राष्ट्रिय गौरवका हुलाकी तथा मध्यपहाडी राजमार्ग र सिँचाइ आयोजनाहरूको काम एक साता बन्द
काठमाडौँ — आसन्न निर्वाचन र होलीका कारण कामदार आफ्नो जिल्ला गएपछि साना, मध्यम र राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावित भएको छ । अत्यावश्यकबाहेकका अन्य आयोजनाको काम रोकिएको हो । केही आयोजनाका कर्मचारी पनि निर्वाचनमा खटिएपछि निर्माण प्रगति हुन सकेको छैन । एक साताजति ती आयोजनाको काम रोकिने सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।
निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम मंगलबारदेखि रोकिएको छ । मंगलबारदेखि शनिबारसम्म सुरुङमार्गको काम बन्द हुने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । ‘यही बेला होली पर्यो, निर्वाचन पनि भयो,’ उनले भने, ‘सुरुङको धेरै काम सकिसकेको छ, धादिङतर्फ पहिरो नियन्त्रण भइरहेको थियो, अब केही दिन काम रोकिएको छ ।’ आइतबारदेखि नियमित रूपमा काम हुने उनको भनाइ छ । सुरुङमार्गका नेपाली कामदार मतदान गर्न गएको उनले जानकारी दिए ।
निर्वाचनले निर्माणाधीन सडक र पुलको काम केही दिन प्रभावित हुने हुलाकी राजमार्ग निर्देशानालयका निर्देशक कुवेर नेपालीले बताए । ‘विभिन्न ठेक्कामा कार्यरत नेपाली कामदारहरू मतदान गर्न जाने हुँदा केही दिन काम प्रभावित हुन्छ,’ उनले भने, ‘अब निर्वाचनपछि मात्र कामको गति बढ्छ ।’ राष्ट्रिय गौरवका हुलाकी, मध्यपहाडी राजमार्ग र सिँचाइ आयोजनाको काम पनि प्रभावित बनेको छ । त्यस्तै, नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, आँबुखैरेनी–पोखरा, काँकडभिट्टा–लौकही, कमला–कञ्चनपुर, काठमाडौं/तराई मधेश द्रुतमार्ग, मदन भण्डारी राजमार्गको काम पनि प्रभावित बनेको छ ।
कर्मचारी निर्वाचन गराउन र विभिन्न आयोजनाका कामदार भोट हाल्न जाने हुँदा केही दिन चालु आयोजना काम प्रभावित बनेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए । ‘होली र निर्वाचन एकसाथै जस्तो भयो,’ उनले भने, ‘धेरै कर्मचारी निर्वाचनमा पनि खटिएका छन्, यसले गर्दा सातादिन जस्तो आयोजनाहरूको काम प्रभावित बन्छ ।’
राष्ट्रिय गौरवका ६ आयोजनासहित ३२ वटा ठूला कार्यक्रम चालु रहेको जलस्रोत तथा सिँचाइ विभागका योजना, कार्यक्रम तथा अनुगमन शाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमहरी पराजुलीले बताए । उनका अनुसार निर्माण भइसकेका तर मर्मत गरेर पानी उपलब्ध गराउनुपर्ने ५ वटासहित नदी नियन्त्रण र राष्ट्रिय गौरवका आयोजनालाई चालु आर्थिक वर्षमा करिब ३५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
विभागअन्तर्गत अहिले राष्ट्रिय गौरवका सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, बबई सिँचाइ, सिक्टा सिँचाइ, महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना चालु छन् । यी आयोजनामा होली र चुनावले गर्दा कामको गति घटेको छ । कामदारहरू निर्वाचनका लागि विभिन्न जिल्ला गएका छन् ।
