राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त, सुरु भयो दौडधुप

राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन्, कानुनअनुसार सबै डेपुटी गभर्नरका लागि प्रतिस्पर्धी हुन् ।

फाल्गुन २६, २०८२

यज्ञ बञ्जाडे

Two deputy governor posts vacant at Nepal Rastra Bank, race begins

What you should know

काठमाडौँ —  

नेपाल राष्ट्र बैंकमा सोमबारदेखि दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । निवर्तमान डेपुटी गभर्नरद्वय नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँचवर्षे कार्यकाल सकिएपछि राष्ट्र बैंकमा उक्त पद रिक्त भएको हो । तिम्सिना र मिश्र २७ फागुन २०७७ मा डेपुटी गभर्नरमा नियुक्त भएका थिए । 

डेपुटी गभर्नर पद खाली भएसँगै नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने चर्चा व्यापक छ । सोमबारसम्म सरकारले डेपुटी गभर्नर नियुक्त गरिसकेको भने छैन । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । ऐनको दफा १६, उपदफा २ मा डेपुटी गभर्नर पदमा नियुक्तिका लागि गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणीका अधिकृत) मध्ये चार जना सिफारिस गर्छन् । सिफारिस भएका चार जनामध्येबाट मन्त्रिपरिषद्ले २ जनालाई डेपुटी गभर्नर नियुक्त गर्छ । 

डेपुटी गभर्नर नियुक्ति सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको मुख्यसचिव सुमनराज अर्यालले बताए । ‘डेपुटी गभर्नरद्वयको कार्यकाल सोमबारदेखि सकिएको जानकारी सञ्चारमाध्यमबाट पाएको छु,’ उनले भने, ‘नयाँ नियुक्ति सम्बन्धमा मलाई जानकारी छैन । नियुक्ति गभर्नर र अर्थ मन्त्रालयको सिफारिसमा हुन्छ ।’ मन्त्रिपरिषद्मा आइसकेपछि मात्र आफूलाई जानकारी हुने उनको भनाइ छ । 

‘गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्ये कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्नेछ,’ ऐनमा भनिएको छ, ‘डेपुटी गभर्नरमा नियुक्त व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ ।’ 

यसका आधारमा डेपुटी गभर्नरका लागि योग्यता भनेकै कार्यकारी निर्देशक (विशिष्ट श्रेणीका अधिकृत) हो । राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक छन् । कानुनअनुसार ती सबै कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि प्रतिस्पर्धी हुन् । ऐनले कार्यकारी निर्देशक मात्र भनेकाले डेपुटी गभर्नर नियुक्तिमा वरिष्ठ र कनिष्ठले खासै असर पार्दैन । प्रतिस्पर्धीबीच नियुक्तिका लागि दौडधुप सुरु भएको स्रोतको दाबी छ । 

यसअघि कुनै वर्ष वरिष्ठमध्ये त कुनै वर्ष कनिष्ठमध्ये पनि नियुक्त हुने गरेका छन् । कसलाई सिफारिस गर्ने भन्ने गभर्नरको तजबिजमा रहने भएकाले सबै कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि प्रतिस्पर्धी हुन् । पछिल्ला वर्षमा नेपालमा गभर्नर र डेपुटी गभर्नर हुन सरकारमा रहेका राजनीतिक दलनिकट हुनुपर्ने अभ्यास छ । सरकारमा रहेका दलले आफूनिकट व्यक्तिलाई मात्र डेपुटी गभर्नरका लागि सिफारिस गर्दै आएका छन् । गठबन्धनको सरकार भएका बेला भागबन्डामा यस्तो नियुक्त हुने गरेको थियो । 

यस पटक परिस्थिति बेग्लै छ । सोमबारदेखि डेपुटी पद खाली भएको छ भने जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार बहिर्गमनको संघारमा छ । निर्वाचनले रास्वपालाई नयाँ सरकारका लागि स्पष्ट बहुमत दिइसकेको छ । यसकारण मतगणना प्रक्रिया सकिएपछि नयाँ सरकार बन्ने निश्चित भइसकेको छ । यस्तो अवस्थामा यही सरकारले डेपुटी गभर्नर नियुक्ति गर्छ वा नयाँ सरकारलाई छोडिदिन्छ, चासोको विषय छ । 

स्रोतका अनुसार नयाँ बन्ने सरकारका मुख्य पदाधिकारीसँग छलफलका आधारमा यही सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने सरकारको तयारी छ । ‘डेपुटी गभर्नर पद खाली भइसकेकाले अब नियुक्त गर्नुपर्छ भन्ने चर्चा चलेको छ,’ स्रोतले भन्यो, ‘नयाँ सरकार बन्न केही समय लाग्ने देखिएकाले लामो समयसम्म पद खाली नराख्न खोजिएको हो ।’ 

स्रोतका अनुसार डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्रीबीच अनौपचारिक छलफल भइसके पनि नाममा ढुंगो लागिसकेको छैन । ‘नयाँ आउने सरकारको सम्भावित नेतृत्वसँग छलफल गरेर डेपुटी गभर्नर नियुक्ति गर्ने सरकारको तयारी छ,’ स्रोतले भन्यो, ‘चहलपहल र तयारी हेर्दा सरकारले छिट्टै गभर्नर नियुक्त गर्ने देखिन्छ ।’

यता गभर्नर विश्वनाथ पौडेलले भने डेपुटी गभर्नरका लागि आफूले सिफारिस गर्ने नाम तयार पारिसकेका छन् । सरकारबाट संकेत पाउनासाथ चार जनाको नाम सिफारिस गर्न सकियोस् भनेरै गभर्नर पौडेलले चार–पाँच जनाको नाम तयार पारेको स्रोतको दाबी छ । ‘सोमबारदेखि मात्र पद रिक्त भएको हो, अघिल्लो पटक १८ फागुन २०७७ मा पद खाली भएकामा २५ फागुनमा मात्र नियुक्त भएको थियो,’ स्रोतले भन्यो । 

गभर्नर कार्यकारी पद भए पनि राष्ट्र बैंकको कामकारबाही प्रभावकारी बनाउन डेपुटी गभर्नरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । किनकि डेपुटी गभर्नरद्वयलाई राष्ट्र बैंकका सबै विभाग विभाजन गरेर कार्यक्षेत्र तोकिएको हुन्छ । गभर्नरले समग्रमा हेर्ने र निर्देशन दिने मात्र हो । राष्ट्र बैंक त्यसमा पनि गभर्नरको सफलता/असफलतामा डेपुटी गभर्नरको भूमिका अहं रहन्छ । 

राम्रा र सक्षम व्यक्ति डेपुटी भएका बेलाका गभर्नरहरू आफ्नो कार्यकालमा निकै सफल मानिएका छन् । तुलनात्मक रूपमा कमजोर डेपुटी गभर्नर भएका बेलाका गभर्नर त्यति सफल देखिएका छैनन् । प्रायः गभर्नर राष्ट्र बैंकबाहिरबाट नियुक्त हुने र डेपुटी गभर्नर राष्ट्र बैंककै कर्मचारीमध्ये आउने भएकाले केन्द्रीय बैंकको भूमिका प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्तिलाई डेपुटी गभर्नर बनाउनुपर्ने विज्ञहरूको तर्क छ । 

‘राम्रा व्यक्तिलाई डेपुटी गभर्नर बनाउँदा गभर्नरले खासै दुःख गर्नुपर्दैन,’ एक पूर्वगभर्नरले भने, ‘तर नेपालमा राम्राभन्दा हाम्रा मान्छेलाई नियुक्त गर्ने प्रचलन हाबी छ । राम्रोलाई छोडेर हाम्रोलाई नियुक्ति दिएकै कारण पछिल्ला वर्षमा केन्द्रीय बैंकको भूमिका र प्रभावकारितामा प्रश्न उठ्न थालेको छ ।’ जेन–जी आन्दोलन र निर्वाचनको सन्देश पनि सुशासन र भ्रष्टाचाररहित समाज निर्माण रहेकाले सरकारले डेपुटी गभर्नर नियुक्तिबाटै त्यसको थालनी गर्नुपर्ने ती अधिकारीको सुझाव छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully