रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल निष्कासन गर्ने : अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी

रणनीतिक तेल भण्डारको तेल प्रत्येक सदस्य राष्ट्रको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त समयसीमाभित्र बजारमा उपलब्ध गराइने एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले बताए ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

400 million barrels of oil to be released from Strategic Petroleum Reserves: International Energy Agency

काठमाडौँ — अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले बजारमा तेलको आपूर्ति बढाउन र मूल्यवृद्धिलाई रोक्नका लागि आफ्नो रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल निष्कासन गर्ने निर्णय स्वीकृत गरेको छ ।

एजेन्सीका ३२ सदस्य राष्ट्रहरु विश्व बजारमा रणनीतिक तेल भण्डारबाट तेल निष्कासन गर्न सर्वसम्म रुपमा सहमत भएको बीबीसी अंग्रेजीमा उल्लेख छ । रणनीतिक तेल भण्डारको तेल प्रत्येक सदस्य राष्ट्रको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त समयसीमाभित्र बजारमा उपलब्ध गराइने एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलले बताए । 

तर निष्कासन प्रक्रिया पूरा हुन महिनौँ लाग्ने र यो परिमाण हर्मुज मार्गबाट हुने तीन साताको प्रवाह बराबर मात्र हुने रोयटर्समा उल्लेख छ । एजेन्सीले रणनीतिक तेेल भण्डारबाट छैटौं पटक अनुमोदन गरेको  जनाएको छ । यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक गरिएको बीबीसीमा उल्लेख छ ।

एजेन्सीका सदस्य राष्ट्रहरुसँग १.२ अर्ब ब्यारेलभन्दा बढीको रणनीतिक तेल भण्डारमा छ । थप ६० करोड ब्यारेल औद्योगिक तेल मौज्दात पनि छ । एजेन्सीले निष्कासन गर्न स्वीकृत गरिएको ४० करोड ब्यारेल तेल विश्वले करिब चार दिनमा खपत गर्ने परिमाण हो । विश्वले दैनिक १० करोड ब्यारेल तेल खपत गर्छ ।

एजेन्सीका सदस्य राष्ट्रहरुले राखेको मौज्दातको एक-तिहाइ हिस्सा एकै पटक फुकुवा गर्नु निकै ठूलो कदम रहेकाले यस्तो जोखिमपूर्ण काम बारम्बार गर्न नसकिने समेत बताइएको छ ।

कान्तिपुर

Link copied successfully