‘पश्चिम एसियाको द्वन्द्वको प्रभाव नेपालको अर्थतन्त्र र आपूर्तिमा’

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रियामा वाणिज्यविद्, पेट्र्रोलियम व्यवसायी र नेपाल राष्ट्र्र बैंकका अधिकारीहरूले यस्तो बताएका हुन् ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

‘Impact of conflicts in West Asia on Nepal’s economy and supply’

काठमाडौँ — पश्चिम एसियाको द्वन्द्वले नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । नेपालको अर्थतन्त्र विश्व बजारसँग अलग हुन नसक्ने र विश्व बजार प्रभावित हुँदा त्यसको असर नेपाली अर्थतन्त्रसम्म आइपुग्ने उनीहरूको भनाइ छ । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘पश्चिम एसियाको द्वन्द्व : नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तर्क्रियामा वाणिज्यविद्, पेट्र्रोलियम व्यवसायी र नेपाल राष्ट्र्र बैंकका अधिकारीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी वक्ताहरूले पश्चिम एसियाको द्वन्द्वबाट नेपालले विभिन्न विषयहरूमा ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताए । ‘समयसमयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ, विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्छ,’ घिमिरेले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वाभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’

अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति शृंखलामा पनि समस्या पैदा गर्ने भए पनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ । 

यसैगरी, वाणिज्यविद् रवि शंकर सैंजुले मध्यपूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताए । ‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनाले आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’ 

यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एक पटक चुनौती थपिएको बताए । ‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढीपहिरो र अहिले इरानको द्वन्द्वले फेरि अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ ।’

उनका अनुसार जेन–जी आन्दोलनपछि अर्थतन्त्र लयमा आउने बाटोमा थियो । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा नै मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ ।

कार्यक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले द्वन्द्वका कारण नेपालको रोजगारी र आम्दानीमा दीर्घकालीन असर पार्न सक्ने बताइन् । ‘द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य र अन्य उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थालाई समेत ठूलो प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ,’ कार्कीले भनिन्, ‘नेपालको पेट्रोलियम पदार्थ पूर्णरूपले भारतसँग निर्भर छ । भारतले इरान र मध्यपूर्वका देशहरूबाट कच्चा तेल आयात गर्छ ।’ उनले ती देश नै द्वन्द्वमा लामो समय जाने हो भने नेपाल त्यसको सिकार नबन्ला भन्न नसकिने बताइन् ।

कान्तिपुर

Link copied successfully