अन्य आयोजनाको काम प्रभावित बने पनि सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको काम नरोकिने सहरी विकास तथा भवन विभागका महानिर्देशक रवीन्द्र बोहराले बताए । ‘संसद् भवन निर्माणमा खटिने कामदार भित्रै बस्छन्, होलीमा पनि आंशिक काम भयो,’ उनले भने, ‘चुनावका बेला काम रोकिँदैन ।’ चुनावलगत्तै भवन चाहिने भएकाले छिटो सक्ने गरी काम भइरहेको उनले सुनाए । ‘चुनावलगत्तै कामदारको संख्या बढाएर दुई/तीन साताभित्र काम सक्ने गरी योजना बनाइरहेका छौं,’ उनले भने, ‘अन्य आयोजनाको हकमा होली र निर्वाचनले काम रोकिन्छ, केही प्रभावित बनेका छन् ।’ यस विभागअन्तर्गत करिब ३० अर्बका १ हजार ५ सय वटा सानाठूला आयोजना चालु छन् ।
अहिले देशभर चालु रहेका आयोजनामा सोचेअनुरूप काम हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘यो वर्ष सोचेअनुरूप काम भइरहेको छैन, कामदारको एकदमै अभाव छ, रोजगारीको सुनिश्चितता नभएपछि विदेशिने धेरै छन्,’ उनले भने, ‘काम गर्ने उमेर समूहका मान्छे पाउनै मुस्किल छ, थोरै समय मात्र काम गर्नेहरू छन्, तर हिजोका दिनमा कृषि कर्मसँगै घर पायकमा आएको काम गरिहाल्ने भन्ने हुन्थ्यो ।’ अहिले काम र भुक्तानीको सुनिश्चितता नहुँदा मजदुरलाई समयमै काम गरेको रकम दिन नपाइएको उनले सुनाए । जसले गर्दा निर्माण क्षेत्रमा विश्वासको संकट उत्पन्न भएको उनको बुझाइ छ ।
उनका अनुसार निर्माण क्षेत्रमा हाल २५ लाख हाराहारी रोजगार छन् । ‘यसमध्ये करिब ७ देखि १० लाखसम्म भारतीय मजदुर छन्,’ उनले भने, ‘अहिले होली र निर्वाचनले गर्दा धेरै आयोजनाको काम प्रभावित बनेको छ, भोट पनि हाल्न पाइने, घर पनि जान पाइने भनेर धेरैजसो आआफ्नो घर गइसकेका छन् ।’ उनका अनुसार देशभर सानाठूला गरेर ४ खर्ब रुपैयाँ बराबरका योजना चालु छन् ।
‘लामो समयदेखि सम्झौता भएको, सुरुमा बजेटमा राखेर पछि समावेश नगरिएका, स्रोत सुनिश्चितता नपाएको, स्थानीय तहमा पठाइएका योजना पनि अझै छन्,’ उनले भने, ‘काम हुनेभन्दा पनि नहुने योजना धेरै छन्, त्यस्ता आयोजनासहितको रकम भने करिब १९ खर्ब छ ।’ स्थानीय तहका सहित गरेर सानाठूला अनुमानित ३० हजार ठेक्का चालु रहेको उनको भनाइ छ ।
‘यी संघ, प्रदेश र स्थानीय तहसहितका योजनाको संख्या हो,’ उनले भने, ‘यसमा ५ लाखदेखि २५ अर्बसम्मका योजना समावेश छन् ।’ चुनावका दिन सबै योजना ठप्प हुने उनले सुनाए । ‘होली र निर्वाचनले ८० प्रतिशत योजना प्रभावित हुन्छन्, चुनावको दिन त सबै आयोजना ठप्पै हुन्छन्,’ उनले भने, ‘पूर्ण रूपमा आयोजना सञ्चालनमा आउन चुनाव सकिएपछि पनि केही दिन लाग्छ ।’
अहिलेको सरकारले काम गराउने लक्ष्य नलिएको उनले सुनाए । ‘यो सरकारको मुख्य लक्ष्य निर्वाचन गराउनेमै छ, विकासे मन्त्रालयका कर्मचारी पनि अहिले काम गराएर भुक्तानी गराउन सकिँदैन भन्दै पछि हटिरहेका छन्,’ उनले भने, ‘निर्वाचनपछि बन्ने नयाँ सरकार आएपछि मात्र कामले गति लिन्छ ।’ निर्वाचनका बेला विभागअन्तर्गतका आयोजना पनि प्रभावित बन्ने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘कतिपय विदेशी निर्माण कम्पनीले लिएका ठेक्का प्रभावित बन्ने छैनन्,’ उनले भने, ‘नेपाली निर्माण व्यवसायीले ठेक्का लिएका आयोजनामा काम गर्ने कामदारहरू मतदानका लागि जाने भएकाले केही दिन काम रोकिने हो ।’ विभागअन्तर्गत २ खर्ब १३ अर्बका करिब २६ सय वटा ठेक्का चालु रहेको उनले बताए ।
