इरान युद्धको प्रभाव मल आपूर्तिमा

विश्वव्यापी रासायनिक मल व्यापारको लगभग एकतिहाइ र विश्वको कुल खपतको २० प्रतिशत इन्धन आपूर्ति हुने मार्ग ‘स्ट्रेट अफ हर्मुज’ हो । यही मल र इन्धनमा भारतस्थित काश्मीरको श्रीनगरदेखि क्यानडाको सास्काचेवानसम्मका किसानहरू निर्भर छन् ।

फाल्गुन २७, २०८२

सीमा तामाङ

Impact of Iran War on Fertilizer Supply

काठमाडौँ — पश्चिम एसियामा जारी तनावको असर मल आपूर्तिमा परेको छ । युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द हुँदा पश्चिम एसियाका मल कारखाना बन्द भएका छन् भने ढुवानी पनि प्रभावित भएको छ । यसले विभिन्न देशको कृषिमा असर पार्ने भएको हो । किसानहरू बाली रोप्ने तयारीमा रहेका बेला विश्वभरका प्रमुख आयातकर्ताहरूले भने मल आपूर्तिमा कटौती गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

विश्वव्यापी रासायनिक मल व्यापारको लगभग एकतिहाइ र विश्वको कुल खपतको २० प्रतिशत इन्धन आपूर्ति हुने मार्ग ‘स्ट्रेट अफ हर्मुज’ हो । यही मल र इन्धनमा भारतस्थित काश्मीरको श्रीनगरदेखि क्यानडाको सास्काचेवानसम्मका किसानहरू निर्भर छन् । ठूलो आन्तरिक उद्योग भए तापनि अमेरिकाले आफ्नो आवश्यकताको अधिकांश मल आयात गर्दै आएको छ । तर, इरान युद्ध सुरु भएसँगै अमेरिकामा समेत मलको मूल्य बढेको छ । मल आयात केन्द्रका रूपमा चिनिएको अमेरिकाको न्यु अर्लिन्समा मलको मूल्य प्रतिटन ५१६ डलरबाट बढेर बिहीबार ६८३ डलर पुगेको थियो । जलमार्ग बन्द रहने र मागअनुसार आपूर्ति नपुग्ने हो भने मलको मूल्य अझै बढ्ने विश्लेषकहरूले रोयटर्सलाई बताएका छन् ।

मूल्यवृद्धिका कारण किसानहरूले बाली छनोट र मल प्रयोगमा परिवर्तन गर्न सक्ने अमेरिकी कृषि विभागका पूर्वमुख्य अर्थशास्त्री र हाल खाद्य तथा कृषि नीति अनुसन्धान संस्थानमा कार्यरत सेठ मेयर बताउँछन् । ‘उत्पादकत्व बढाउन किसान सबै बालीमा मल हाल्छन्, अति आवश्यक हुन्छ, तर प्रत्येक बाली र माटोको माग फरक हुन्छ,’ उनले भने ।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा आक्रमण गरेपछि कतारस्थित विश्वकै सबैभन्दा ठूलोमध्येको युरिया कारखाना बन्द भएको छ । कतार इनर्जीले ग्यास उत्पादन बन्द गरेकाले रासायनिक मलको कच्चा पदार्थ ‘फिडस्टक’ को स्रोत गुमाएको छ । पश्चिम एसियाका अन्य देशमा सल्फर उत्पादनमा पनि कटौती गरिएको छ । यी पदार्थ मल उत्पादनका लागि प्रयोग हुन्छ ।

भारतले ४० प्रतिशतभन्दा बढी युरिया र फस्फेटिक मल पश्चिम एसियाबाट आयात गर्छ । आयात प्रभावित हुन सक्ने भए तापनि भारतभित्रको उत्पादनमा पहिले नै असर परिसकेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कतारबाट लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आपूर्तिमा तीव्र गिरावट आएपछि तीन भारतीय प्लान्टले युरिया उत्पादन घटाइसकेका छन् ।

चीनले देशभित्रै अभाव हुन नदिन यस वर्ष पनि केही मल निर्यातमा प्रतिबन्ध लगाएको छ । अर्कोतिर युरोपका उत्पादकहरूले सस्तो रुसी ग्यास आपूर्तिको अभावमा मल उत्पादन कटौती गरेका छन् । यही कारणले इरान युद्ध सुरु हुनुअगावै करिब ४७० डलर प्रतिटनको तुलनामा युरियाको मूल्य प्रतिटन करिब ८० डलर बढेको समेत विश्लेषकहरू उल्लेख गर्छन् । उनीहरूका अनुसार चीनले मल निर्यातमा थप कडाइ गर्ने सम्भावना छ ।

