पश्चिम एसिया तनावले रोकिएका उडान पुनः सुरु

एयरलाइन्सका अनुसार फागुन २२ देखि यूएईका प्रमुख गन्तव्यहरू शारजहाँ, अबुधावी र रस अल खैमाहबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सीमित उडान पुनः सुरु गरिएको छ । जसमा नेपालको काठमाडौं गन्तव्य पनि समावेश गरिएको छ ।

फाल्गुन २७, २०८२

सुरज कुँवर

Flights suspended due to West Asia tensions resume

काठमाडौँ — पश्चिम एसियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले मंगलबारदेखि काठमाडौंका लागि आंशिक उडान पुनः सुरु गरेका छन् । खाडी मुलुकले ‘एयरस्पेस’ खुला गरेसँगै केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले काठमाडौंका उडान पुनः सुरु गरेका हुन् ।

एयर अरेबियाले मंगलबारदेखि दुबई र शारजहाँबाट काठमाडौं दैनिक तीनवटा उडान सञ्चालन गर्ने अनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए । यी उडानले अमेरिका र युरोपलगायतका गन्तव्यबाट आउजाउ गर्ने विद्यार्थी, पर्यटक तथा नेपाली श्रमिकलाई राहत पुग्नेछ । 

एयर अरेबियाले मंगलबारदेखि सीमित अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गरेको जनाएको छ । एयरलाइन्सका अनुसार फागुन २२ देखि यूएईका प्रमुख गन्तव्यहरू शारजहाँ, अबुधावी र रस अल खैमाहबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सीमित उडान पुनः सुरु गरिएको छ । जसमा नेपालको काठमाडौं गन्तव्य पनि समावेश गरिएको छ । 

काठमाडौंबाट पश्चिम एसियाका विभिन्न गन्तव्यमा उडान गर्न नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स, फ्लाई दुबई, साउदी एयर, कुवेत एयर, जजिरा एयरलगायत डेढ दर्जन वायुसेवा कम्पनीले अनुमति लिएका छन् । १६ फागुनमा अमेरिका–इरान युद्ध सुरु भएपछि यात्रु र चालक दलको असुरक्षा भएको भन्दै यूएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए । जसका कारण धेरै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

र, काठमाडौंबाट खाडी मुलुकका लागि हुँदै आएका नियमित उडानसमेत बन्द छन् । उडान रोकिएपछि खाडी मुलुक जाने र ती मुलुक हुँदै नेपाल आउने यात्रुहरू खाडी क्षेत्रका विभिन्न गन्तव्यहरूमा अलपत्र परेका छन् । खाडी मुलुक जाने र त्यहाँ हुँदै अन्य मुलुक जाने ३ सय यात्रु काठमाडौंमै रोकिएको अनुमान छ । नेपाल आउने सय जना यात्रु दोहामै अलपत्र परेका छन् । 

काठमाडौंमा रोकिएका यात्रुहरूकै लागि नेपाल वायुसेवा निगमले दुबईका लागि बुधबार राति उद्धार उडान गर्ने भएको छ । निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले अमेरिका–इरान युद्ध सुरु हुनुअघि नै दुबई जानुपर्ने तथा दुबईबाट काठमाडौं आउनुपर्ने यात्रुहरूका लागि बुधबार राति ११ः१५ बजे वाइडबडी विमानबाट यात्रु उद्धार उडान गर्न लागेको जानकारी दिए । त्यो वाइडबडी बुधबार दुबई पुगेर बिहीबार बिहान ४ बजे काठमाडौं फर्किने तालिका छ ।

निगमको मार्केटिङ विभाग प्रमुख अनिल घिमिरेले उक्त उडानमा नयाँ यात्रुभन्दा पनि पहिल्यै टिकट लिइसकेका यात्रुहरूलाई प्राथमिकता दिइने बताए । ‘निगमले अमेरिका–इरान तनावका कारण रोकिएको उडान १२ औं दिनमा पुनः सुरु गर्दै छ,’ घिमिरले भने, ‘यो उडानमा पहिल्यै टिकट लिइसकेकाहरूलाई प्राथमिकता दिनेछौं ।

र, उडानका लागि जहाजको अतिरिक्त बिमा गरिएको छ ।’ सिटको उपलब्धताअनुसार पहिले आउने यात्रुलाई प्राथमिकता दिइने र अरूलाई पछि अन्य उडानमा समायोजन गरिने घिमिरेले बताए । यात्रुहरूलाई टिकट ‘रिसेडियुअल’ गरेबापत अतिरिक्त शुल्क नलिने पनि निगमले जनाएको छ । यद्यपि असहज परिस्थिति र असुरक्षाका कारण उडान रद्द हुन सक्ने भएकाले यदि यस्तो परिस्थिति आइपरेमा निगमले कुनै पनि प्रकारको आर्थिक तथा अन्य दायित्वहरू बहन नगर्ने निगमले प्रस्ट पारेको छ । 

अमेरिका–इरान युद्ध हुनुअघि निगमले सातामा मंगलबारबाहेक ६ दिन दुबई उडान गर्दै आएको थियो । त्यस्तै दोहा सातामा पाँच दिन र दमाम सातामा दुई दिन उडान गर्ने गरेको थियो । तर, युद्धका कारण तनाव बढेपछि निगमले सबै उडान बन्द गरेको हो । हिमालय एयरलाइन्सले पनि आइतबार र सोमबार दुबई उडान गर्दै आएको थियो । कतार एयरवेज, कुवेत एयरवेज र जजिरा एयरको उडान भने अझै अनिश्चित छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully