएका छन् ।’ यस खण्डमा पहिलो तहको कालोपत्रको काम १५ किमि सकिएको छ । यही खण्डमा पर्ने साना पुलको सुपर स्ट्रक्चरको काम सकिएको छ । असारसम्म यस खण्डको प्रगति ६० प्रतिशत पुर्याउने लक्ष्य रहेको योजना कार्यालयको भनाइ छ ।
तेस्रो प्याकेजका रूपमा भने गोठगाउँदेखि सुनसरीको लबिपुरसम्म सडकको दूरी १०.७६ किमि छ । यस खण्डको ठेक्का ४ अर्ब ७ करोड ३५ लाख रुपैयाँमा तीन वटा कम्पनी कोभेक–सीआरईजीसी–तुँदी कम्पनीले संयुक्त रूपमा लिएका हुन् । कोभेक र सीआरईजीसी चिनियाँ कम्पनी हुन् । यो खण्डको प्रगति १८ प्रतिशत मात्र छ ।
‘यसमा प्रगति कम छ, कालोपत्रको काम थाल्ने तयारी छ,’ प्रजापतिले भने, ‘यस खण्डमा सहरी क्षेत्र धेरै पर्छ, विद्युत्का पोल सार्न नसक्दा समस्या भएको छ । अहिले सार्ने काम भइरहेको छ ।’ उक्त सडक खण्डमा पर्ने ६ सय ५० मध्ये दुई सय पोल मात्र सारिएको छ । खानेपानीका पाइप सार्न पनि ढिलाइ भइरहेको छ । ‘कामको प्रगति कम हुनुमा विद्युत्का पोल समय सार्न नसक्नु नै हो, अहिले पनि पोल सार्ने काम ३० प्रतिशतभन्दा बढी सकिएको छैन, सार्ने काम नेपाल विद्युत् प्राधिकरणअन्तर्गत हो, यसमा प्राधिकरणको छुट्टै ठेक्का छ,’ प्रजापतिले भने, ‘खानेपानीका पाइप फुट्ने भएकाले सार्नुपर्ने बाध्यता छ, यो काम हामीले गर्दै छौं ।’
कतिपय स्थानमा ठेक्का लगाउने निकायकै कारण त कतिपय ठाउँमा प्राधिकरण र खानेपानीका कारण ढिलाइ भएको प्रजापतिको दाबी छ । निर्माण व्यवसायीबाट तेस्रो प्याकेजमा पर्याप्त जनशक्ति र स्रोत परिचालन नगर्दा समस्या छ । नदीजन्य निर्माण सामग्री समयमै नपाउँदा पनि भनेअनुसार कामको गति बढाउन नसकिएको उनको दाबी छ । ‘अहिले निर्माण सामग्रीमा बिस्तारै सहज हुँदै गएको छ,’ उनले भने ।
पाँच नम्बर प्याकेजमा रतुवा, बक्राहा र लोहेन्द्र पुल निर्माणको ठेक्का पर्छ । यी पुल निर्माणको ठेक्का कोभेक–सीआरईजीसी–तुँदी जेभीले ५ अर्ब ६५ करोड २६ लाख रुपैयाँ संयुक्त लिएका हुन् । यसको निर्माण प्रगति अहिलेसम्म २९ प्रतिशत मात्र छ । पुल निर्माण सीतापुरी–गोठगाउँ सडक खण्डअन्तर्गत पर्छ ।
‘सबै पुलमा फाउन्डेसनको काम सकिसकेको छ, रतुवा र लोहेन्द्रमा पिलर उठाउने काम भएको छ,’ प्रजापतिले भने, ‘बक्राहा पुलमा फाउन्डेसनमाथिको काम भइरहेको छ । बर्खाअघि नदीभित्र हुने काम सक्ने लक्ष्य छ ।’ निर्माण सकिएपछि पाँच वर्षसम्म सडक मर्मतसम्भारको काम ठेक्का लिने कम्पनीले नै गर्नेछ । ‘अहिले कालोपत्रको काममा नै बढी ध्यान दिएका छौं, एकतर्फ कालोपत्र गरेपछि अर्कोतिर काम गर्न सजिलो हुन्छ,’ उनले भने ।
यो सडक अहिले दुई लेनको छ । दमक, उर्लाबारी, इटहरी बजारमा सर्भिस लेनसहित ६ लेन सडक र फुटपाथ बन्नेछ । मुख्य राजमार्ग भने चार लेनको हुनेछ । एसियन हाइवेअन्तर्गत पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डमा सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।
