नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजको संयुक्त आयोजनामा भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी छन् ।
काठमाडौँ — नदी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिशूलीमा मंगलबारदेखि २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन र्याफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजको संयुक्त आयोजनामा भएको तीनदिने प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी छन् । पहिलो दिन ३०० मिटर कायक स्प्रिन्टमा ५१ खेलाडी र ३०० मिटर राफ्ट स्प्रिन्टमा १० टोली सहभागी भए ।
बुधबार ३०० मिटर कायक क्रस र १० किलोमिटर राफ्ट म्यानडेटरी प्रतिस्पर्धा हुनेछ, जसमा प्रारम्भिक चरणबाट छनोट भएका ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम दिन बिहीबार १० किलोमिटर राफ्ट रेसमा १३ टोली प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीमा चार खेलाडी रहनेछन् ।
प्रतियोगितामा भारतका दुई र इजरायलका दुई टोलीसहित विदेशी खेलाडी पनि सहभागी छन् । खेलाडीहरूको समय मापनका लागि टाइम–चिप प्रणाली प्रयोग गरिएको छ ।
प्रतियोगिताका विजेताहरूलाई विभिन्न विधामा १५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
समापन समारोहमा नेपालमा र्याफ्टिङ संस्कृति सुरु गर्ने हिमालय रिभर एक्सप्लोरेसनलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
