दुई दिनमा साढे ५७ अंक बढेर नेप्से बन्द

आइतबार १९.०४ र मंगलबार ३८.५२ अंकले बढ्यो नेप्से, निर्वाचनअघि सेयर बजार नखुल्ने

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता दुई दिन आइतबार र मंगलबार मात्र सेयर बजार खुलेको छ । सोमबार सार्वजनिक बिदा भएकाले सेयर बजार बन्द रह्यो । अब निर्वाचनपछि आउँदो साता सोमबार मात्र सेयर बजार खुल्नेछ ।

निर्वाचनका लागि सार्वजनिक बिदा र नियमित बिदा परेकाले यो साता दुई दिन मात्र सेयर बजार खुलेको हो । आइतबार नेप्से १९.०४ र मंगलबार ३८.५२ अंक गरी दुई दिनमा समग्र ५७.५६ अंकले बढेको छ । गत साता पाँचै दिन सेयर बजार खुलेकामा चार दिन नेप्से परिसूचक बढेको थियो । 

चुनावअघिको अन्तिम कारोबार दिन मंगलबार नेप्से १ दशमलव ४४ प्रतिशतले बढेर २ हजार ७ दशमलव १२.४९ बिन्दुमा उक्लिएको छ । 

कुल २५४ कम्पनीको सेयर मूल्य बढ्यो, ६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार साढे २ सय कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । जसमध्ये सालपा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ९.९९, पञ्चकन्या माई हाइड्रोपावरको ९.८९ र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । यीसँगै २ सय ५४ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । तर ६ वटा कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य घटेको छ । तीमध्ये शुभम् पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी २ दशमलव ५३ प्रतिशतले घट्यो । बाँकी पाँच कम्पनीले पनि शुभम् पावरलाई नै पछ्याएका छन् । २ कम्पनीका सेयरधनी न नाफा न घाटाको अवस्थामा रहे । 

सो दिन कुल ६१ हजार ३ सय २९ पटकको सेयर किनबेचमा १ करोड ५१ लाख ८४ हजार ६ सय ७ कित्ता सेयर किनबेच भएको छ । ती किनबेचमा ६ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत आइतबार बजारमा ५ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् सबैभन्दा अघि छ ।

प्रतिकित्ता ३ सय ७१ रुपैयाँका दरले यो कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, रिदी पावर कम्पनीको २७ करोड ७४ लाख, एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख, मञ्जुश्री फाइनान्सको २२ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापारबाहेक सबैको परिसूचक बढे । तर, व्यापार उपसमूहको परिसूचक ३१ अंकले घट्यो । बढ्ने उपसमूहमध्ये जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२ अंकले बढे । यस्तै, बैंकिङ उपसमूहको परिसूचक १.६४, विकास बैंकको १.५९, वित्त कमपनीको १.४३, होटल तथा पर्यटनको १.६०, जलविद्युत्को २.६०, लगानीको १.५२, जीवन बिमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, लघुवित्त १.६६, सामूहिक लगानी कोष ०.८३, निर्जीवन बिमा १.११ र अन्य १.०३ प्रतिशतले बढे । यो साता दुई दिनको कारोबारमा सेयर बजारको आकार कुल बजार पुँजीकरण ९७ अर्बले विस्तार भएको छ । जसअनुसार गत बिहीबार ४४ खर्ब ६६ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।

कान्तिपुर

Link copied successfully