चीनले सल्फर आयातको ५० प्रतिशतभन्दा बढी हिस्सा पश्चिम एसियाबाट ल्याउँछ भने इन्डोनेसियाले आफ्नो आपूर्तिको लगभग ७० प्रतिशत आयातमै निर्भर छ । अस्ट्रेलिया पनि मल आयातमै निर्भर छ । डीएपी र मोनोअमोनियम फस्फेट जस्ता मलका लागि चाहिने मुख्य कच्चा पदार्थ नै सल्फर हो । ‘अहिले तत्काल बेच्न कसैसँग पनि अतिरिक्त मल वा कच्चा पदार्थ छैन,’ एक चिनियाँ सल्फर व्यापारीले रोयर्टसलाई भनेका छन् । 

आपूर्ति अवरोध केही साता बढेमा मलको मूल्य सन् २०२२ को बेलाको उच्च बिन्दुमा पुग्ने जानकारहरूको भनाइ छ । विश्व बजारमा २०२२ मा युरिया मलको मूल्य प्रतिटन ११ सय डलरसम्म पुगेको थियो । मंगलबार प्रतिटन ५९० सय डलरमा कारोबार भइरहेको छ । डीएपीको मूल्य २०२२ मा प्रतिटन ११ सय डलर पुगेको थियो भने मंगलबार प्रतिटन ६५० डलरमा कारोबार भइरहेको छ । 

विश्व बजारमा मूल्यवृद्धि भइरहेकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । पश्चिम एसियाका साउदी अरब, कतार, ओमान र यूएईलगायत देश युरिया, सल्फर र एमोनियाका प्रमुख आपूर्तिकर्ता हुन् । माटोको पोषक तत्त्वका लागि महत्त्वपूर्ण मानिने एमोनियाको तेस्रो ठूलो उत्पादक इरान हो । यदि द्वन्द्व महिनौंसम्म जारी रहेमा खेतीको महत्त्वपूर्ण सिजनमा खाडी क्षेत्रको मल उत्पादन र ढुवानीमा हुने अवरोधले विश्वव्यापी किसानहरूले मल नपाउने हुँदा कृषि क्षेत्रमै तरंग ल्याउन सक्नेसमेत जानकारहरू बताउँछन् । 

चीनको फस्फेट निर्यात प्रतिबन्ध र कतारमा घटेको सल्फर उत्पादनले एकै समयमा विश्वव्यापी मल बजारलाई कसिलो बनाइरहेको छ । ब्लुमबर्गको एक रिपोर्टले पनि द्वन्द्वका कारण कतारबाट तरल प्राकृतिक ग्यास आपूर्तिमा अवरोध आएपछि भारतीय युरिया उत्पादकहरूले उत्पादन कटौती गर्न थालेको बताइएको छ । मल उत्पादनका लागि प्राकृतिक ग्यास मुख्य कच्चा पदार्थ भएकाले खाडीको ग्यास बजारमा हुने अवरोधले आपूर्ति समस्यालाई थप बढाउनेछ । 

फाइनान्सियल टाइम्सका अनुसार विश्वव्यापी युरियाको ३५ प्रतिशत र सल्फर निर्यातको ४५ प्रतिशत ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमार्फत नै हुन्छ । बाली लगाउने मौसमसम्म अवरुद्ध रहेको अवस्थामा किसानहरूले कम मल प्रयोग गर्ने वा कम उत्पादन दिने बालीहरू समेत लगाउन सक्ने उनीहरूको बुझाइ छ । त्यसको प्रभाव कम खाद्यान्न उत्पादन र उच्च खाद्य मूल्यवृद्धिका रूपमा देखा पर्ने जानकारहरू बताउँछन् । 

भारतलाई प्रत्येक महिना अनुमानित २० लाख टन विभिन्न मल आवश्यक पर्छ । भारतसमेत पोटासमा शतप्रतिशत र डीएपी मल आयातमा ६० प्रतिशत निर्भर छ । आन्तरिक रूपमा आत्मनिर्भर बताइए पनि भारतले युरिया मल आयात गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यवृद्धिसँगै, बोलपत्र आह्वान गर्दाको मूल्य र आपूर्ति गर्दाको बजार मूल्यबीचको अस्थिरताका कारण नोक्सानी हुने डरले आपूर्तिकर्ताहरू डेलिभरी गर्न हिचकिचाउँदै आएका छन् ।

