१ चैतमा आर्थिक प्रस्तावको मूल्यांकन हुँदै, त्यही महिनाभित्र सम्झौता गरिसकिने आयोजनाको दाबी
काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि प्राविधिक मूल्यांकनमा ७ कम्पनी छानिएका छन् । अब १ चैतमा आर्थिक प्रस्तावको मूल्यांकन सुरु गरिने आयोजनाले जनाएको छ । सुरुङ सञ्चालन गर्न खरिद प्रक्रियामा सहभागी १० मध्ये ७ कम्पनी सफल भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।
‘१५ फागुनमा सात कम्पनी सर्टलिस्ट भएका छन्,’ नेपालले भने, ‘अब सर्टलिस्टमा परेका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोल्ने आशयको सूचना सार्वजनिक रूपमा प्रकाशन गरिसकिएको छ ।’ १ चैतमा आर्थिक प्रस्ताव खोलेर बढीमा १० दिनभित्रमा टुंगो लगाइसकिने उनको भनाइ छ । आर्थिक प्रस्तावबाट एउटा कम्पनी छानेर चैतभित्र सुरुङ सञ्चालनका लागि सम्झौता गरिसकिने आयोजनाले जनाएको छ ।
‘प्रतिस्पर्धाबाट छानिने कम्पनीले जनशक्ति छिटो परिचालन गरेको खण्डमा त्यहीअनुसार तालिम सञ्चालन हुन्छ,’ नेपालले भने । वैशाखभित्र परीक्षणका रूपमा भए पनि सुरुङ सञ्चालन गर्ने आयोजनाको तयारी छ । नागढुंगा उकालोमा दैनिक हुने ट्राफिक जामलाई दृष्टिगत गर्दै सरकारले या सुरुङ निर्माणको परिकल्पना गरेको थियो ।
सुरुङ सञ्चालन गर्ने विषय आयोजना कार्यालय, सडक विभागसँग मात्र निर्भर रहने छैन । निर्वाचनपछि बन्ने नयाँ सरकारको चासो यसमा रहने हुँदा त्यहीअनुसार सुरुङ सञ्चालन गरिने आयोजना स्रोतले बताएको छ । सुरुङको काम ९८ प्रतिशत सकिइसकेको छ । अहिले धादिङतर्फ पहिरो व्यवस्थापन र टोल प्लाजा बनाउनेबाहेक सबै काम सकिइसकेको छ । बाँकी काम पनि सकिने चरणमै रहेको आयोजनाको दाबी छ ।
सुरुङ सञ्चालन गर्ने प्रतिस्पर्धामा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्किस कम्पनी सहभागी थिए । अहिले ‘सर्टलिस्ट’ मा ६ चिनियाँ र एउटा भारतीय कम्पनी नेपाली कम्पनीसँग ज्वाइन्ट भेन्चर (जेभी) मा छन् । चीन सरकारको स्वामित्वमा रहेका र कालोसूचीमा परेका कम्पनी छान्न नहुने जापान सरकारले अडान लिए पनि अहिले सेवा प्रदायकको अन्तिम प्रतिस्पर्धामा सबैभन्दा बढी नै चिनियाँ कम्पनी छन् ।
प्राविधिक मूल्यांकनमा पास हुने कम्पनीमा काष्ठमण्डप–गान्सु हेङटङ जेभी, एसएक्सआरबी–ब्राइट बुल जेभी छन् । यस्तै जेटीसीजी–डाँफे जेभी, चाइना फस्ट हाइवे इन्जिनियरिङ–समानान्तर जेभी, युसिन–एआरटी जेभी र वेदांशी–र्यानकेन जेभी छन् । यी सबै चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग जेभीमा बोलपत्र पेस गरेका हुन् । ईएमएसएल–पीएससीपीएल जेभी भने भारतीय कम्पनी हो ।
समयमै सेवा प्रदायक छनोट गर्न नसक्दा सुरुङ सञ्चालनमा समय लागेको हो । सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरियो ।
यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेका प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकिएको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको थियो । सुरुङ सञ्चालनमा १ सय ५० जना जनशक्ति परिचालन हुनेछन् । त्यसका लागि तालिमको समय दुई महिना छुट्याइएको छ । सुरुङ सञ्चालनमा खटिने कर्मचारीको व्यवस्थापन छनोट हुने सेवा प्रदायकले गर्नेछ । सहभागी जनशक्तिलाई परीक्षणका रूपमा सुरुङ सञ्चालन गरेर देखाइनेछ ।
अन्तर्राष्ट्रिय बोलपत्र भएकाले नेपाली कम्पनीसँग विदेशी कम्पनीलाई अनिवार्य रूपमा जोइन्ट भेन्चर गराइएको आयोजनाले जनायो । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुनेछ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।
पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । यसको अनुगमन सडक बोर्ड नेपालले नै गर्नेछ ।
निर्माणका क्रममा पहिरो व्यवस्थापन, परामर्श सेवालगायतमा रकम अपुग भएर जापानसँग थप ऋण लिने तयारीमा रहेको आयोजनाले जनाएको छ । यसका लागि नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले टुंग्याउनुपर्ने भए पनि अहिलेसम्म टुंगिनसकेको आयोजनाको भनाइ छ । अहिले करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्न लागिएको हो । अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।
