निर्वाचनमा १९ अर्ब ६२ करोड निकासा, ९० प्रतिशत खर्च अनुमान

अर्थ मन्त्रालयले १९ अर्ब ६२ करोड रुपैयाँ निकासा गरेकामा करिब ९० प्रतिशत खर्च भएको अनुमान

फाल्गुन २२, २०८२

यज्ञ बञ्जाडे

19.62 billion rupees released for elections, 90 percent of expenditure estimated

काठमाडौँ — २१ फागुन अर्थात् बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले १९ अर्ब ६२ करोड रुपैयाँ निकासा गरेकामा करिब ९० प्रतिशत खर्च भएको अनुमान छ । यसअघिका दुई निर्वाचनमा विनियोजन रकमको करिब ९० प्रतिशत खर्च भएकाले यस वर्ष पनि सोही हाराहारीमा खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

अहिल्यै खर्च अनुमान गर्न भने नसकिने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । ‘अघिल्ला दुई निर्वाचन— स्थानीय र प्रतिनिधिसभाको निर्वाचनमा खर्चका लागि स्रोत सहमति दिएको रकममा क्रमशः ९०.८० र ९१.३७ प्रतिशत खर्च भएको छ,’ उनले भने, ‘यस वर्ष हामी खर्चलाई निकै मितव्ययी बनाउने प्रयास गरेका छौं । यसकारण कि गत वर्षभन्दा कम नभए पनि सोही हाराहारीमा खर्च हुने प्रारम्भिक अनुमान छ ।’

निर्वाचनका लागि खर्च गर्ने मुख्य निकाय निर्वाचन आयोग, रक्षा मन्त्रालय र गृह मन्त्रालयसँग पर्याप्त छलफल गरी स्रोत सहमति दिएकाले विनियोजन रकमभित्रैबाट निर्वाचन खर्च पुग्ने अर्थ मन्त्रालयको अनुमान छ ।

निर्वाचनका लागि गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्च अनुमान गरेर आवश्यक बजेटका लागि अर्थमा प्रस्ताव पठाइएको थियो ।

तर अर्थ मन्त्रालयले सुरुमा कुल १९ अर्ब १० करोड रुपैयाँ रकम निकासा गरेको थियो । यसमध्ये निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड, गृह मन्त्रालय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यलय) लाई १० अर्ब ३९ करोड र नेपाली सेना (रक्षा मन्त्रालय) लाई १ अर्ब ९९ करोड विनियोजन गरिएको थियो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले बजेट अपुग भएको बताएपछि अर्थ मन्त्रालयले थप ५२ करोड रुपैयाँ थपिदिएको थियो । थपिएको ५२ करोडमध्ये ४९ करोड सशस्त्र प्रहरी र ३ करोड नेपाल प्रहरीलाई विभाजन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । उल्लिखित रकम यस वर्षको बजेटको चालु खर्च शीर्षक र खर्च विविधबाट जुटाइएको अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले बताए ।

यस वर्षको निर्वाचनका लागि सरकारले विभिन्न राष्ट्र तथा निकायबाट पनि सहयोग लिएको छ । यसअनुसार संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) ले सरकारको अनुमतिमा निर्वाचन आयोगसँग मिलेर विभिन्न किसिमका मतदाता साक्षरता कार्यक्रममा खर्च गरेको छ । यो सहयोग सरकारलाई नगदका रूपमा प्राप्त नभई यूएनडीपीले सिधै निर्वाचन आयोगसँगको सहकार्यमा गरेको हो ।

जापानले निर्वाचन प्रयोजनका लागि बजेट प्रणालीमार्फत खर्च हुने गरी ३९ करोड रुपैयाँ र चीनले ५६ करोड रुपैयाँ सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रकम सरकारलाई प्राप्त भएर अर्थ मन्त्रालयले बजेटरी प्रणालीमार्फत खर्चिएको हो ।

भारत सरकारले निर्वाचनमा वस्तुगत सहायता गरेको छ । यसअनुसार ६ सय ५० सवारी र बाँकी सुरक्षा सामग्री सहयोग प्राप्त भएको हो । प्राप्त सवारीसाधनमध्ये १ सय ५० वटा ठूला सवारी (ट्रक) र बाँकी स्कर्पिओ तथा बोलेरो रहेको बताइएको छ ।

केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षाका लागि १ लाख ४७ हजार संख्यामा निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी) भर्ना गरेको छ । निर्वाचन प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर प्रहरी जवानसरह पारिश्रमिक, पोसाक र रासन भत्ता, यातायात खर्च, खाजा भत्तालगायतमा ९ अर्ब १५ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको थियो ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १८ अर्ब ५ करोड ४८ लाख रुपैयाँ बजेट निकासा गरिएको थियो । यसमध्ये निर्वाचन आयोगलाई ८ अर्ब ३५ करोड २ लाख, गृह मन्त्रालयलाई ८ अर्ब ७२ करोड ७३ लाख र रक्षा मन्त्रालयलाई ९७ करोड ७३ लाख रुपैयाँ निकासा दिइएको थियो । तर, उक्त निर्वाचनमा १६ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो कुल निकासा रकमको ९१.३७ प्रतिशत हो ।

निकासा भएको रकममध्ये निर्वाचन आयोगले ८ अर्ब ८१ करोड ३२ लाख (८१.५९ प्रतिशत), गृह मन्त्रालयले ८ अर्ब ७० करोड ६८ लाख (९९.७७ प्रतिशत) र रक्षा मन्त्रालयले ९७ करोड ७३ लाख (शतप्रतिशत) रकम खर्च गरेको अर्थको तथ्यांक छ ।

आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहको निर्वाचनमा सरकारले १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ बजेट निकासा गरेको थियो । निकासा भएको रकमको ९०.८० प्रतिशत खर्च भएको थियो । आर्थिक वर्ष २०७८/७९ को निर्वाचन आयोगलाई ६ अर्ब १४ करोड ९९ लाख, गृह मन्त्रालयलाई ६ अर्ब ५३ लाख ४७ करोड र रक्षा मन्त्रालयलाई ६३ करोड ८ लाख रुपैयाँ छुट्याइएको थियो ।

त्यतिबेला निर्वाचन आयोगले ४ अर्ब ९६ करोड ३१ लाख (८०.७० प्रतिशत), गृह मन्त्रालयले ६ अर्ब ४९ करोड ७८ लाख (९९.४३ प्रतिशत) र रक्षा मन्त्रालयले ६२ करोड ८९ लाख (९९.७० प्रतिशत) खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully