५१ हजार नेपालीले टिपाए आफ्नो विवरण

विवरण दर्ता गराएका श्रमिकको अवस्था हेरेर प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाउँदै परराष्ट्र मन्त्रालय

फाल्गुन २५, २०८२

होम कार्की

काठमाडौँ — खाडी क्षेत्रमा कार्यरत ५० हजारभन्दा बढी नेपाली श्रमिकले आफ्नो अवस्थाबारे सरकारलाई जानकारी गराएका छन् । अमेरिका–इरान युद्धका कारण खाडी क्षेत्रमा तनाव बढ्दै गएपछि सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकको विवरण लिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि कन्सुलर विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा ५१ हजार ४ सय ५ जना नेपाली श्रमिकले विवरण दर्ता गराएका हुन् । विभागले १९ फागुनमा अनलाइन दर्ता प्रणाली सुरु गरेको हो । 

विवरण दर्ता गराएका श्रमिकको अवस्था हेरेर प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘अनलाइनमा आफ्नो अवस्था राखेका आधारमा हामीले को नेपाली सुरक्षित र असुरक्षित भनेर पहिचान गरेका छौं । जसले असुरक्षित भनेर विवरण राखेको छ । उसलाई दूतावासमार्फत बुझ्ने काम हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘एकदमै असुरक्षित भएको पहिचान भएमा प्राथमिकताका आधारमा उद्धार प्रक्रिया अगाडि बढाइनेछ ।’ 

समस्यामा परेका नेपालीका लागि रोजगारदातासँग समेत समन्वय गर्ने काम गरिने उनले जनाए । ‘खाडीमा रहेका सबै नेपालीलाई आफ्नो अवस्थाका बारेमा जानकारी दिन अनलाइन फाराम भर्न आग्रह गरेका छौं,’ उनले भने । अनलाइन फारम भरेकामध्ये कति जनाले सुरक्षित र असुरक्षित भनेर खुलाएको भन्ने विभागले सार्वजनिक गरेको छैन ।

२८ फेब्रुअरीबाट सुरु भएको अमेरिका–इरान यद्धका कारण काठमाडौं र खाडी मुलुकबीचको हवाई सेवा १० दिन बन्द भएको थियो । हाल यूएईबाट आंशिक रूपमा उडान भइरहेको छ । दोहा–काठमाडौं उडान भने अझै सुरु भएको छैन । कतार एयरवेजले आइतबार युरोपका सीमित गन्तव्यमा भने उडान गरेको छ । उडान अवरुद्ध हुँदा नेपालीसहित सयौं यात्रु खाडी मुलुकका विभिन्न सहरमा अलपत्र परेका छन् । त्यस्तै नेपाली श्रमिकहरू स्वदेश फर्कन पाएका छैनन् । 

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले इजरायलसहित खाडीका कतार, साउदी अरब, यूएई, बहराइन, ओमान र इराकका विभिन्न स्थानमा आक्रमण जारी राखेको छ । कुवेतले इरानले आफ्नो देशलाई नै निसाना बनाएको आरोप लगाएको छ । युद्ध चर्किंदै गएपछि इरानले पनि खाडीका विभिन्न क्षेत्रमा प्रत्याक्रमण तीव्र पार्दै लगेको छ । युद्धका कारण खाडी मुलुकमा उद्योग–व्यवसाय र व्यापार भने बन्द नभए पनि निर्माण क्षेत्र र तेल–ग्यास परियोजनाको काममा भने असर परेको छ । निर्माण क्षेत्र र तेल–ग्यास परियोजनामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । 

इरानको मिसाइल आक्रमणबाट एक जना नेपालीको मृत्युसमेत भएको छ । १८ फागुनमा आबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो । दिवस मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । यूएई सरकारले इरानी आक्रमणमा यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको जनाएको थियो । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका १–१ जना नागरिकको मृत्यु भएको उल्लेख गरेको थियो । त्यसयता इरानले खाडी मुलुकहरूमा आक्रमण जारी राखेको छ । 

यूएईको परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा देशका विभिन्न पूर्वाधार तथा सर्वसाधारण लक्षित गर्दै १४ सयभन्दा बढी मिसाइल र ड्रोन प्रहार भएको उल्लेख गरिएको छ । इरानी हमलाका कारण खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरू त्रसित छन् । बहराइनमा कार्यरत गजेन्द्र तामाङले काम केही दिन रोकिएर पुनः सुरु भए पनि त्रास भने रहेको बताए । ‘जब आकाशमा मिसाइल आउँछ । त्यतिबेला निकै खतराको महसुस हुन्छ । के हुन्छ भनेर त्रास हुन्छ,’ उनले भने, ‘निस्तेज बनाएको मिसाइलको टुक्रा कहाँ खस्छ भनेर केही भन्न सकिँदैन ।’ उनले विमानस्थल बन्द रहेकाले स्वदेश फर्कने अवस्था पनि नरहेको बताए ।

नेपाली श्रमिक बिस्तारै परिस्थितिसँग जानकार हुँदै गएको आबुधावीस्थित नेपाली दूतावासका प्रवक्ता रञ्जिता दाहालको भनाइ छ । ‘पहिला जुन तहको डरत्रास थियो । अहिले कम हुँदै गएको देखिन्छ,’ उनले भनिन्, ‘परिस्थिति अनुसार आफूलाई सम्हाल्दै गइरहेको देखिन्छ ।’ उनका अनुसार दूतावासले २४ घण्टा नै हटलाइन सेवा दिइरहेको छ । ‘कोही आपत्विपत् परेर तुरुन्तै नेपाल जान चाहेकालाई हामीले एयरलाइन्ससँग समन्वय गरिरहेका छौं,’ उनले भनिन्, ‘यहाँ जोखिम क्षेत्रबाहेकको स्थानमा काम भइरहेको छ ।’

उता कुवेतमा ट्रान्जिटमा अलपत्र परेका ५० जना नेपालीलाई नेपाली दूतावास र गैरआवासीय नेपाली संघले समन्वय गरी खाना र आवासको व्यवस्था मिलाएको परराष्ट्रले जनाएको छ । परराष्ट्रले खाडी क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई सरकारले नजिकबाट नियाल्ने क्रम जारी राखेको जनाएको छ ।

‘सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानुन विपरीत हुने किसिमका फोटो वा भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नुहुन विशेष आग्रह गर्दछ,’ शनिबार जारी विज्ञप्तिमा परराष्ट्रले भनेको छ, ‘कुनै समस्या आइपरेमा सम्बन्धित मुलुकस्थित नेपाली नियोगले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully