मंगलबार ३२.०८ अंकले घटेर नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको थियो ।
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ४६.७८ अंकले घटेको छ । मंगलबार ३२.०८ अंकले घटेर नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको थियो । आज फेरि भारी अंकले घटेर नेप्से परिसूचक २७९६ अंकमा झरेको हो । अघिल्लो दिनको तुलनाका यो १.६४ प्रतिशतले कम हो ।
सोमबार बजार १६२ अंकले बढ्दा समग्र नेप्से २ हजार ८ सय ७५.४३ अंकमा पुगेर बन्द भएको थियो । त्यसयता निरन्तर उच्च अंकले सेयर बजार ओरालो लागिरहेको छ ।
बुधबार कारोबारमा आएका ३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो, २२५ वटाको घट्यो । बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उक्त दिन १ लाख १५ हजार ५ सय ५५ वटा कारोबारबाट ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब १८ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम पनि घटेको हो । मंगलबार २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सामुहिक लगानी कोषबाहेक सबैको परिसूचक घटेपछि नेप्से दोहोरो अंकले घटेको हो ।