रासायनिक मलमा नेपालसमेत आयातमै निर्भर छ । हरेक वर्ष सरकारले मल आयातमा अनुदान दिँदै आएको छ । अहिले रासायनिक मल आयात गर्न विभिन्न कम्पनीसँग सम्झौता नहुने र भए पनि युद्धका कारण मल नल्याउने वा मल नै नपाउने सम्भावना बढिरहेको कृषि सामग्री कम्पनी लिमिटेडका एक अधिकारीले जनाए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, पोटास र डीएपी गरी १ लाख ३७ हजार ६ सय ३० टन मल मौज्दात छ । तर अनुदानको मल आयात र बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग गोदाममा मौज्दात रहेको र नेपालका लागि लोड भइसकेको गरी करिब १ लाख ८३ हजार टन मलको व्यवस्था भइसकेको मन्त्रालयले जनाएको छ । यसरी हेर्दा ४५ हजार ३ सय ७० टन मल बाटोमै छ । यसको अलावा थप ९२ हजार टन मलको सम्झौता भइसकेको छ । 

उक्त परिमाणसमेत गर्दा आगामी धान सिजनमा मलको सहज आपूर्ति हुने कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ बताउँछन् । आगामी आर्थिक वर्ष २०८३/८४ को पुससम्मका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति प्राप्त ३ लाख टनमध्ये १ लाख ८० हजार टनको टेन्डर भई ९० हजार टनको सम्झौता हुने क्रममा रहेको र बाँकी परिमाणको टेन्डरको सूचना चैत आधासम्ममा निस्किसक्ने पनि उनले बताए । 

यद्यपि हाल पश्चिम एसियामा देखिएको समस्याले गर्दा मल आपूर्तिमा केहि असहज अवस्था आउन सक्ने भएकाले मन्त्रालयमा त्यस्तो अवस्थामा चाल्नु पर्ने वैकल्पिक उपायबारे छलफल गरिएको उनले जानकारी दिए । ‘सामान्यतया आगामी वर्षे धान सिजनमा मलको अभाव हुने देखिँदैन,’ उनले भने । मल अभाव हुन नदिन वैकल्पिक उपायमा काम भइरहेकाले अनावश्यक रूपमा मल किनेर सञ्चित नगर्न उनले आग्रह गरे ।

सरकारले चालु आर्थिक वर्षमा ५ लाख ५० हजार टन मल अनुदानमा उपलब्ध गराउन २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारले रासायनिक मलमा औसतमा ६५ प्रतिशत अनुदान दिँदै आएको छ । मन्त्रालयका अनुसार वार्षिक करिब ८ लाख टन मलको माग रहे पनि सरकारले ५ लाख टन हाराहारी अनुदानमा मल उपलब्ध गराउने गरेको छ । बाँकी ३ लाख टन मल निजी क्षेत्रले ल्याएर बेच्ने गरेको छ । तर निजी क्षेत्रले भन्दा पनि खुल्ला बजारका कारण भारतबाटै मल ल्याउने गरिएको व्यापारीहरू बताउँछन् । 

चालु आर्थिक वर्षको सात महिनामा ४२ अर्ब ६३ करोड रुपैयाँको रासायनिक मल आयात गरेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक छ । गत आर्थिक वर्षको ७ महिनामा ३१ अर्ब रुपैयाँको मल आयात गरिएको थियो । चीनबाट सबैभन्दा बढी २८ अर्ब ३६ करोड ६९ लाख ७२ हजार रुपैयाँको, भारतबाट ७ करोड ९१ लाख ६५ हजार रुपैयाँको र इन्डोनेसिया, जर्मनी, कतार, ओमान, नेदरल्यान्ड, बहराइन, साउदी अरब, ब्रुनाईलगायत मुलुकबाट १४ अर्ब १९ करोड १४ लाख १८ हजार रुपैयाँको मल आयात भएको छ ।

कतारबाट ठूलो परिमाणमा रासायनिक मल आउने भएकाले आपूर्ति ढिलाइ भए कृषि क्षेत्र प्रभावित हुने खतरा पनि रहेको सरकारका पूर्वसहसचिव रविशंकर सैंजूले बताए । ‘चालु वर्षको सात महिनामा कतारबाट मात्रै साढे दुई अर्ब रुपैयाँ बराबरको मल आयात भएको देखिन्छ,’ उनले भने, ‘यदि मल समयमै आइपुगेन भने किसानलाई प्रत्यक्ष असर पर्छ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully