सोमबार करिब चार मिनेट मात्र बजार खुल्यो, चार, पााच र ६ प्रतिशतले बढेपछि तीन वटा सर्किट ब्रेकरमार्फत सेयर बजार नै बन्द गर्नुपर्यो ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका कारण अघिल्ला ६ दिन (फागुन २०–२४ सम्म) बन्द रहेको सेयर बजारले सोमबार १६२.९३ अंकको छलाङ मारेको छ । सोमबार निर्वाचनपछिको पहिलो कारोबार दिन हो । एकै दिन यति धेरै अंकले नेप्से बढेको यो पछिल्लो साढे चार वर्षयताकै बढी हो । यसअघि २१ भदौ २०७८ मा एकै दिन नेप्से १६१.९४ अंकले बढेको थियो । त्यसयता ५ असोज २०८२ मा एकै दिन नेप्से १११ अंकले बढेको थियो ।
सोमबार बजार खुलेदेखि नै उच्च अंकले बढेपछि तीन वटा सर्किट ब्रेकर लागेपछि सेयर कारोबार नै बन्द गर्नुपर्यो । यस दिन बजार खुलेको पहिलो मिनेटमै नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लाग्यो । त्यसको २० मिनेटपछि बजार खुल्यो । बजार खुलेको पहिलो एक मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकर लाग्यो । त्यसपछि ४० मिनेटका लागि कारोबार रोकियो ।
त्यसपछि खुलेको बजार थप एक मिनेटभित्रै नेप्से ६ प्रतिशतले बढ्यो । त्यसपछि तेस्रो सर्किट ब्रेकरमार्फत यस दिनका लागि कारोबार नै बन्द भयो । त्यतिबेला नेप्से १६२.९३ अंकले बढेर समग्र नेप्से २ हजार ८ सय ७५.४३ अंकमा उक्लियो । तीन पटक सर्किट ब्रेकर लागेकाले सोमबार तीनदेखि चार मिनेट मात्र सेयर कारोबार भयो । उक्त अवधिमा ५५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भयो । सोमबारको वृद्धिलाई सेयरमा निर्वाचन सम्पन्न र स्थिर सरकार आउने भएपछि लगानीकर्ताका आत्मविश्वास बढेको रूपमा जानकारहरूले विश्लेषण गरेका छन् ।
सर्किट ब्रेकर सेयर बजारमा हुने अस्वाभाविक घटबढ नियन्त्रण गर्न प्रयोग गरिने उपकरण हो । दोस्रो बजारमा कारोबार हुने धितोपत्रको बजार मूल्यमा अप्रत्याशित परिवर्तन आए (बजार मूल्य बढ्न वा घट्न गए) धितोपत्रको कारोबारमा निश्चित समयका लागि रोक लगाइने प्रणालीलाई सर्किट ब्रेकर भनिन्छ । हालको व्यवस्थाअनुसार प्रत्येक दिन सेयर कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ४ प्रतिशत घट्ने/बढ्ने भए पहिलो सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार स्थगन गरिन्छ ।
यसरी स्थगन भएको कारोबार पुनः खुलेपछि उक्त परिसूचकमा ५ प्रतिशत घट्ने/बढ्ने भए अर्को ४० मिनेटका लागि कारोबार स्थगन गरिन्छ । त्यसपछि खुलेको बजार ६ प्रतिशत घट्ने/बढ्ने भए उक्त दिन बाँकी पूरै समयको कारोबार स्थगन गर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार नेप्सेले सर्किट ब्रेकरमार्फत सोमबारको कारोबार बन्द गरेको हो । यद्यपि यो सर्किट ब्रेकरसम्बन्धी हालको व्यवस्था परिमार्जन गर्नुपर्ने चर्चा सुरु भएको छ । पुँजी बजार सुधारका लागि पछिल्लो समयमा भएका विभिन्न अध्ययनले पनि सर्किट ब्रेकरको विद्यमान व्यवस्था समयसापेक्ष बनाउन सुझाएका छन् ।
‘निर्वाचनअघिको अन्तिम दिन (१९ फागुन) नेप्से साढे ३८ अंकले बढेको थियो । यसलाई लगानीकर्ताले अनिश्चितताबीच पनि तोकिएकै समयमा निर्वाचन हुने भयो भनेर लगानी वृद्धिका लागि विश्वास देखाएका थिए,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले भने, ‘निर्वाचनको नतिजाले रास्वपाको एकल र स्थिर सरकार बन्ने देखिएपछि लगानीकर्ताले थप लगानी गर्न चाहेको देखियो ।’
हाल सेयर बजारका लागि प्रायः नीति अनुकूल छन् । वित्तीय प्रणालीमा अधिक तरलता छ भने ब्याजदर न्यून छ । तर, सेयर बजारले ठूलै सकारात्मक सन्देश खोजेको थियो । निर्वाचनको नतिजाले स्थिर सरकार आउने भएपछि लगानीकर्ताले त्यो सकारात्मक सन्देश भेटेकाले सोमबार सेयर बजार उच्च अंकले बढेको सिजापतिको तर्क छ । ‘स्थिर सरकार बन्ने सुनिश्चितताकै कारण सोमबार बजार बढेको हो । सामान्य करेन्सनका बीच आउँदा केही दिन सेयर बजार बढ्न सक्छ,’ उनले थपे, ‘दीर्घकालीन रूपमा नेप्सेको वृद्धिका लागि सरकारले कस्तो नीति बनाउँछ, सुधारका लागि के कस्तो प्रयास गर्छ त्यसका आधारमा नेप्सेको गति निर्धारण हुन्छ ।’
निर्वाचनको प्रारम्भिक नतिजाले लगानीकर्तालाई आशा जगाएकाले बजारमा वृद्धि देखिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘यो निर्वाचनमा हामीले धेरै राजनीतिक दलका घोषणापत्र अध्ययन गरेका छौं, तीमध्ये रास्वपाले आफ्नो वाचापत्रमा पुँजी बजार सुधारका धेरै एजेन्डा समावेश गरेको छ,’ उनले भने, ‘ती एजेन्डा कार्यान्वयन भए नेपाली पुँजी बजार धेरै माथि पुग्नेछ ।’ सेयर लगानीकर्ता संघका महासचिव रविन कँडेलले निर्वाचनले सकारात्मक माहोल ल्याएकाले बजार बढे पनि यसलाई उच्च वृद्धि भन्न नमिल्ने बताउँछन् ।
‘निर्वाचनपछि नयाँ सरकार आउने भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो । तर ५५ करोडको कारोबारलाई उच्च वृद्धि भन्न सकिँदैन,’ उनले भने, ‘यो म्यानुपुलेसनमार्फत बढाइएको हो । किनकि सरकार बनिसकेको छैन, सेयर बजारका आधारभूत समस्यामा सुधार भएको छैन । यसकारण सकारात्मक सन्देशबाहेक सेयर बढ्नुको कुनै कारण छैन ।’ रास्वपाले आफ्नो वाचापत्रमा पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने जनाएको छ ।
‘धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पुनःसंरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउने र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्नेछौं,’ वाचापत्रमा भनिएको छ, ‘पुँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानुनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेछौं ।’
इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने, आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँट, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने पनि वाचापत्रमा उल्लेख छ । वाचापत्रमा उल्लेख गरेका काम मात्र हुन सकेको अवस्थामा पनि नेपालको पुँजी बजार अन्तर्राष्ट्रियस्तरको हुने जानकार बताउँछन् ।
