सोमबारको तुलनामा ३२.०८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको छ ।
काठमाडौँ — अघिल्लो दिन तीनपटक सकारात्मक सर्किट ब्रेकर लाग्दा १६२ अंकले बढेको नेप्सेको वृद्धि मंगलबार भने टिकेन । सोमबारको तुलनामा ३२.०८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ८ सय ४३.३५ अंकमा ओर्लेको छ । अघिल्लो दिनको तुलनाका यो १.११ प्रतिशतले कम हो । सोमबार बजार १६२ अंकले बढ्दा समग्र नेप्से २ हजार ८ सय ७५.४३ अंकमा पुगेर बन्द भएको थियो ।
सोमबार उच्च अंकले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित (प्रोफिट बुकिङ) गर्न थालेपछि मंगलबार नेप्से उच्च अंकले घटेको हो ।
सो दिन कारोबारमा आएका ७८ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १७८ वटाको घट्यो । बाँकी ५ अंकको सेयर मूल्य स्थिर छ ।
सो दिन २ लाख ५ हजार ६ सय ११ वटा कारोबारबाट ५ करोड २७ लाख ११ हजार ३ सय ५३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम बढेको हो ।
मंगलबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये जीवन बिमा, निर्जीवन बिमा र सामुहिक लगानी कोषको परिसूचक सकारात्मक रहे । बाँकी सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो ।
