अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

सोमबार तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर नजिक पुगेको थियो ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

Crude oil prices fall in international markets

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वबजारमा तेल आपूर्ति गर्ने 'स्ट्रेट अफ हर्मुज' जलमार्गलाई नरोक्न इरानलाई चेतावनी दिएसँगै तेलको मूल्य घटेको छ । 'यदि इरानले 'स्ट्रेट अफ हर्मुज' मार्फत हुने तेल आपूर्तिलाई रोक्छ भने अमेरिकारले अहिलेको तुलनामा २० गुणा बढी प्रहार गर्नेछ,' ट्रम्पले सामाजिक सञ्‍जालमा भनेका छन् । 

मंगलबार बिहान बजारमा एसियाली ब्रेन्ट क्रुडको मूल्य ६ प्रतिशतले घटेर ९३ डलरमा सिमित भएको छ । अमेरिका र इजरायलले गरेको इरानमाथिको आक्रमणले पश्चिम एसियामा तेल आपूर्ति अवरुद्ध हुने जोखिमका कारण सोमबार तेलको मूल्य प्रतिब्यारेल करिब १२० डलर नजिक पुगेको थियो । तर ट्रम्पले युद्ध छिट्टै अन्त्य हुने संकेत दिएपछि तेलको मूल्य घटेको हो । तर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले अमेरिका–इजरायलविरुद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गरिने बताउँदै ट्रम्पसँग वार्ता अस्विकार गरेको छ ।

मंगलबार तेलको मूल्यमा आएको गिरावटले व्यापारीहरूलाई केही राहत भएको छ तर ऊर्जा बजार अझै पनि  पूर्ण तनावकै अवस्थामा रहेको विश्लेषकहरूले बताएका छन् । तेल बजार अस्थिर रहेकाले यदि द्वन्द्व बढ्यो भने पुन: मूल्य वृद्धि हुन सक्ने उनीहरूको भनाइ छ । 'स्ट्रेट अफ हर्मुज' साँघुरो जलमार्ग हो । विश्व ऊर्जा बजारमा कुल खपतको २० प्रतिशत तेल यही मार्गबाट आपूर्ति हुने गरेको छ । 

अमेरिका र इजरायलले इरानलाई आक्रमण गर्नुअघिको तुलनामा अझै पनि तेलको मूल्य २० प्रतिशत महँगो रहेको बताइएको छ । विश्वका ठूला अर्थतन्त्र भएका सात वटा राष्ट्र सम्मिलित जी-७ ले सोमबार बैठक बस्दै तेलको मूल्य वृद्धि भइरहेको अवस्थामा विश्वबजारमा ऊर्जा  आपूर्तिलाई सम्बोधन गर्न 'आवश्यक उपाय' लिन तयार रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र जी-७ राष्ट्रका अर्थमन्त्रीसहितको बैठकले तेल भण्डारणलाई फुकुवा गर्ने-नगर्नेबारे भने निर्णय नलिए पनि छलफल गर्दै छिट्टै जी-७ ऊर्जामन्त्रीको बैठक बोलाउने भनेको छ ।  

कान्तिपुर

Link copied successfully