मंगलबारदेखि शनिबारसम्म सुरुङमार्गको काम बन्द हुने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।
काठमाडौँ — चुनावका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । निर्माणमा संलग्न कामदारहरु मतदान गर्न आफ्नो जिल्ला गएकाका कारण केही दिन काम नहुने आयोजनाले जनाएको छ ।
मंगलबारदेखि शनिबारसम्म सुरुङमार्गको काम बन्द हुने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए ।
‘यही बेला होली पर्यो, निर्वाचन पनि भयो,’ उनले भने, ‘सुरुङको धेरै काम सकिसकेको छ, धादिङतर्फ पहिरो नियन्त्रणको काम भइरहेको थियो, अब केही दिनकालागि सुरुङको काम रोकिएको छ ।’
आउँदो आइतबारबाट पहिला जस्तै नियमित रुपमा काम हुने उनको भनाई छ । सुरुङमार्गमा काम गर्ने नेपाली कामदार मतदान गर्न गएको उनले सुनाए । यो अबधीमा सुरुङ भित्रबाट आउजाउ गर्न पनि बन्द गरिएको आयोजनालो जनाएको छ ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । अहिलेसम्म यसको निर्माण प्रगति ९८ प्रतिशत छ । अहिले सेवाप्रदायक कम्पनी छान्ने काम अन्तिम चरणमा छ । सेवा प्रदायक छानेपछि सुरुङ सञ्चालनको प्रक्रिया अघि बढ्ने छ । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो ।
मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।
