अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा पेट्रोलियम पदार्थको भण्डारणबारे बैठकमा छलफल हुनेछ ।
काठमाडौँ — कच्चा तेलको मूल्य प्रति ब्यारेल एक सय डलर नाघेपछि जी-७ राष्ट्रले सोमबार आकस्मिक बैठक डाकेका छन् । औद्योगिक राष्ट्रहरूका अर्थमन्त्री र यूके चान्सलर रचेल रिभ्ससहितको बैठकले युद्धका कारण अर्थतन्त्रमा परेका प्रभावबारे छलफल गर्ने बताइएको छ ।
क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिका सम्मिलित अग्रणी औद्योगिक राष्ट्रहरूको समूह नै जी-७ हो ।
अमेरिका-इजरालयले इरानविरुद्ध संयुक्त रुपमा आक्रमण गरेपछि तेलको मूल्य र सेयर बजारसमेत वृद्धि भएको छ ।
'स्ट्रेट अफ हर्मुज' हुँदै आपूर्ति हुने तेल युद्धका कारण अवरुद्ध भएकाले विश्व बजारमा तेलको मूल्य सोमबार प्रतिब्यारेल १२० डलर नजिक पुगेको छ । यूकेको सेयर बजार सूचकांक (एफटीएसई १००) सुरुवातमै १.५ प्रतिशतले घटेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा आपतकालिन् पेट्रोलियम पदार्थको भण्डारण 'रिलिज' गर्ने बारे पनि जी-७ बैठकमा छलफल हुने दी फाइनान्सियल टाइम्समा उल्लेख छ । 'स्ट्रेट अफ हर्मुज' बाट हुने तेल आपूर्ति अवरुद्ध हुँदा विश्ववभर उपभोक्ता र व्यवसायी मारमा परेका छन् ।
सामान्यतया विश्वको पाँच भागमध्ये एक भाग तेल 'स्ट्रेट अफ हर्मुज' जलमार्गबाटै आपूर्ति हुँदै आएको छ । तर एक साताअघि सुरु भएको युद्धका कारण यो साँघुरो जलमार्गमा जहाज आवातजावत ठप्पजस्तै भएको छ ।
आइतबार इरानले आयतुल्लाह अली खामेनेईको उत्ताराधिकारीका रुपमा उनका छोरा मोज्तबा खामेनेईलाई सर्वोच्च नेता बनाउने घोषणा गरेको छ ।
सप्ताहन्तमा अमेरिका र इजरायलले फेरि इरानका तेल भण्डारण स्थलहरुमा हवाई आक्रमण गरेका छन् । सोमबार बिहान सुरु भएको एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य झन्डै २५ प्रतिशतले बढेर प्रतिब्यारेल ११९.५० डलर पुगेको हो । पछि घटेर प्रति ब्यारेल १०९ डलर पुग्यो ।
अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट क्रुड तेलको मूल्य वृद्धि पनि त्यस्तै देखिएको छ । यो झन्डै प्रतिब्यारेल १०४ डलर पुगेको छ ।एसिया प्यासिफिक क्षेत्रका सेयर बजार घट्न थालेको छ । जापान, दक्षिण कोरियका सेयर बजार पनि घट्न थालेको छ ।
पिटरसन इन्स्टिच्युटका अन्तर्राष्ट्रिय अर्थतन्त्रका जानकार अडनान माजरेईले खाडी तथा पश्चिम एसियाका केहि मुलुकमा द्वन्द्व कारण तेलको उत्पादन रोकिएको र अन्य कारणहरुले गर्दा तेलको मूल्य वृद्धि हुनु अपेक्षित रहेको बताए ।
'मानिसहरुले यो युद्ध तत्काल टुंगिँदैन भन्ने बुझिसके,' उनले थपे, 'अमेरिकाले गरेको बिमा र अन्य वाचा तथा प्रतिबद्धताहरु अपत्यारिलो देखिन्छन् ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो तेलको मूल्य वृद्धिबारे उठेका चासो र चिन्तालाई अस्विकार गर्दै आएका छन् । आइतबार उनले ट्रुथ सामाजिक सञ्जाल प्लेटफर्ममार्फत 'इरानको आणविक खतरा समाप्त भएपछि तेलको मूल्य वृद्धि घट्ने' दाबी गरेका थिए ।
आइतबार अमेरिकी ऊर्जा मन्त्रीले इरानका तेल पूर्वाधारहरूमा भएको आक्रमणको जिम्मा लिन अस्वीकार गरे । उनले भने, 'इरानको ऊर्जा पूर्वाधारमा अमेरिकाले नभई इजरायलले आक्रमण गरेको हो । युद्धका कारण देशभित्र पेट्रोलको मूल्य वृद्धि हुने चिन्ता पनि बढिरहेको छ ।'
