विश्व बजारमा सुनको मूल्य घट्दा नेपालमा एकै दिन ११ हजार रुपैयाँको गिरावट

धेरै विदेशी लगानीकर्ताले भारतमा गरेको लगानी फिर्ता लगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यहीकारण भारु कमजोर र डलर बलियो बनेको हो । भारु कमजोर भएपछि नेपाली मुद्रा पनि स्वतः कमजोर भएको हो ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Gold prices in Nepal fall by Rs 11,000 in a single day as global market prices fall

काठमाडौँ — अमेरिकी डलरको मूल्य बढ्न थालेसँगै नेपालमा सुनको मूल्य घट्न थालेको छ । र, एकै दिन तोलामा ११ हजार रुपैयाँले घटेको छ । पछिल्ला केही दिनदेखि बढिरहेको सूनको मुल्य बुधबार घटेको छ । भारुको तुलनामा डलर बलियो भएपछि स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ स्वतः कमजोर बनेको हो । 

पछिल्ला महिनामा भारुको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बनिरहेको छ । बुधबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ९२ पुगेको छ । यो हालसम्मकै उच्च हो । खासगरी अमेरिकासँगको व्यापारमा समस्या आएपछि भारु निरन्तर कमजोर बन्दै गएको छ । धेरै विदेशी लगानीकर्ताले भारतमा गरेको लगानी फिर्ता लगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यहीकारण भारु कमजोर र डलर बलियो बनेको हो । भारु कमजोर भएपछि नेपाली मुद्रा पनि स्वतः कमजोर भएको हो । 

विश्वबजारमा पनि डलर बलियो बनेको छ भने सुनको मूल्य घटेको छ । हाल विश्वबजारमा सुनको मूल्य घटिरहेको र भारु पनि कमजोर बनिरहेको छ । यसको संयुक्त असर नेपालको सुन बजारमा पनि परेको हो । 

नेपाली बजारमा आइतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार बढेर ३ लाख २६ हजार १ सय रुपैयाँ पुगेको थियो । मंगलबार पनि तोलामा २५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलामै ११ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । डलरको मूल्य बढ्न थालेसँगै सूनको मूल्य घटेको महासंघका महासचिवले किरणभाइ बज्राचार्यले बताए । ‘मूल्यवृद्धि हुन थालेपछि अन्तर्राष्ट्रिय केन्द्रीय बैंकले डलरमा लगानी गर्न थाले, त्यसले गर्दा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घट्न थाल्यो,’ उनले भने ।

इरान र इजरायलको युद्धले पश्चिम एसिया तनावपूर्ण अवस्थामा रहँदा कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ । लगानीकर्ताले पनि कच्चा तेलमा लगानी गर्न थालेको र स्थानीय बजारमा सुनको माग कम भएको समेत बज्राचार्यले जनाए । ‘सुनको मूल्य त्यति धेरै अन्तरले घट्दैन, तोलाको ३ लाख वरिपरि पुग्न सक्छ,’ उनले भने, ‘तोलामै २ लाख, साढे २ लाखमा भने झर्दैन ।’ बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १ सय ८४ डलरमा कारोबार भइरहेको छ । 

नेपालमा सुन यूएईबाट मात्रै आयात हुने गरेको छ । सुनका गरगहना भने कतारलगायत अन्य मुलुकबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षका सात महिनामा यूएईबाट ३७ अर्ब ६ करोड रुपैयाँ बराबरको सुन, चाँदी र तामाको तार आयात भएको छ । अन्य वस्तुसमेत गरेर सात महिनामा यूएईबाट ४१ अर्ब रुपैयाँ बराबरको आयात गरिएको छ ।

यूएईबाट सुन–चाँदी हवाईमार्गबाट ल्याउने गरिए पनि बुधबारसम्म आकस्मिक उडान मात्रै सुरु भएको छ । हवाईमार्ग पनि लामो समयसम्म बन्द रहेमा सुनको समेत आयात रोकिने अवस्था रहेको जानकार बताउँछन् । खाडी मुलुकबाट आयात हुने अन्य वस्तु ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाटै आउँछ ।

‘स्ट्रेट अफ हर्मुज’ इरान र ओमानबीचको जलमार्ग हो । यसले खाडीलाई अरब सागरसँग जोड्छ । विश्वको कुल तेल खपतको २० प्रतिशत बराबरको तेल ढुवानी गर्ने ट्यांकर साउदी अरब, इराक, इरान, यूएई, कुवेत, कतालगायत उत्पादकका कार्गोले समेत यही मार्ग प्रयोग गर्छन् । इरान–इजरायल युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग ठप्पप्रायः छ । त्यसकारण उल्लिखित देशले कच्चा तेलका लागि वैकल्पिक विकल्प खोज्न थालिसकेका छन् । 

यसैबीच बुधबार रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले चीन र भारतमा तेल आपूर्ति बढाउन तयार रहेको बताए । ‘स्ट्रेट अफ हर्मुज’ मा बढ्दो तनावका बीच रुसको यो प्रस्तावले आपूर्तिमा एउटा सम्भावित सुरक्षा कवच (बफर) को काम गर्न सक्नेसमेत नोभाकले बताएको इन्टरफ्याक्स समाचार एजेन्सीमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ‘स्ट्रेट अफ हर्मुज’ मार्फत हुने तेल ट्यांकरहरूलाई सुरक्षा (एस्कर्ट) दिन तयार रहेको बताएका थिए । त्यसको जवाफमा बुधबार इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ ले विश्वव्यापी तेल र ग्यास ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण र रणनीतिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’माथि पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ । ‘अहिले स्ट्रेट अफ हर्मुज पूर्ण नियन्त्रणमा छ । उक्त मार्ग भएर यात्रा गर्ने जहाजहरूले मिसाइल वा अनियन्त्रित ड्रोनसहितका विभिन्न जोखिमको सामना गर्नुपर्ने हुन सक्छ,’ गार्ड्स नेभीका अधिकारी मोहम्मद अकबरजादेहले फार्स न्युज एजेन्सीलाई भनेका छन् । 

भारतको कच्चा तेल आयातको दिनहुँ २५ देखि २७ लाख ब्यारेल ‘स्ट्रेट अफ हर्मुज’ भएर आउने भारतको इकोनमिक्स टाइम्समा उल्लेख छ । मुख्यतया इराक, साउदी अरब, यूएई र कुवेतबाट आयात हुने तेलसमेत ‘स्ट्रेट अफ हर्मुज’ हुँदै आउँछ । यस क्षेत्रमा भइरहेका सैन्य आक्रमणले कार्गो ढुवानीमा अवरोध पुर्‍याएपछि भारतीय रिफाइनरी (तेल प्रशोधन केन्द्र) वैकल्पिक स्रोतको खोजीमा छन् । पश्चिम एसियाका द्वन्द्वका कारण हुन सक्ने कुनै पनि छोटो अवधिको अवरोधलाई व्यवस्थापन गर्न भारतसँग पर्याप्त तेलको भण्डार रहेको समेत भारतीय सरकारी निकायको दाबी छ । 

तेलको मूल्य प्रतिब्यारेल एक सय डलर पुग्ने अनुमान गरिरहेका बेला बुधबारको सुरुवाती कारोबारमा १ प्रतिशतले मात्रै वृद्धि भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने ढुवानीमा अमेरिकी नेभीले सुरक्षा दिन सक्ने बताएपछि अघिल्ला दिनको तुलनामा मूल्यवृद्धिमा केही सुस्तता आएको रोयटर्समा उल्लेख छ । मंगलबार प्रतिब्यारेल कच्चा तेलको मूल्य ८२ डलरसम्म पुगेको थियो । जुन सन् २०२५ जनवरी यताकै उच्च हो । बुधबार साँझसम्म भने प्रतिब्यारेल ८० डलरमा कारोबार भइरहेको छ । 

यसैबीच पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) को दोस्रो ठूलो कच्चा तेल उत्पादक राष्ट्र इराकले आफ्नो उत्पादनमा दैनिक १५ लाख ब्यारेलले कटौती गरेको छ । जुन कुल उत्पादनको लगभग आधा रहेको बताइएको छ । भण्डारणको सीमा र निर्यात मार्गको अभावका कारण उत्पादन कटौती गरेको जनाइएको छ । निर्यात पुनः सुरु नभए इराकले केही दिनभित्रै दिनको करिब ३० लाख ब्यारेल उत्पादन ठप्प पार्नुपर्ने अवस्था आउन सक्नेसमेत रोयटर्समा उल्लेख छ । 

इरानले पनि ‘स्ट्रेट अफ हर्मुज’ मा ट्यांकरहरूलाई निसाना बनाएको छ, जहाँबाट विश्वको करिब पाँच भागको एक भाग तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुन्छ । हाल उक्त जलमार्गबाट हुने यातायात प्रभावकारी रूपमा बन्द छ ।

कान्तिपुर

Link copied successfully