खाडी तनावसँगै काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा भारी गिरावट

काठमाडौंबाट हिमालय एयरलाइन्स, जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल वायुसेवा निगमका दैनिक १७ हाराहारी उडान कटौती।

फाल्गुन २५, २०८२

सुरज कुँवर

Kathmandu Airport's international flights drop sharply amid Gulf tensions

काठमाडौँ — इरानी भूमिमा अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही बढेपछि त्यसको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ । खाडीका नौ मुलुकले आफ्नो आकाशमा उडान बन्द गर्दा काठमाडौंमा अन्तर्राष्ट्रिय उडान चहलपहल र यात्रु संख्या १६ फागुनपछि तीव्र रूपमा घटेको काठमाडौं विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जनाएका छन् । 

अघिल्ला दिनमा स्थिर रहेको अन्तर्राष्ट्रिय उडान चहलपहल, इरानमा आक्रमण भएको दिनदेखि नै बिग्रिएको विमानस्थलको तथ्यांक छ । १५ फागुनमा अन्तर्राष्ट्रिय उडान ५४ प्रस्थान, ५२ आगमन गरी १ सय ६ वटा आवागमन भएकामा १६ फागुनमा ४९ आगमन र ४१ वटा उडान प्रस्थान गरी ९० वटा मात्रै भएका थिए । विमानस्थलका अनुसार शनिबारयता दिनको ४४ प्रतिशत हाराहारीले उडान सञ्चालनमा गिरावट आएको छ । १६ फागुनयता ७४ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छैनन् ।

यात्रु संख्याको तथ्यांकले पनि त्यस्तै अवस्था देखाउँछ । १५ फागुनमा काठमाडौंबाट दुईतर्फी १६ हजार ९ सय २ यात्रु आवागमन भएको थियो । यसमा काठमाडौंबाट विदेशिने ८ हजार १ सय १५ र काठमाडौं आउने ८ हजार ७ सय ८७ थिए । तर त्यसपछि यो संख्या घट्दो छ । बिहीबार काठमाडौं विमानस्थलमा दुईतर्फी ६ हजार ८ सय २ जनाले ओहोरदोहोर गरे । सामान्य दिनको दाँजोमा यो ६० प्रतिशत हाराहारीले कम हो ।

काठमाडौं विमानस्थलमा हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगम गरी ७ वटा वायुसेवाले खाडी क्षेत्रको उडान गर्दै आएका थिए । तर हालसम्म फ्लाई दुबईले मात्रै निश्चित संख्यामा यात्रु उद्धार उडान थालेको छ । बाँकी कतार एयरवेज, एयर अरेबिया, कुवेत एयरवेज र जजिरा एयरवेजले नेपाल उडान जारी राखेका छैनन् । फ्लाई दुबईले पनि उद्धार उडानलाई निरन्तरता दिएको छैन ।

इरानमा आक्रमण भएयता काठमाडौं–खाडीलगायत संसारका अन्य मार्गमा सञ्चालन हुने प्रमुख वायुसेवा कम्पनीको उडान संख्यामा पनि ठूलो गिरावट आएको हो । फ्लाइट ट्र्याकिङ प्लाटफर्म फ्लाइटराडारका अनुसार २७ फेब्रुअरीसम्म स्थिर रहेका यी उडान २८ फेब्रुअरीमा नाटकीय रूपमा घटेका छन् । तथ्यांकअनुसार एयर अरेबियाको उडान संख्या १५ फागुनको २ सय ४८ बाट घटेर १६ फागुनमा ८४ मा झरेको थियो । एमिरेट्स एयरलाइन्सको उडान संख्या ५ सय ३१ बाट घटेर २ सय २४ मा सीमित बनेको थियो । इतिहाद एयरवेजको उडान ३ सय ३४ बाट घटेर ९० मा सीमित भएको थियो । त्यस्तै नेपालमा दैनिक तीन उडान गर्ने फ्लाई दुबईको उडान पनि ३ सय ४३ बाट घटेर १ सय ८ मा झरेको थियो ।

यो अवरोध मार्चको पहिलो साता (१७ फागुनपछि) पनि जारी छ । १ मार्चपछि यो संख्या झन् भयावह देखिन्छ । फ्लाइटराडारको तथ्यांकले यी चार प्रमुख खाडीवाहक अन्तर्राष्ट्रिय वायुसेवाको कुल उडान संख्या २७ फेब्रुअरीमा १ हजार ४ सय ५६ रहेकामा २८ फेब्रुअरीमा घटेर ५ सय ६ मा झरेको देखाउँछ । जुन ६५ प्रतिशतको गिरावट हो । २१ फागुनपछि भने यी वायुसेवाको उडान संख्या बिस्तारै सुधार भएर ४ सय ८६ पुगेको थियो । फ्लाइटराडारका अनुसार, इरानमाथिको आक्रमणपछि मध्यपूर्वको हवाई क्षेत्र बन्द हुँदा काठमाडौं–खाडी मार्गमा सञ्चालन हुने धेरै उडान प्रभावित भए । धेरै वायुसेवा कम्पनीले आफ्नो उडान मार्ग परिवर्तन गरे वा उडान नै रद्द गरे ।

अवरोधपछि काठमाडौंबाट हिमालय एयरलाइन्स, जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, कतार एयरवेज र नेपाल वायुसेवा निगमका दैनिक १७ हाराहारी उडान कटौती भएका छन् । इरानमाथि संयुक्त अमेरिका–इजरायल आक्रमणपछि जबाफी हवाई हमलामा नागरिक उड्डयनसँग सम्बद्ध गैरसैनिक उडानको सुरक्षाका लागि विदेशी वायुसेवाले मध्यपूर्वमा धेरै उडान सञ्चालनमा रोक लगाएको भनेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully