स्थानीयहरूका अनुसार गाउँमा धार्मिक र समाजको दलीयकरण, विद्युत् परियोजना प्रवर्द्धकले सिर्जना गरेको सामाजिक द्वन्द्व अझै समाधान भएको छैन ।
What you should know
संखुवासभा — संखुवासभाको उत्तरी सिमाना किमाथांका, जहाँबाट दिउँसो सहर देखिन्छ र रात पर्नासाथ झिलिमिली बत्ती टल्किन्छ । पारिको डाँडा र खोला बगरमा देखिएको तिब्बतको देन्दाङ र चाँगा बजार हो । तर किमाथांका भने सोलारको धिपधिपे उज्यालोमा विकास पर्खिरहेको छ ।
यहींका बासिन्दा पासाङ भोटे विकासको प्रतीक्षामा छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उनी भन्छन्, ‘अब त थोरै दिन बाँकी छ, उम्मेदवार मुख देखाउन आएनन् ।’
भोटखोला गाउँपालिका–१ किमाथांकामा कुल जनसंख्या ४ सय ४५ छ भने ३ सय ८ जना मतदाता छन् । सडक सञ्जाल नपुगेको यो बस्तीमा उम्मेदवार सडकको पहुँच भएको स्थानसम्म त पुगे, तर दुर्गम किमाथांकासम्म आइपुगेनन् । विभिन्न दलका स्थानीय नेता भोट माग्दै आएका छन्, तर मतदाता भने प्रत्यक्ष उम्मेदवारको एजेन्डा सुन्न चाहन्छन् ।
‘हामी चौंरीबाट सामान ढुवानी गर्छौं,’ पासाङले भने, ‘उता ठूल्ठूला गाडी घरघरमै आइपुग्छन्, गाउँमा न यातायात सुविधा छ, न त व्यवसाय गर्ने बजार । सीमा क्षेत्रमा पर्ने भएकाले द्विदेशीय आवागमन खुला हुनुपर्ने उनीहरूको माग छ । पारिपट्टि बजार सुविधा सम्पन्न छ, बिजुली बत्तीले उज्यालो छ, यता भने अँध्यारो र विकासबिनाको कथा उस्तै छ ।’
स्थानीयहरूका अनुसार गाउँमा धार्मिक र समाजको दलीयकरण, विद्युत् परियोजना प्रवर्द्धकले सिर्जना गरेको सामाजिक द्वन्द्व अझै समाधान भएको छैन । समुदायभित्रको विभाजनले विकासका कामहरू प्रभावित भएका छन् । ‘हामी सामाजिक अन्त्य चाहन्छौं, मिलेर अघि बढ्न चाहन्छौं,’ उनी भन्छन्, ‘तर हाम्रो समस्या र गुनासा सुन्ने कोही छैन ।’
चुनाव नजिकिँदै जाँदा किमाथांकाका मतदाता विकास र पहुँचको मुद्दा लिएर बसेका छन् । उनीहरूका प्राथमिकता स्पष्ट छन्, सडक, नियमित विद्युत्, बजारको व्यवस्था, सीमामा सहज आवागमन र स्थानीय द्वन्द्वको समाधान । तर ती मुद्दा बोकेर उम्मेदवार स्वयं गाउँसम्म नआउँदा निराशा बढेको छ । घरको आँगनबाट देखिने तिब्बती सहरको झिलिमिली उज्यालो उनीहरूका लागि आशा हो र पीडा पनि । ‘उता उज्यालो छ, सुविधा छ । हामी सोलारको मधुरो उज्यालोमा बस्छौं,’ पासाङ भन्छन्, ‘हामीलाई पनि त्यही विकास चाहिएको हो ।’
नेताहरूले सडक ल्याउँछौं, बिजुली बत्ती बाल्छौं भनेर चुनावमा भाषण गर्छन् । ‘तर हामी कहिलेसम्म यसरी अन्धकारमा बस्ने, हामी पनि गुडेर सदरमुकाम खाँदबारीसम्म जान चाहन्छौं,’ पासाङले भने । किमाथांका जस्तो दुर्गम बस्तीमा चुनाव मत हाल्ने प्रक्रिया होइन, पहुँच र पहिचानको प्रश्न पनि हो । सडक नपुगेको ठाउँमा लोकतन्त्रको आवाज पनि कमजोर हुने हो कि भन्ने चिन्ता स्थानीयमा देखिन्छ ।
निर्वाचनले किमाथांकाको अँध्यारो हटाउने कि उस्तै छोड्ने, यो प्रश्न अहिले यहाँका ३ सय ८ मतदाताको मनमा घुमिरहेको छ । झिलिमिली सहरलाई टुलुटुलु हेर्दै बसेका किमाथांकावासी भन्छन्, ‘यसपालि भोट त हाल्छौं, तर हाम्रो गाउँसम्म विकास कहिले आइपुग्छ ?’
किमाथांकावासीको किनमेल गर्न जाने नजिकैको बजार भनेकै तिब्बतको देन्दाङ र चाँगा बजार रहेको स्थानीय कामी भोटेले जनाए । त्यहाँसम्म पुग्न किमाथांकावासीलाई ४५ मिनेट हिँडे पुग्छ । सदरमुकाम खाँदबारीबाट किमाथांकासम्म नुनतेल पुर्याउन कम्तीमा ४ दिन लाग्छ ।
संखुवासभा भूगोल, संस्कृति र प्राकृतिक सम्पदामा धनी मानिए पनि जनअपेक्षाअनुसार विकासले गति लिन सकेको छैन ।
विश्वकै होचो ४ सय ५७ मिटरको अरुण उपत्यकादेखि विश्वकै पाँचौं अग्लो ८ हजार ४ सय ६३ मिटर उचाइको मकालु हिमाल यही जिल्लामा पर्छ । तर पछिल्लो पाँच वर्षमा करिब ४० अर्ब रुपैयाँ विकास खर्च हुँदासमेत आर्थिक, सामाजिक र संरचनागत परिवर्तनले उल्लेख्य फड्को मार्न सकेको छैन ।
१ लाख ५९ हजार २ सय ६ जनसंख्या रहेको जिल्लामा पाँच नगरपालिका, पाँच गाउँपालिका र ७६ वडा छन् । प्रतिनिधिसभा क्षेत्र–१ र प्रदेशसभा दुई वटा रहेको यस जिल्लामा १ लाख १९ हजार ६३० मतदाता छन् ।
