सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

२०८२ माघ महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

1.25 trillion remittances received in seven months

काठमाडौँ — चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म)मा साढे १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९.८ प्रतिशतले बढेको हो । यससँगै सात महिनामा कुल रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

२०८२ माघ महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ रहेको थियो ।

कान्तिपुर

Link copied successfully